व्यवस्था टिकाउन राष्ट्रिय प्राकृतिक श्रोतको दुरुपयोग

(संयोगका पानाहरू–२७)

50 Shares

– गोपाल पराजुली

नेपालको आदिमकालदेखिको इतिहासलाई केलाउँदा विचित्र किसिमका अनेकन घटनाहरू देखिन्छन् । आर्य सभ्यताको विस्तार, लिच्छवी राजाहरूको शासन, महासामन्त अंशुबर्माको उदय, राजा शिवदेवबाट उनले शक्ति र सत्ता हात पारेको, उदयदेव देश छाडेर तिब्वत पलायन भएको, उनकै वंश नरेन्द्रदेव पुनः राजा भएको, दक्षिणका मुगल सम्राटले नेपालमा आक्रमण गरेको, कान्तिपुर शहर तहसनहस भएको, भगवान पशुपतिनाथको मूर्तीलाई तीन टुक्रा पारिएको, पशुपतिको पुनःस्थापना, गोपाल, महिषपाल र लिच्छवी वंश, मल्ल र ठकुरी राजवंशको उदयदेखि तिव्ततर्फ नेपालको क्षेत्र विकाश र भीम मल्लको राष्ट्रभक्ति राज्य विस्तारसँगै उनका विरोधिहरूले गरेको षड्यन्त्रका कारण प्रताप मल्लको दरबारको ढोकामा नै भीम मल्ललाई काटिएको १७०७ को दुषित इतिहास पनि यो भूमीले भोगेको भोगेको देखिन्छ । भीम मल्ल काटिएपछि उनकी पत्नीले यो देशको भलाइ गर्न चाहने कुनै पनि व्यक्तिको यस देशमा कहिल्यै पनि राम्रो नहोस् भनी श्राप दिई सति गएको दर्दनाक इतिहास पनि बिर्सन सकिँदैन । गोरखाका राजा पृथ्वीनारायण शाहको राज्य विस्तार अभियानका हरेक घटना–परिघटनाहरूको इतिहास पढ्दा कतै पत्यारिलो, कतै असम्भव, कतै रोमाञ्चक र कतै दर्दनाक, दुःखान्त अनि षड्यन्त्रपूर्ण देखिन्छ ।

आफू–आफूहरूका बीच शंका–उपशंका, विद्रोह, हत्या, केवल राज्यप्राप्तिको लागि मात्र नभै आफ्नै सन्तान,–दरसन्तानको समेत स्वार्थ गाँसिएको र संकुचित घेरा अनि त्यसैको सेरोफेरोमा जकडिएको हाम्रो राजनीति, अर्थव्यवस्था, संस्कार र संस्कृतिको अचम्भित पार्ने वर्णनबाट यस राष्ट्रको इतिहास आफैँभित्र कतै गौरवपूर्ण त कतै अवसानमुलक, कतै पुनर्स्थापन त कतै परिवर्तन अनि कतै परिवर्तनभित्रकै विकृति र विसंगति पनि देख्न सकिन्छ । राष्ट्र निर्माणमा राजनीतिको योगदानले क्रुर र सामन्ती शासनको अन्त्य भएको र वर्णव्यवस्थाभित्र हुर्केको दुस्कृतिले जन्माएको सामाजिक पीडालाई परिवर्तनका स्वरहरूले उचित स्थान पाएको वर्तमानको अवस्था परिवर्तनको लक्ष्य र निचोड के हो भन्ने बुझ्न कठिन आजको परिस्थितिलाई फेरि इतिहासविद्हरूले विभिन्न घटनाहरूलाई जस्ताको तस्तै कलमहरूले कोर्ने दिन आउँदैछ ।

मैले ‘यो आँखाले के देखिनँ र ?’ भन्ने शीर्षकमा यसअघि नै लेखेका विभिन्न घटना–शीर्षकहरूलाई आँखिझ्यालबाट चियाउने कोशिस गरेको थिएँ । आज त्यसभित्रबाट नेपालको जंगल, पूर्व–पश्चिम राजमार्ग, जंगली जनावर र हाम्रो नियतिलाई कोट्याउने प्रयत्न गरेको छु ।

