युवायुवतीमा मानसिक स्वास्थ्य समस्या बढ्दो

युवायुवतीमा मानसिक स्वास्थ्य समस्या बढ्दो


नेपालमा युवायुवती तथा बालबालिकामा मानसिक स्वास्थ्य समस्या बढी देखिन थालेको छ । सात बालबालिकामध्ये एक तथा पाँच युवायुवतीमध्ये एकमा सो समस्या हुनसक्ने विश्व स्वास्थ्य सङ्गठनले प्रक्षेपण गरेको छ । तर कुन उमेर समूहका बालबालिका तथा युवायुवतीमा मानसिक स्वास्थ्य समस्या छ भन्नेमा आधिकारिक तवरले कुनै अध्ययन अनुसन्धान हालसम्म भएको छैन ।

मनोसामाजिक, आर्थिक, जैविक, वातावरणीय आदि कारणले व्यक्तिको भावना एवम् सोचाईमा आउने विचलनले गर्दा देखिने भावनात्मक, संवेगात्मक, समाजिक तथा व्यवहारिक परिवर्तनलाई मानसिक स्वास्थ्य समस्याका रुपमा सो सङ्गठनले परिभाषित गरेको छ ।

मानसिक स्वास्थ्य समस्याले असामान्य रुपमा व्यक्तिको भावना, सोचाई र व्यवहारिक परिवर्तन गराइदिन्छ । यसले गर्दा व्यक्तिको दैनिक क्रियाकलाप, व्यवहार र सम्बन्धमा समेत असर पुग्दछ । यस्तो समस्या जनुसुकै लिङ्ग तथा उमेर समूहलाई हुने मनोचिकित्सकले जनाएका छन् ।

पछिल्लो जनगणना अनुसार १६ देखि ४० वर्ष उमेर समूहमा यो समस्या ४० प्रतिशत रहेको पाइएको छ । ती समूहभित्रका करीब २२ लाख युवायुवती मानसिक स्वास्थ्य समस्याबाट प्रभावित हुनसक्ने प्रक्षेपण स्वास्थ्य मन्त्रालयले गरेको छ ।

बाल्यकालमा नमीठा अनुभव, आघातजन्य घटना, लैङ्गिक तथा यौनजन्य हिंसा, समाजिक विभेद्, साथीहरुबाट खिसिट्युरी, आर्थिक विपन्नतालगायतका कारणले मानसिक स्वास्थ्य समस्या देखा पर्दछन् । स–साना बोझ एवम् तनावलाई समयमै उचित ढङ्गले व्यवस्थापन गर्न नसक्दा भविष्य निर्माणमा जुट्न प्रयासरत् युवायुवतीमा मानसिक स्वास्थ्य समस्या बढिरहेको मन्त्रालयका प्रमुख विशेषज्ञ सुशीलनाथ प्याकुरेल बताउँछन् ।

विश्वस्वास्थ्य सङ्गठनले विश्वमा हरेक ४० सेकेण्डमा एक जनाले मानसिक समस्याका कारण आत्महत्या गर्ने गरेको जनाएको छ ।