प्रोटेष्ट तथा क्याथोलिक द्वन्द्वबाट जन्मेको देश बेल्जियम

प्रोटेष्ट तथा क्याथोलिक द्वन्द्वबाट जन्मेको देश बेल्जियम


– डिल्लीराम अम्माई

संसारमा देशहरूको जन्म र विघटन भइरहन्छ । दोश्रो विश्वयुद्ध अगाडि स्वतन्त्र देशहरू विघटन हुने प्रक्रिया तीव्र्र थियो भने ९० को दशकमा सोभियत संघको विघटनपछि केही नयाँ देशहरू जन्मिए । युगोस्लाभिया टुक्रिएर केही नयाँ देशहरू जन्मिए । ती देशमा नयाँ देश जन्मने प्रक्रिया देशको विभाजन थियो । त्यसमा आन्तरिक राजनैतिक संकट प्रमुख कारण भए पनि शक्ति राष्ट्रहरूको अरुलाई कमजोर बनाएर संसारमा आफ्नो राजनैतिक बर्चस्व कायम गर्ने सामरिक रणनीतिले समेत काम गरेको देखिन्छ । तर कतिपय देशहरू बलिया देशहरूको औपचारिक दासताविरुद्धको संघर्षबाट बनेका हुन् । भारत, पाकिस्तान, सिंगापुरलगायत धेरै देश यो श्रेणीमा पर्दछन् । त्यस्तै बेल्जियम पनि केही हदसम्म फ्रान्स, अष्ट्रिया र हल्याण्डको दासताको विरुद्ध जन्मेको देश हो । बेल्जियममा कुलीनतन्त्रको विरुद्धको संघर्ष र जातीय तथा धार्मिक औपनिवेशिकताविरुद्धको संघर्षको समान संयोजन थियो । जुन संघर्षले राजतन्त्रात्मक मुलुक बेल्जियमको जन्म गरायो । त्यसमा बेलायतलगायतका मुलुकहरूको फ्रान्सलाई दबाबमा राखिरहने सामरिक स्वार्थले पनि केही हदसम्म काम गरेको इतिहासकारहरूको राय देखिन्छ ।

बेल्जियम जन्मदाको परिवेश :

जतिबेला बेल्जियम अष्ट्रियाको एक प्रशासकीय इकाई थियो त्यतिबेला पनि बेल्जियमको मुख्य धर्म रोमन क्याथोलिक नै थियो । यिनीहरूले पोपलाई आफ्नो सर्वोत्तम धार्मिक आचार्य मान्दथे र उनका आदेशहरूलाई पालना गर्दथे । क्याथोलिक धर्मगुरु पोप इटालीको रोम शहरमा बस्थे । अगाडिदेखि नै क्याथोलिक धर्म फ्रान्स, स्पेन, इटाली, पोर्तुगल, आयरल्याण्ड , पोल्याण्ड , अस्ट्रिया र बेल्जियममा फैलिएको थियो ।

१८ जुन १८१५ ई. मा नेपोलियन बोनापार्टलाई रूस, अष्ट्रिया, प्रशा, इंगलैंडलगायतका फौजहरूले वाटरलुको लडाइमा हराएपछि भियनामा युरोपेली राष्ट्रहरूको सम्मेलन भयो । त्यो सम्मेलनले हलैण्डमा ओरेन्ज राजवंशको पुनर्स्थापना गरी बेल्जियमलाई हलैण्डमा गाभियो । हलैण्डका जनताहरू प्रोटेस्ट धर्म मान्दथे र त्यहाँको भाषा ट्युटोनिक ‘डच’ थियो । बेल्जिकहरू क्याथोलिकप्रति विश्वास गर्दथे र फ्लामिस भाषा बोल्थे । हलैण्ड फ्राँसलाई असाध्य घृणा गर्थ्यो भने बेल्जियम फेरी फ्रान्सको असल मित्र थियो । त्यति बेलाको आर्थिक परिवेशलाई हेर्दा हलैण्डले स्वतन्त्र ब्यापार नीति अँगालेको थियो भने बेल्जियमले संरक्षित ब्यापार गरिरहेको थियो । भियना सम्मेलनले यी दुइ भिन्न भाषिक तथा धार्मिक समुदायबीचको भिन्नतालाई उपेक्षा गरेको थियो । जसले गर्दा उनीहरूको धार्मिक तथा भाषिक भावनामा चोट पुगेको थियो । आर्थिक हितहरू पनि यी दुबैका एकअर्काका विपरीत थिए ।