कक्षा ४ को नेपाली साहित्यको किताबमा ‘हरियो वन नेपालको धन’ भनी मैले पहिलोपटक पढेको थिएँ । जंगलैजंगलले ढाकेको डाँडाकाँडा, कन्दरा, पहाड, पर्वत र तराईको चारकोशे झाडीको त्यहाँ वर्णन गरिएको थियो । चितवनको झाडी फडान गरी बनाइएको बस्ती पुनर्वास एउटा क्रान्ति नै थियो । पहाडमा मानिसहरूमा तराईको बसाइँतर्फको आकर्षण, राप्ती दून विकास क्षेत्रको जमीनको (बिक्री वितरण) व्यवस्था ऐनले चितवनमा जंगल फडानी गरी बस्तीको विकास गरेपछि तनहुँ लमजुङ गोरखा स्याङ्जाबाट मानिसहरूको ठूलै लर्को चितवनतिर बसोबास गर्न गएको देखिन्छ । तनहुँको बन्दीपुरका प्रायः नेवार समुदायका साहु महाजनहरूले नारायणघाट बजारको विस्तार गरेको र राजनीतिपीडितदेखि भावी पुस्ताको लागि सचेत जनसमुदायहरू प्राय चितवन बसाईं सरी आएको पाइन्छ । चितवनको सु-व्यस्थित वबसोबास, बाटो, नहर, कुलो र जग्गा आवादीको लागि ट्याक्टर र अन्य औजारहरूको प्रवन्धपछि त झन पहाडका मानिसहरूले आफ्नो गन्तव्य चितवन र नवलपरासीको नवलपुर क्षेत्रलाई वनाई वस्ति विकाशमा लागे । नवलपुरमा पूर्व-पश्चिम राजमार्ग बन्नुपूर्व हुलाकी राजमार्ग भनिने स-साना गोरेटो र केही कच्चि पुलहरू थिए । तथापि हुलाकी राजमार्ग प्राय: गाउँको छेउछाउबाट विस्तार भएको थियो भने पूर्व-पश्चिम राजमार्ग जंगलको विचभागबाटै निर्माण गरियो । हरियो वन नेपालको धन भन्ने उक्तिलाई प्रभावित तुल्याउँदै वनेको उक्त सडकको दायाँबायाँ जे-जस्ता बस्तीहरूको विकाश भयो त्यो पुनर्वास कम्पनीको नामबाट बस्ती विकाश गर्ने सरकारको लक्ष्यले नेपालको वन सम्पदालाई अपुरणीय क्षति पुर्यायो ।

नरभक्षी बाघसँग जम्काभेट हुनसक्ने हुँदा जंगलको बाटो हिँड्दा खुब होसियारी अपनाउनुपर्थ्यो । साल, सिसौ, खयर, सिमल, हल्लर लगायतका भीमकाय रूखहरूले भरिएको अनि रामभोर्ला लगायतका ठूला-ठूला लहरापातले जेलिएको जंगल यति घना र कालो थियो कि जंगलको बीचमा तप-तप पानी चुहिन्थ्यो ।

२०१९ सालतिर वर्माबाट ठूलै संख्यामा नेपालीहरू नेपाल प्रवेश गरे र तिनिहरूको वसोवासका लागि पूर्व-पश्चिम राजमार्गको पायक पर्ने ठाउँमा ठूला-ठूला बस्तीहरू विस्तार भएको देखिन्छ । हाम्रो बस्ती रहेको नवलपुरको कावासोतीको उत्तरतर्फ विष्णुनगर भन्ने मौजामा वसोवास गर्न भनि ०१९ सालतिरै पिताजी सो ठाउँमा आउनुभएको थियो । त्यतिवेला १० हजार रूपैँयामा २० विगाहा जग्गा पाइने भए पनि ०१७ सालको नापीमा मालपोत तिर्न नसकी लगत कट्टा भएको जग्गालाई प्रतिविगाहा २८ रूपैँया तिरो जमिन्दारलाई बुझाएर चानचुन ५० विगाहाभन्दा वढी जग्गामा अन्य नातेदारहरूलाई समेत समेटेर पिताजीले त्यो ठाउँलाई गुल्जार तुल्याउनुभएको थियो ।

