राज गर्नेलाई धर्मको प्रभाव

राज गर्नेलाई धर्मको प्रभाव


सिख र अङ्ग्रेजको दोस्रो युद्धमा अङ्ग्रेज सरकारले चुनारको किल्लामा कैद गरी राखेको रानी चाँद कुँवर (चाँद कौर– पञ्जाव केशरी राजा रणजित सिंहकी रानी) किल्लाबाट उम्की, भागेर वि.सं. १९०६ वैशाख, तदनुसार अप्रिल २१ ता. १८४९ ई. का दिन नेपाल भूमि भिक्षाखोर ‘हाल–अमलेखगञ्ज’मा शरणार्थीस्वरूप आइपुगिन् । रानी त्यहाँ एक्लै जोगिनीको भेषमा थिइन् । भिक्षाखोरीमा उनलाई पुलिसले हिरासतमा राखेपछि त्यहीँबाट उनले जंगबहादुरलाई पत्र लेखेकीले यिनी रानी चाँद कुँवर– ‘चाँदकौर’ रहिछन् भन्ने जानकारी भयो । यसबाट जंगलाई समस्या आइप¥यो । शरण दिएमा मित्रराष्ट्र अङ्ग्रेज सरकार चिढिएला भन्ने डर थियो भने शरण नदिएमा हिन्दू आर्य मर्यादाविपरीत हुने र जनता पनि चिढिने थिए । त्यस अवसरमा जंगले चतुऱ्याइँका साथ चाँद कुँवरलाई शरण दिने नै निश्चय गरी भिक्षाखोरी ‘अमलेखगन्ज’मा रानीलाई यसप्रकार पत्र लेखी पठाए– ‘जनाना ! तपाईंको चिट्ठी मैले पाएँ, तपार्इंको दुर्दशाको सूचना पाई म बहुतै अपसोचमा छु, अब तपाईंले डर मान्नुपर्ने कुरा छैन, तपाईंले काठमाडौंमा सुविस्तासाथ जीवन बिताउन पाउने बन्दोबस्त म गरिदिनेछु, तपाईंको शरीर ठीक नभएको हँुदा वैद्यहरू पठाएको छु, अहिले यसबखत त्यहाँको समयअनुसार हात्तीको डाँकबाट यहाँ चाँडै आइपुग्नुभए बेस होला ।’

लाहौरकी पूर्वमहारानी चाँद कुँवर अप्रिल २९ ता. १९४९ ई. का दिन काठमाडौं आइपुगिन् । उनको अगाडिको शाही दर्जालाई खुल्दो सम्मान जंगले गरे । उनको स्वास्थ्य ज्यादै खराब भएको हुँदा प्रथम दिन केही समय मात्र भेटवार्ता भयो । थापाथली दरबारभित्रै बेग्लै एक पूरा लङ केही समयको निमित्त उनलाई बस्नको लागि छोडियो । भोलिपल्ट दिनभरि महारानीसँग जगको कुराकानी भयो । महारानीले आफूउपर बितेको हृदयविदारक कुराहरू सुनाइन् ।

ब्रिटिस रेजिडेन्टले पनि रानी चाँद कुँवर काठमाडौं आइपुगेको सूचना पाई महारानीलाई तुरुन्त कम्पनी सरकारको सुपुर्दगी गरिनुपर्छ, अन्यथा दुई सरकारबीच भइरहेको मित्रतामा बाधा पर्न जाने कुराको सङ्केत गरे । जंगले पनि हामी हिन्दू धर्मावलम्बी भएबाट हामीले रानी चाँद कुँवरलाई कम्पनी सरकारलाई सुपुर्दगी गरेमा हाम्रो परम्परादेखि चलिआएको अतिथि सत्कारको उल्लङ्घन गरी हिन्दूधर्मविरुद्ध अपराध गरेझै हुन जान्छ तसर्थ रानी चाँद कुँवरलाई कम्पनी सरकारसमक्ष सुपुर्दगी गर्नु अनर्थ हुन जानेछ, साथै नेपाली जनताले उचित सम्झदैनन्, बरु विद्रोहको भय हुन जान्छ, तसर्थ रानी चाँद कुँवरलाई नेपाल सरकारले आफ्नो जिम्मामा लिनेछ र उनले नेपाल भूमिमा बसी कम्पनी सरकारका विरुद्ध कुनै कार्य गरेको बुझिएमा तुरुन्त कम्पनी सरकारसमक्ष सुपुर्दगी गरिनेछ, साथै रानी चाँद कुँवरलाई काठमाडौंबाट भाग्न, उम्किनसमेत दिइनेछैन । भागिहालेमा नेपाल सरकारले तुरुन्त सरकारलाई सूचना गर्नेछ, तर नेपाल सरकार जवाफदेही हुने छैन भनी कायममुकायम रेजिडेन्ट मेजर सी, थर्सवलाई सम्झाइबुझाई पठाए ।

रानी चाँद कुँवरको सुविस्ताको निमित्त जंगबहादुरले सम्पूर्ण बन्दोबस्त गरिदिए । महिनाको २ हजार ५ सय रुपैयाँ भत्ता र थापाथली कम्पाण्डभित्र बागमती नदीको किनारामा छुट्टै घर बनाउनको निमित्त ३० हजार रुपैयाँ निकासा गरिदिए । उक्त घर पञ्जावी शैलीबाट बनेको थियो र रानीको सो घर चारबुर्जे घरको नामले प्रख्यात थियो । केही वर्षपछि वि.सं. १९१२–१३ तिर महारानी नेपाल छोडी भारततर्फ फर्किने भइन् । त्यसबेला रानीले उक्त चारबुर्जा घर एक ब्राह्मणलाई दान गरिन् । चारबुर्जे घर जंगको थापाथली कम्पाउण्डभित्रै निर्माण भएकाले ती ब्राह्मणसँग जंगबहादुरले सो घर खरिद गरे । पछिसम्म पनि सो घरमा तोपखानाको अफिस बसेको थियो । रानी चाँद कुँवरले आफ्नो खर्चले सिख शैलीबाट बनाउन लगाएको लक्ष्मीनारायणको मन्दिर अद्यापि थापाथलीमा छँदैछ ।

(पुरुषोत्तमशमशेर जबराको ‘श्री ३ हरूको तथ्य वृत्तान्त’बाट)