केपी ओली किन अभिशप्त ?

केपी ओली किन अभिशप्त ?


बहुचर्चित बलात्कार एवम् हत्याकाण्डमा शङ्कास्पद भूमिका निर्वाह गरी जघन्य हत्या प्रकरणको वास्तविक अपराधीसम्म पुग्न अवरोध खडा गर्नेमध्येका दुई प्रहरी अधिकारीलाई बर्खास्तगीको ‘नाटक’ मञ्चन गरेर गृह मन्त्रालय मौन बसेको छ । गृहमन्त्री रामबहादुर थापा, प्रहरी प्रमुख सर्वेन्द्र खनाललगायतको छविसमेत धुमिल तुल्याउन पुगेको कञ्चनपुरकी किशोरीको बलात्कार एवम् हत्याको मामला खासमा ओली सरकारकै निम्ति एउटा गम्भीर धक्का हो भन्नेमा विवाद गरिरहनु आवश्यक छैन । यसबारे निकै बहस र टीका–टिप्पणी भएका छन् ।

छानबिन र कारबाहीका निम्ति जनस्तरबाट चर्को रूपले आवाज उरालिएका एसपी विष्टलगायत प्रहरी अधिकारीलाई ‘बर्खास्त’ गरेको सूचना सम्प्रेषण गरेकै भरमा नागरिक चुप लाग्लान् भन्ने सोच गृह प्रशासनले बनाएको बुझिन्छ । तर, यस्तै कच्चा सोच र अपरिपक्व क्रियाकलापका कारण सरकारी पात्र तथा निकायहरूले आफ्नो छवि मात्र धमिल्याइरहेका नभई ओली सरकारकै बद्ख्वाइँ गराउन ‘ऐतिहासिक भूमिका’ निर्वाह गरेका छन् । एसपी विष्टजस्ता ‘गुड रेकर्ड’ बनाउन नसकेका तथा विवादित पात्रलाई भविष्यमा सरकारी सेवाका लागि अयोग्य ‘नठहरिने’ गरी बर्खास्त गरेको घोषणा गरिनु भनेको बलात्कारपछि हत्या गरिएकी किशोरीको आत्मामाथि घाउ बनाएर नुनचूक दल्नुसरह हो । ‘जनपक्षीय नेता’को छवि दर्शाउँदै आएका रामबहादुर थापा नेतृत्वको गृह मन्त्रालयले लिएको यो निर्णयको दुष्चर्चा सुदूर भविष्यसम्म चलिरहने छ ।

कम्युनिस्ट नेतृत्वको सरकारलाई बदनाम हुनुबाट जोगाउन कञ्चनपुर–प्रकरणप्रदत्त कालकुट विष पिउन खोज्दा ‘राजनेता’ बन्ने सपना बुनेर अघि बढिरहेका ओली आफैँ क्षतविक्षत हुन पुगेका छन् भन्दा अतिरञ्जना नठहरिएला ।

निश्चय पनि प्रधानमन्त्री सर्वेसर्वा रहने शासन व्यवस्थामा आफूमातहतका मन्त्री वा मन्त्रालय, सचिव वा प्रशासनिक निकायहरूले गरेका राम्रा–नराम्रा क्रियाकलापको जस–अपजस वा जिम्मेवारी मुलुकको कार्यकारी प्रमुखका नाताले प्रधानमन्त्रीले लिनुपर्ने हुन्छ । यस कोणबाट भन्नुपर्दा बलात्कार तथा हत्या प्रकरणमा सरोकारवाला निकायहरूले निर्वाह गरेका भूमिका र सरकारी उपेक्षाका कारण उत्पन्न आक्रोश र बदनामीका समग्र छिटा प्रधानमन्त्री केपी शर्मा ओलीको शिरमाथि परेको छ । कम्युनिस्ट नेतृत्वको सरकारलाई बदनाम हुनुबाट जोगाउन कञ्चनपुर–प्रकरणप्रदत्त कालकुट विष पिउन खोज्दा ‘राजनेता’ बन्ने सपना बुनेर अघि बढिरहेका ओली आफैँ क्षतविक्षत हुन पुगेका छन् भन्दा अतिरञ्जना नठहरिएला । बलात्कारी पत्ता लगाएर कारबाही गर्न खोजे सरकार नै ढल्ने दाबीसहितका अभिव्यक्ति संसद्मा समेत गुञ्जिनुले यस घटनाको लहरो कहाँसम्म तन्किएको छ र त्यो लहरो तान्दा त्यसमा जेलिएका के–के तानिन सक्छन् भन्ने कुरा यतिबेला अनुमानकै विषय बनेर थन्किन पुगेको छ । अन्यथा ओलीजस्ता हक्की राजनीतिक पात्र यसरी हच्किनु नपर्ने थियो ।