२०२१ साल आषाढ २९ मा पिताजीको देहावशान भयो । पहाडको हाम्रो सबै जग्गा जमिन यथावत नै थिए । त्यहाँको बस्ती हेर्न ०२१ साल कार्तिक तिर म पहाडबाट त्यहाँ आएको थिएँ ।

अनन्त नामको मसिनो धानको खेती भएको, लहलह बाला झुलेको तराइको विशाल फाँट देख्दा विचित्र लाग्यो । पहाडका साना-साना खेतहरू देखेर हुर्केको मेरो मानसपटलमा तराईको त्यस किसिमको खेत व्यवस्थापन देख्दा यति धेरै धान रोप्न कति जना रोपाहार चाहियो होला भन्ने जिज्ञाशा उठ्यो । पछि थाहा पाएँ- त्यहाँ धान रोपिदैँन रहेछ । खेतमा धान छरेर ह्याँगा लगाएर सम्याएर पानी सिंचित गरिने रहेछ । जमिन ज्यादै उर्वन हुने भएकाले विच विचमा त्यो धानलाई काटेर हटाउने र धानको बोटलाई लड्न नदिने गरि बचाउने चलन रहेछ ।

सप्तरी भन्ने धान अलि मोटो खालको र अनन्त भन्ने धान मसिनो खालको हुन्थ्यो । ती खेतमा खासगरी मसिनो खाले धानकै उत्पादन बढी गरिन्थ्यो । धान पाकेर काटेपछि त्यसलाई गाढामा लोड गरेर खलियानमा दाइँ गर्न लगिन्थ्यो । धानवालीको सुरक्षाका लागि खेतको बीच-बीचमा ठाउँ ठाउँमा मचानहरू वनाइएको हुन्थ्यो । रातमा गैँडाहरू आएर धान खाने हुनाले ठाउँ ठाउँमा आगो बालेर गैँडा धपाउने गरिन्थ्यो । धान पाक्ने समयमा हजारौँको संख्यामा हरिण र चित्तलको समुह खेतमा पसेर धानका वालाहरू खाइदिने भएकाले जनावरहरूलाई तर्साएर अन्नवाली जोगाउन खेतका बीच-बीचमा बुख्याँचाहरू बनाएर राख्ने गरिन्थ्यो । वरिपरि घना जंगलले घेरिएको त्यो मौजामा केरूङ्गे खोलाबाट सिंचाइँको व्यवस्थापन गरिएको थियो । बाँध बाँध्न गाउँमा झारा लगाउने चलन थियो । गाउँका सबै मानिसहरू वर्षामा बाँध बाँध्न जानुपर्ने र त्यसको उर्दी त्यहाँका जमिनदारको हुकुममा कटुवालद्वारा चल्ने प्रचलन थियो ।

खानेपानीको कुनै प्रबन्ध थिएन कुलोको पानीलाई सङ्लो बनाएर पिउने गरिन्थ्यो । पानी शुद्दीकरण गर्न फिटकिरीको प्रयोग गरिन्थ्यो । सुख्खा याममा धापको पानी पिउनपर्ने र अस्वस्थकर पानीको कारण होला एकपटक गाउँमा हैजाको महामारी फैलिएर दर्जनौँ मानिसले ज्यान गुमाएका थिए । महामारीको बेला एक गाउँबाट अर्को गाउँमा आउजाउ गर्न मानिसहरूलाई रोक लगाइन्थ्यो । यसका लागि वयरको काँडालाई ढुँगाले थिचेर मूल बाटोमा राखिदिने चलन थियो । मूलबाटोमा यस्तोप्रबन्ध देखेपछि कोहि पनि त्यो गाउँमा पस्दैनथे ।