अर्कोतिर १८३० इ. सम्म जनसंख्याको दृष्टिले बेल्जियम हलैण्डभन्दा दोब्बर ठुलो थियो । तापनि सात सदस्यीय मन्त्रिमण्डलमा बेल्जियमको एकजना सदस्य मात्र सामेल गराइएको थियो । हलैण्डका तत्कालीन राजा विलियम प्रथमले बेल्जियमप्रति अपमानित र विभेदकारी ब्यवहार देखाए । डच कानुनहरू लागु गरियो र डच अधिकारीहरूको भरमार नियुक्ति गरियो । बेल्जियमको व्यापारलाई समाप्त पार्न ज्यादा करहरू लगाइयो । ब्याक्तिगत अधिकार, प्रेस, सभा तथा लेखहरूमाथि प्रतिबन्ध लगाइयो । बिद्यालयहरूमा प्रोटेस्ट धर्म गुरुहरू नियुक्त गरियो ।

यस्ता विभेदकारी कानुनहरू लागु गर्दै अन्तमा ट्युटोनिक ‘डच’ भाषालाई राष्ट्र भाषा बनाउने घोषणा गरेपछि बेल्जिकहरू आन्दोलित हुन थाले र राजा विलियम प्रथमसँग स्वशासनको माग गरे । राजाले त्यो मागलाई इन्कार गरिदिए । त्यसपछि आन्दोलनको आँधीबेहरी शुरु भयो । त्यो आन्दोलनमा कुलीन तथा पादरीहरूको पनि साथ थियो ।

बेल्जिकहरूले हलैण्डको औपनिवेशिकताको विरुद्ध हतियार उठाउने निर्णय गरे । राजधानी ब्रसेलमा हजारौँ बेल्जिकहरूले हतियार उठाएर आफ्नो सैनिक संगठन निर्माण गरे । हजारौँ बेल्जिक सशस्त्र मुक्तिसेनाको छापामार कारवाही तथा खुल्ला आक्रमणलाई सहन नसकेर डच सेना रातारात भागे । हलैण्डले फेरि स्वतन्त्रता संग्रामलाई दबाउन हजारौँ डच सेना बेल्जियम पठायो । माटोको कसम खाएर हतियार उठाएका बेल्जिक मुक्ति सेनासँग हलैण्डको सेना हार्यो । त्यो स्वतन्त्रता संग्राममा बेल्जिकहरूको जित देखेर सम्पूर्ण युरोप आश्चर्य चकित भयो । त्यो स्वतन्त्रता संग्रामलाई वर्षको एकपटक Belgium War of Independence (1821-32) भनेर सम्मान गरिन्छ ।

बेल्जिकहरूले १८३० इ.मा संविधानसभाको निर्माण गर्दै स्वतन्त्र राज्यको घोषणा गरे । त्यसको लगत्तै संविधानसभाबाट संविधानको निर्माण गरियो । फ्रान्सका राजा लुई फिलीपका माइला छोरा ड्युक अफ नेमुरलाई बेल्जियमको राजासमेत बनाइयो । तात्कालिक बेलायतका प्रधानमन्त्री लर्ड पाल्मरसनले नेमुरलाई राजा बनाएकोमा कडा विरोध जनाए । उनी बेल्जियमलाई फ्रान्सको नियन्त्रणमा जान दिन कदापि चाहँदैनथे । त्यसैले बेलायतमा निर्वासित जीवन बिताइरहेका जर्मन राजकुमार लियोपोल्डलाई राजा बनाउन बेलायतले प्रस्ताव गर्यो । पुनः नेमुरलाई हटाइ जुलाई १८३१ इ.मा लियोपोल्डलाई बेल्जियमको राजगद्दीमा राखियो । त्यसै महिना युरोपका सबै राष्ट्रहरूको लण्डन सम्मेलनले बेल्जियमलाई एक स्वतन्त्र र तटस्थ राष्ट्रको मान्यता दियो ।

बेल्जियम अधिराज्यको जन्म भएपछि बेल्जिकहरू आफ्नो राजनैतिक निर्णयका आफै मालिक बने । उनीहरूले आफ्नो राजनैतिक आस्थाअनुशार संगठित हुन विभिन्न पार्टीहरू स्थापना गरे ।

