सिड्नीमा ‘हास्यसम्राट’ हरिवंशको वाहवाही

सिड्नीमा ‘हास्यसम्राट’ हरिवंशको वाहवाही


– राजन घिमिरे, अष्ट्रेलिया

नेपाली कलाकर्मीहरूका निम्ति यतिबेला अष्ट्रेलिया आकर्षणको स्थल बन्न पुगेको छ । कलाकारहरूको प्रस्तुतिका हिसाबले हरेक साताजसो यहाँ विभिन्न कलाकारहरुका कार्यक्रम हुँदै आएका छन् । त्यसमाथि पनि सिड्नी त यो मामिलामा अलि बढी नै जमेको छ ।

यसरी सिड्नीमा हरेक हप्ताजस्तो कार्यक्रमको आयोजना हुने गरेता पनि यस्ता केही कार्यक्रमहरूको समेत आयोजना हुने गर्छ कहिलेकाहीँ, जुन प्रस्तुतिले ऐतिहासिक र अविष्मरणीय महत्व राख्ने गर्दछ । यस्तै कार्यक्रमको आयोजना भयो शनिबार सिड्नीको रगडेलमा रहेको इन्द्रेणी फङ्सन सेन्टरमा ।

कार्यक्रम थियो, नेपाली हास्य कलाकारिता क्षेत्रका अग्ला हस्ती ‘हरिवंश आचार्यसँग गाला डिनर’ । यसलाई बाबा एजुकेशन कन्सल्टेन्सीले नेपालमा रहेको मानव सेवा आश्रमको सहयोगार्थ आयोजना गरेको थियो । नेपाली हास्य कलाकारिता क्षेत्रका लिजेन्ट हरिवंश आचार्यलाई जतिबेला जहाँ चाह्यो त्यहाँ भेट्न त सकिन्न। त्यसमाथि पनि प्रवासमा त उनको उपस्थिति बारम्बार हुँदैन र सजिलो पनि छैन । यस्ता लिजेन्टलाई नजिकबाट भेट्न र उनका कुरा सुन्न सिड्नीवासी नेपालीहरू लामै समयदेखि प्रतीक्षा गरिरहेका थिए ।

अन्ततः त्यो प्रतीक्षा पनि हिजो शनिबार पूरा भयो । ‘जो आएन आज त्यो पछुतायो । प्रबासमा उनको आगमन हाम्रो लागि साँच्चै गौरवको कुरा हो । उहाँसँग भेट्न पाइयो । उहाँको कुरा सुन्न पाइयो । विभिन्न बहाना गरेर कार्यक्रममा नआउनेहरूले जीवनभर पछुताउनु पर्छ,’- कार्यक्रममा उपस्थित दर्शकहरूको यस्तो थियो अनुभूति ।

आफ्नो छोराको कन्भोकेसन समारोहमा सहभागी हुन अष्ट्रेलिया आइपुगेका हरिवंशले नितान्त पारिवारिक भेटघाटमा पनि अष्ट्रेलियामा रहनुभएका आफ्ना प्रशंसकहरू माझ प्रस्तुति दिए । हरिवंशको बेजोड प्रस्तुतिको सबैले खुलेर प्रशंसा गरे । ‘अष्ट्रेलियामा बसेर डलर कमाउने उद्देश्य राख्ने, यतिवटा घर छ, गाडी छ भनेर धाक लगाउने एउटा जत्थालाई म कुनै दिन सोध्ने छु कि हरिवंश आचार्यलाई भेट्नु भएको छ ? यो सुवर्ण अवसर गुमायौ तिमीहरूले’, सिड्नीवासी गायकले यसरी पोखे मनको वह । ‘तपाईंहरू मेरो भगवान हो । भगवानको मन्दिरमा आएको छु । तपाईंहरूको ताली र माया नै मेरो लागि प्रसाद हो’, हरिवंशले यति मात्र के भनेका थिए हल नै तालीले गुन्जायमान भएको थियो । उनले कार्यक्रममा आफ्ना पुराना र नयाँ गीतका साथै हास्य प्रस्तुतिहरू प्रस्तुत गरेका थिए- ‘चिना हराएको मान्छे र हरिबहादुरजस्तै हामी हाम्रा पुराना नाटकहरूलाई पनि पुस्तकका रूपमा उतारेर जीवन्तता दिने तयारीमा छौँ’- उनले जानकारी दिए ।

रोशन भट्टराईले स्वागत गरेको यो कार्यक्रमको सञ्चालन भीमसेन सापकोटाले गरेका थिए भने गायकहरू सञ्जीव पराजुली र समीर आचार्यले गजबकै माहोल तताएका थिए । ‘कार्यक्रमको उद्देश्यमा हामी सफल भएका छौँ । सामाजिक कार्य गर्ने हाम्रो कार्यक्रमको सोचले मूर्तरूप पाएको छ,’ कार्यक्रमका आयोजक बाबा एजुकेशनका रविन्द्रकुमार शर्माले भने, ‘यस्ता लिजेन्टसँग सहकार्य गर्न पाउनु हाम्रो जीवनकै उपलब्धि हो’, बाबाका बजार ब्यवस्थापक अमृत शर्माले सगौरव बताए ।