मैले ५–६ वटा गैँडाहरू खेतमा पसेर धानवाली सखाप पारेको र सयौँको संख्यामा चित्तलहरू जंगलमा पारिलो घाम ताप्न खाली चौरमा जम्मा भएका देखेको छु । ठाउँठाउँमा घना किसिमको वयरघारी थियो । वयर खाँदै रमाउँदै कराएको ति क्षणहरू मेरो मानसपटलमा अझैँ ताजै छन् । जँगलमा चराउन लगेका गाई, भैँसी वा वाख्रालाई दिनहुँजसो वाघले मारिदिने वा चिथोर्ने वा ति गाइभैँसी भड्किएर डराउँदै आफ्ना गोठमा अवेला फर्किने गर्दथे । कतै कतै नरभक्षी बाघसँग जम्काभेट हुनसक्ने हुँदा जंगलको बाटो हिँड्दा खुब होसियारी अपनाउनुपर्थ्यो । साल, सिसौ, खयर, सिमल, हल्लर लगायतका भीमकाय रूखहरूले भरिएको अनि रामभोर्ला लगायतका ठूला-ठूला लहरापातले जेलिएको जंगल यति घना र कालो थियो कि जंगलको बीचमा तप-तप पानी चुहिन्थ्यो ।

मंसीर-पुसको महिनामा जंगलको बाटो हुँदै तल्लो बस्ती, डण्डा, कोलुवा, मगरकोट पिठौली इत्यादी गाउँतर्फ जानुपरेमा दिउँसै टर्चलाईट बालेर हिँड्नुपर्थ्यो । बाघको डरले समुह-समुह बनाएर हिँड्नुपर्थ्यो । त्यसवखत डण्डामा अवस्थित मिडिलस्कूल पुग्न करिव ७ किलोमिटर जंगलको बाटो छिचोल्नुपर्थ्यो । जंगली जनावरबाट जोगिन हरसम्भव सुरक्षा प्रबन्ध गरेर मात्रै हिँड्थ्यौँ हामी ।

जनता रिझाई तत्कालिन शासन टिकाउने नीतिअनुसार नै राष्ट्रिय जंगल र प्राकृतिक संपदा नष्ट गर्न सरकार नै लागेको देखिन्छ । अझ तराइतर्फको भारतसँगको सीमासँग जोडिएको जमिनहरूमा नै पहाडको भूतपूर्व सैनिकहरूलाई बस्ती विकास गराउने योजना पनि त्यसवखत सरकारले लिएको थियो भनिन्छ ।

त्यस किसिमको घना जंगलमा जब सुकुम्वासीहरूको अतिक्रमण बढ्न थाल्यो, ती भीमकाय रूखहरूलाई डढेलो लगाएर खरानी वनाइयो भने अर्कोतर्फ सरकारले नै पुनर्वास कार्यक्रममार्फत बस्ती विस्तारको क्रममा जंगल फँडानी गरायो । केहि जंगल पूर्व-पश्चिम राजमार्ग निर्माणका क्रममा पनि नष्ट भयो । अहिले मैले भन्दा अपत्यारिलो लाग्न सक्छ तर हालको सदरमुकाम कावासोती त्यो वेला घना जंगलले ढाकिएको थियो । आफूले देख्दादेख्दै जंगल नै बस्तीमा परिणत भएको र विष्णुनगर वरपरका सबै जंगलहरूमा सुकुम्वासीको अतिक्रमण हुन गई घना जंगलहरू नासिएको देख्दा प्रकृतिको दोहनमा जनता, सरकार र सरकारी नीति नै मूख्य कारक भए जस्तो लाग्छ । जनता रिझाई तत्कालीन शासन टिकाउने नीतिअनुसार नै राष्ट्रिय जंगल र प्राकृतिक सम्पदा नष्ट गर्न सरकार नै लागेको देखिन्छ । अझ तराइतर्फको भारतसँगको सीमासँग जोडिएको जमिनमा नै पहाडका भूतपूर्व सैनिकहरूलाई बस्ती विकास गराउने योजना पनि त्यसबखत सरकारले लिएको थियो भनिन्छ ।