इतिहासका विभिन्न राजनैतिक उतारचढावको सामना गर्दै बेल्जियम अहिलेको अति विकसित अवस्थामा आएको हो । सन् १९१४ देखि १८ सम्मको प्रथम विश्व युद्धमा आततायी शक्ति राष्ट्रहरूको साम्राज्यवादी होडबाजीको कारण पुनः बेल्जियमलाई तहसनहस बनाइयो । इपरलगायत बेल्जियमका विभिन्न ठाउँमा भएको नरसंहारलाई संसारले अहिलेसम्म भुल्न सकेको छैन ।

राजनैतिक धारहरू :

बेल्जियमको राजनैतिक इतिहासलाई हेर्ने हो भने बेल्जियमको विकासमा बेल्जियमका प्रगतिशील शक्तिहरूको ठुलो योगदान रहेको छ । चाहे त्यो मजदुर मुक्तिको सवालमा होस् वा महिलामुक्तिको सवालमा । आरोहअवरोहका दुई शताब्दीभन्दा लामो राजनीतिक इतिहासमा बेल्जियमका आर्थिक समुन्नति र विकासले यिनै शक्तिहरूको नेतृत्वमा अधिकतम सफलता प्राप्त गर्यो भन्न सकिन्छ ।

उग्र परम्पराबादी तथा दक्षिणपन्थी धारको पुनः उदय :

बेल्जियमको राजनीतिक दलहरू मुख्य रूपले दुई भागमा विभाजन गर्न सकिन्छ । पहिलो वर्गमा प्रगतिशील धारणा भएका राजनैतिक पार्टीहरू पर्दछन् । जुन पार्टीहरूले बेल्जियमको सामाजिक, राजनैतिक र सांस्कृतिक परिवर्तनको नेतृत्व गरे । ती दलहरू समाजको गति समयको गतिजस्तै सदैव परिवर्तनशील भएको स्विकार्छन् र आवश्यकताअनुसार यथास्थितिको अग्रगामी परिवर्तन चाहन्छन् वा त्यसको लागि नेतृत्व गर्दछन् । ती शक्ति प्रगतिशील शक्ति हुन् ।

त्यसको विपरीत समाजमा अर्को शक्ति पनि विद्यमान हुन्छ । त्यो शक्ति परम्परावादी कन्जरभेटिभ शक्ति हो । त्यो शक्तिले परिवर्तन चाहन्छ तर भाषिक, जातीय र धार्मिक घेराभित्रको । देशभन्दा क्षेत्रमा त्यसको रुचि हुन्छ, विज्ञान वा भौतिक प्रगतिभन्दा आफ्नो परम्परागत धर्म र भाषाप्रति उसको रुचि बढी हुन्छ । परिवर्तनको बाहक प्रयत्न भन्दा दैविक शक्तिलाई मान्दछ । त्यो वर्ग हमेसा आधारभुत वर्गको हितमा भन्दा सामान्त, दलाल वा धनी वर्गको हितलाई ध्यान राखेर आफ्ना नीतिहरू निर्माण गर्छ । बेल्जियममा त्यो वर्ग नोभेम्बर २४, १९९१ पछि आक्रामक हुँदै आएको छ । बेल्जियमका दक्षिणपन्थी कन्जरभेटिभ राजनैतिक दलहरूमा भ्लाम्स ब्लाङ्क, द न्यु भ्लाम्स अलाइन्स (NV-a), क्रिश्चियन डेमोक्रेटीस एण्ड भ्लाम्स (CD&V), सेन्ट्रल हुमेनिस्ट डेमोक्रेटिष्ट (cdH), रिफर्मिटिस मोभमेण्ट (MR) र भ्लाम्स लिबेरालेन एन डेमोक्रटन पर्दछन् । तर भीयलडिले आफूहरू स्वतन्त्र बजार नीति, आर्थिक उदारीकरण र प्रगतिशील सुधारको पक्षपाति भएकोले कन्जरभेटिभ नभएर न्युट्रल भएको दाबी गर्दछन् । दस्तावेज हेर्दा उनीहरूको रणनीति सत्ताको नेतृत्वमा नपुगुन्ज्याल नरम खालको कन्जरभेटिभ समाज स्थापना गर्ने, रोमन क्याथोलिक धर्मलाई सापेक्ष बनाउने र अनुदार पुँजीवादलाई स्थापित गर्ने देखिन्छ । आप्रवासीप्रति अनुदार देखिने त्यो शक्तिले अन्तर्राष्ट्रिय रुपमा दबाबको कारण आफ्नो फासिष्ट लक्षको घोषणा गर्न हिच्किचाए पनि अन्तर्राष्ट्रिय रुपमा अनुकुल परिस्थिति आउने वित्तिकै आफ्नो रणनीतिमा अगाडी बढ्ने कुरालाई अस्विकार गर्न सकिन्न । युरोपमा त्यस्ता धरै नजिरहरू छन् ।

