नेपालको भूपरिवेष्टित परिभाषा नै फेरिन थालेको छः दाहाल

नेपालको भूपरिवेष्टित परिभाषा नै फेरिन थालेको छः दाहाल


नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले आफ्नो पार्टी र सरकारका कारण नेपालको भूपरिवेष्टित परिभाषा नै फेरिएको बताएका छन्। विगतमा ‘ल्याण्डलक्ड’ अझ ‘इन्डियालक्ड’ रहँदै आएकोमा अहिले ‘ल्याण्डलिंक्ड’ बनिसकेको उनले बताए।

प्रदेश नं ५ को बुटवलमा आयोजित शुभकामना आदानप्रदान शभालाई सम्बोधन गर्दै दाहालले चिनिया बन्दरगाहमा नेपालको पहुँच, हवाई सेवा विस्तार, रेल सेवालगायत टेलिकम्युनिकेसन कनेक्टीभिटीले विकासको गति तीव्र हुन लागको बताए।

‘हाम्रो (ओली,दाहाल) पनि जीवनको अन्तिम दशक हो की जस्तो लाग्छ, अवको जिवन विकासमा क्रान्तिकै लागि हो। नेकपाले एतिहासिक अवसर पाएको छ, त्यो अवसर र जनताको विश्वास कुनै पनि हालतमा गुम्न दिनु हुँदैन,’ उनले भने, ‘भारतबाट र चीनबाट रेल आउन थाले सिमरामा त आइ पुग्न लाग्यो । पुर्व–पश्चिम, पोखरामा रेल आउने सानो कुरा हो यो ? चारैतिर म देख्दै छु- हेर्दा हेर्दै रेल कुद्छ। बाटा राम्रा चिल्ला बन्दैछन्, सुरुङ मार्गहरु तयार हुँदैछन्। उर्लेसमृद्धिर आउँदैछ ।’

संविधानले तोकेको सिमाभित्रै मौलिकहक कार्यान्वयन लगायतका विभिन्न कानुन बनाएर मानव विकास तथा आर्थिक विकासका लागि आधार तयार गरिएको भन्दै तीनकै आधारमा विकास प्राप्त गरिने उनले बताए। सरकारका काम हरुको प्रचार भन्दा धेरै ‘विपक्षी (प्रतिक्रियावादी)को हल्ला’ धेरै भएको भन्दै दाहालले अबको पाँच वर्षमा नेपालमा आवश्यक सबैखाले न्युनतम पूर्वाधार बनिसक्ने र अर्को ५ वर्षमा एसियाली मापदण्डभन्दा माथि नै पुग्ने दाबी गरेको समाचार आजको नागरिक दैनिकमा छ।