अझ अचम्म त के छ भने हामीले तिरो धरौटी राखेर जंगल नभएको र नापीमा लगत कट्टा भएको खेतीयोग्य जमिनलाई समेत जंगलमा पर्छ भनी नाटकीय ढंगमा ०२४ सालमा जंगलको डिमार्केसन लगाएर त्यसको २-३ बर्षमा नै फेरि त्यही जग्गा पुनर्वास कम्पनीको नामबाट वितरण गरियो । प्रायस् हुकुमबासीहरूले सुकुम्वासीहरूको प्रतिनिधित्व गर्ने र पहुँच भएकाहरूलाई जंगल र जमिन वितरण गर्ने पुरानो संस्कार तत्कालीन शासन व्यवस्थामा देखिन्थ्यो । मिलिसिया पाल्न र जागिरेहरूलाई तलब दिन नसक्दा जमिन नै दिएर जागिरविर्ता दिएको हाम्रो पुरानो भूमी व्यवस्थाको पुनरोक्ति जस्तै तत्कालिन पहुँचवालाहरूले सजिलै जंगल आवाद गर्न र जमिन पाउन सक्ने अवस्था थियो त्यसताका । पहाडको केही जग्गा समेत विक्री गरेर हामी ०२४ सालतिर विगाहाको ३ हजार पर्ने करिव २० विगाहा जति जग्गा लिएर फेरि पुरानो आवादीमा आई बसोबास गर्न थाल्यौँ ।

बेला-बेलामा सुकुम्वासीहरूको व्यवस्थित बसोवास गराउने भन्दै विभिन्न आयोगहरू बने पनि जंगलको व्यवस्थापनभन्दा वितरणमुखी नीतिका कारण न त सुकुम्वासी नै व्यवस्थित भए न त जंगल नै जोगियो । ती कसरी सुकुम्वासी भए ? उनीहरू कहाँ-कहाँबाट जंगलमा प्रवेश गरे ? कसरी राष्ट्रिय वन विनास भयो ? आफैंभित्रको लामो कहानी बन्न सक्छ । आजसम्म पनि लाखौँ सुकुम्वासीहरूको व्यवस्थापन भन्दै उनीहरूको व्यवस्थापन र जंगल संरक्षण गर्ने कुराहरू गरिन्छ । यद्यपि एक ठाउँमा जंगल उजाडेर त्यसको बिक्री वितरण गरेपछि फेरि अर्को ठाउँमा गई जंगल नास्ने शक्ति र हैसियत देख्दा लाग्छ त्यसैभित्रको राजनीति, गरिवको व्यस्थापनको नाममा राष्ट्रिय सम्पदामाथिको खेलबाडले ‘ना रहे बाँसुरी ना बजे मुरली’को दृष्टान्त प्रष्ट देख्न सकिन्छ ।

बचेखुचेको त्यहि जंगलमा पनि ठूला-ठूला रूखका फेदमा बोक्रा ताछेर ‘देशले रगत मागे मलाई बली चढाउ’ भनी लेख्दै तिनै रूखमा खोपेर ०३६ सालको जनमत संग्रहताका जंगलको विनास गरिएको दृष्य संझदा र त्यसको विरोध गर्दा आफ्नो जीउज्यान जोगाउन धौ-धौ हुने गरेको पीडाहरूलाई पनि विर्सन सकिँदैन । त्यतिवेला जंगल बचाउन पर्छ र वृक्षारोपण गर्न पर्छ भन्नेहरू विद्रोही बने । तिनिहरूलाई खोजी खोजी यातना दिने काम भयो । आज पनि सत्यको पक्षमा, विधी, पद्धति, प्रकृया र कानूनको शासनमा विश्वास गर्नेहरू भन्दा असत्य हल्लामा रमाउने अनुत्तरदायीहरूको जमात बढेको छ ।