बेल्जियममै पनि दक्षिणपन्थी धारको उग्र तप्का उग्र दक्षिणपन्थी नारासहित आएको थियो । २४ नोभेम्बर १९९१ को दिनलाई बेल्जियमको इतिहाँसमा ‘कालो आइतबार’ भनिन्छ । त्यसदिनको चुनावमा ‘फ्लेमिश ब्लक’ नामक घोर दक्षिणपन्थी रुढिवादी, नयाँ पार्टीले पहिलो ठूलो विजयको साथ देशमा चुनावी परिदृश्यलाई पुनः परिभाषित गर्यो । त्यो पार्टीले राष्ट्रिय सफलतासँगै एन्टवर्पेनको स्थानीय चुनाव जितेको थियो । तर बेल्जियमको अदालतले त्यो पार्टी नै विघटन गरिदियो ।

त्यही ब्ल्याक आइतबारले बेल्जियमको राजनैतिक क्षेत्रमा सधैंको लागि अभिशप्त छाप छोडेर गएको छ । जसले समय–समयमा आफ्नो रुप र आवश्यक परे रंग फेरेर बेल्जियम समाजलाई दिग्भ्रमित बनाइरहेको छ । ती दक्षिणपन्थी रुदिवादीहरूको रुचि हमेशा मुलुकको विभाजन, साम्प्रदायिकता र धार्मिक वा भाषिक राष्ट्रियताको नाराभित्र लुकेको हुन्छ । उनीहरूले आप्रवाशी, विदेशी र भिन्न जातिलाई मानसिक रूपले घृणा गर्दछन् । उनीहरूको अनुकुल अवस्थामा त्यो घृणा आक्रामक बन्छ भने प्रतिकुल अवस्थामा रक्षात्मक ।

प्रगतिशील धार:

बेल्जियममा राजनैतिक प्रवाहको अर्को धार हो प्रगतिशील र क्रान्तिकारी धार । यो धारमा पनि दुई खेमा छन्– एउटा प्रजातान्त्रिक समाजवादी खेमा र अर्को कम्युनिष्ट खेमा । प्रजातान्त्रिक समाजवादीहरूको अन्तिम लक्ष्य सामाजिक संघ–संस्थाद्वारा सञ्चालित समाज अथवा राज्यविहीन समाज (anarchism-Anarchism is a political philosophy that advocates self-governed societies based on voluntary institutions. These are often described as stateless societies, although several authors have defined them more specifically as institutions based on non-hierarchical or free associations.) त्यस्तै कम्युनिष्ट धारले साम्यवादमा मात्र आफ्नो लक्ष्य सफल हुने बताउँछ । साम्यवाद भन्नाले बर्गीय उत्पिडनको अन्त्य गर्दै सम्पत्ति, उत्पादनका साधन र राज्यको स्वामित्वमा समान अधिकार र हैसियत प्राप्त विश्व संघ (In political and social sciences, communism (from Latin communis, “common, universal”)[1][2] is the philosophical, social, political, and economic ideology and movement whose ultimate goal is the establishment of the communist society, which is a socioeconomic order structured upon the common ownership of the means of production and the absence of social classes, money[3][4] and the state.[5][6]) समाजवादी यो धारमा बेल्जियमका समाजवादी पार्टी, कामदार पार्टी, इकोलकक वा हरियाली पार्टी र अन्य बामपन्थी पार्टीहरू पर्दछन् । कम्युनिष्ट पार्टी पनि यसमा पर्दछ तर बेल्जियम फ्लामिस सरकारले १९२५ मा स्थापना भएको कम्युनिष्ट पार्टीमाथि सशस्त्र विद्रोह र हिंसाप्रति झुकाव रहेको भन्दै १९८९ मा प्रतिबन्ध गरेको थियो ।