वर्तमान सरकारलाई यति धेरै आलोच्य तुल्याउनमा प्रधानमन्त्री ओलीभन्दा उनको पार्टी नेकपा (नेकपा)का खास–खास नेता–कार्यकर्ताकै भूमिका देखिन्छ । उनका कतिपय मन्त्री, उनले विश्वास गरेका नोकरशाहहरूको रवैयाको सिकार बनिरहेको छ ओली–सरकार ।

यस्ता अनेक घटना–सन्दर्भ हुन सक्छन् जो इतिहासको गर्तमा त्यत्तिकै लुकेका र बिलाएका छन् । र, यस्ता उदाहरण पनि छन् जो आशा मारिएर पनि समयको कुनै मोडमा पुगेर उजागर भएका छन् । नादान किशोरी निर्मला पन्त र उनका अभिभावक तथा परिजनमाथि बज्रिन पुगेको घोर पीडादायी प्रकरणको पर्दा पनि कुनै न कुनै कालखण्डमा खुल्ने नै छ, अपराधीको शक्ति र पहुँच जतिसुकै उच्च रहे पनि । किनकि, सचेत नागरिक तप्काको आवाज सुकिसकेका छैनन् । यो घाउको पीडाले आफूसमेत सताइएको महसुस गर्ने जनताको जमात शासकहरूले ठानेजस्तो सानो अवश्य छैन । सम्भवतः निकृष्ट राजनीतिक दाउपेचमा मग्न रहने कथित ‘राजनीतिकर्मी’हरूकै चर्तिकलामार्फत एक दिन यस प्रकरणसँग जोडिएका दुष्पात्रहरूको खुलासा हुनेछ ।

मुलुकका प्रधानमन्त्री यतिबेला अस्वस्थ अवस्थाबाट गुज्रिरहेका छन् । यस्तो परिवेशमा व्यक्तिगत तवरमा प्रधानमन्त्री केपी शर्मा ओलीप्रति टीका–टिप्पणी गरिए मानवीय संवेदनाको महत्व कुल्चिएको अर्थ लाग्न सक्छ । त्यसमाथि, वर्तमान सरकारलाई यति धेरै आलोच्य तुल्याउनमा प्रधानमन्त्री ओलीभन्दा उनको पार्टी नेकपा (नेकपा)का खास–खास नेता–कार्यकर्ताकै भूमिका देखिन्छ । उनका कतिपय मन्त्री, उनले विश्वास गरेका नोकरशाहहरूको रवैयाको सिकार बनिरहेको छ ओली–सरकार । प्रधानमन्त्री र एक चलाख नेताको हैसियतले पनि केपी ओलीले यो नबुझेका होलान् भनी विश्वास गर्न सकिँदैन । तर, बुझेर पनि नबुझेको भूमिका निर्वाह गरिरहन ओलीजस्ता पात्र किन विवश छन्, गरे–नगरेका गल्तीका लागि किन अभिशप्त छन् र ‘कुरा गर्ने तर काम देखाउन नसक्ने’ भूमिकामा अडिरहने क्षमता कहिलेसम्म दर्शाउने हुन् ? यस सवालभित्र मुलुककै राजनीतिक उलटफेर गराउन सक्नेसम्मको ‘रहस्य’ छिपेर रहेको अनुभूति गरिएको छ ।