अपार स्रोत रहेको भनिएको हाम्रो जलसम्पदालाई केलाउँदा अहिले हाइड्रोपावर उत्पादनको नाममा एकातर्फ खोलाको लाइसेन्स झोलामा अल्झिएका छन् भने अर्कोतर्फ कुनै पनि ठूला हाइड्रो परियोजनाहरू विवादमुक्त हुन नसकेको तथ्य छ । प्राकृतिक सम्पदाको बाँडफाँड र उत्पादन तथा वितरणको विषयमा पटक-पटक अदालतमा मुद्दाको चाङ लाग्ने गरेको देखिन्छ ।

ती दिनहरू सम्झँदा लाग्छ तत्कालिन व्यवस्था टिकाउन राष्ट्रिय प्राकृतिक श्रोतको कति दुरुपयोग भएछ ? गलत नीतिका कारण कति प्राकृतिक सम्पदाहरू नष्ट भएछन् ? केहि तथ्याङ्कहरू हेर्दा ८९ प्रतिशत रहेको नेपालको वनजंगल १०४ वर्षे राणाशासनमा ५९ प्रतिशतमा झरेको जंगल ३० वर्षे पञ्चायतकालमा ३४ प्रतिशतमा झरेको देखिन्छ । त्यसपछिको निरन्तर ओरालो लागेको वनको विना २९ प्रतिशतमा आएको तर सामुदायिक वनको व्यवस्थापनले केही आशाहरू भने जन्माएको छ । यद्यपी हामीले त्यहि वनलाई पनि कृषि बन (Agro-forestry) को अवधारणामा जंगल कायमै राखि बासविहीनहरूलाई व्यवस्थित गर्न सक्ने संभावनालाई नकार्न सकिँदैन ।

अपार स्रोत रहेको भनिएको हाम्रो जलसम्पदालाई केलाउँदा अहिले हाइड्रोपावर उत्पादनको नाममा एकातर्फ खोलाको लाइसेन्स झोलामा अल्झिएका छन् भने अर्कोतर्फ कुनै पनि ठूला हाइड्रो परियोजनाहरू विवादमुक्त हुन नसकेको तथ्य छ । प्राकृतिक सम्पदाको बाँडफाँड र उत्पादन तथा वितरणको विषयमा पटक-पटक अदालतमा मुद्दाको चाङ लाग्ने गरेको देखिन्छ । यसैभित्रको राजनीति राष्ट्रिय र अन्तराष्ट्रिय चासोले अझ पनि यसको व्यवस्थापनमा कुहिरोको काग बन्दैछन् आगामी दिनहरू । कहिले टनकपुर, कहिले नौमुले, कहिले पश्चिम सेती, उपल्लो कर्णाली र वुढी गण्डकीका कथाहरूले राष्ट्रभक्त नेपालीहरूलाई पीडाबोध गराएको छ । एउटा सरकारका पालामा एउटालाई लाइसेन्स र अर्को सरकारका पालामा अर्कोलाई निर्माणको ठेक्का दिने प्रचलनले एउटा संस्कृतिको निर्माण नै गर्ने लक्षणहरू देखिन थालेको छ ।

हाम्रो संस्कारले प्रकृति, प्राकृतिक सम्पदा र राष्ट्रिय वनको फडानी र नोक्सानी गरेको तथ्यलाई अस्वीकार गर्नुपर्ने कुनै कारण देखिँदैन । संयोगवश यी सबै तथ्यहरू र हाम्रो विगतलाई नियाल्दा हामीलाई जल, जंगल र प्राकृतिक श्रोतको दोहन र त्यसको दुरुपयोग हुन नदिन बेलैमा सोँच्न र सबै राजनीतिक दलहरूले सम्पदा बचाउन साझा नीति अवलम्बन गर्न वन विनासको कथाले आँखा देखाइदिएको छ ।

यसअघिको पढ्नुहोस्–

उपकारी गुणी व्यक्ति निहुरिन्छ निरन्तर फलेको वृक्षको हाँगो नझुकेको कहाँ छ र ?
http://www.ghatanarabichar.com/122666

50 Shares

प्रतिक्रिया