त्यस्तै रुढिवादी दक्षिणपन्थी धारमा पनि दुइ लक्ष्य निर्धारित पार्टीहरू छन् । आफुलाई न्युट्रल र सुधारवादी धारहरूले आफ्नो अन्तिम लक्ष परम्परागत सुधारवादलाई आफ्नो अन्तिम लक्ष बताएका छन् । उनीहरूले क्रमिक सुधारलाई अगाडि बढाउनुपर्ने मान्यता राखे पनि क्रान्ति वा छलाङबाट आउने परिवर्तनलाई अस्वीकार गर्दछन् भने उग्र दक्षिणपन्थीहरूले आफ्नो लक्ष्य फासिज्मलाई मान्दछन् । उनीहरूको उद्देश्य नयाँ चुनौती वा परिवर्तनको विरोध मात्र हैन, सबै जनअधिकारलाई राज्यको माताहतमा ल्याएर क्षेत्रीय, साम्प्रदायिक, धार्मिक र जातीय अधिनायकत्व लाद्ने प्रयास गर्दछन् । त्यहाँ फासिष्ट साम्प्रदायिक उद्देश्यको लागि अन्तर्राष्ट्रिय मानवअधिकार कानुन, श्रम ऐन, प्रेस स्वतन्त्रता र समान अधिकारको धज्जी उडाइन्छ । तर त्यो सब उनीहरूले आफ्नो अनुकुल अवस्थामा मात्र गर्दछन् । उनीहरूले आफ्नो बर्चस्वमा फासिष्ट उद्देश्यको लागि अन्तर्राष्ट्रिय मानवअधिकार संघ, पत्रकार संघ, संयुक्त राष्ट्र संघ र युरोपियन युनियन समेत विघटन गर्न चाहन्छन् । फासिष्टहरूको सांकेतिक रंग पहेँलो हो ।

समाजवादीहरूको अन्तराष्ट्रियतावादी सोचका कारण नै अहिले युरोपमा स्वतन्त्र बजारनीति लागु छ, भातृत्व र मानवताको आवाज अत्यन्त प्रवल छ । हल्याण्ड र बेल्जियमको बिगतको कटुता समाप्त भएर अहिले दुई देशको शिमामा केवल इलो आधारमा पेन्टिङ प्लस बाहेक केही फरक छैन । युरोपभर भातृत्व फस्टाएको छ । तर नाजीका समर्थक र परम्परावादी शक्तिहरूलाई यो पाच्य भएको छैन । यिनीहरूकै कारण अन्धराष्ट्रवादको नाममा रेसिजमले पुन शिर उठाउने खतरा बढेर गएको छ ।

२०१८ को अक्टोबर १४को चुनावपछि बेल्जियमका रुढिवादी दक्षिण पन्थी शक्तिहरूमाथि प्रगतिशील शक्तिहरूको जबर्जस्त दबाब सिर्जना भएको छ । यथास्थितिवादी (राज्य र समाजको मूल स्वरुपलाई बदल्न नचाहाने) शक्तिहरूमध्ये भाम्स बेलाङ अघिल्लो चुनाबभन्दा बढी शक्तिसाली देखिएको छ । जसले बेल्जियममा पुनः राम्रो संकेत गरेको छैन । तर पनि राष्ट्रिय स्थिति अनुदारवादी शक्तिहरूले चिताएजस्तो उनीहरूको पकडमा गएको देखिँदैन ।

अहिलेसम्म भएका समीकरणहरू :

परम्पराबादी अनुदार शक्तिहरू प्रगतिशीलहरूसँग मिलेको उदाहरण बेल्जियममा कमै देखिन्छ । तर मुद्धाहरूको समानता र परम्परावादी सोचका कारण रुढिवादी अनुदार शक्तिहरू आवश्यकताअनुसार मिलेको देख्न सकिन्छ । जस्तै सिडी एण्ड भे र एनभीआ २००७ बाट २०१० र २०१४ सम्म मिलेर शासन चलाएका थिए । कतिपय अवस्थामा ग्रीन र सोसलिष्ट मिलेर सासन शासन चलाएका छन् भने कतिपय अवस्थामा आफूलाई प्रगतिशील र उदार प्रजातन्त्रवादी भन्न रुचाउने ‘एमआर’ अथवा भीएलडी पनि समाजवादीहरूसँग मिलेको देखिन्छ ।

यहाँ ‘स्पा’ र ‘ग्रोंन’ समाजवादी भए पनि मार्क्सवादी हैनन् र उनीहरूको लक्ष समाजवाद बताउँछन् । तर कामदारहरूको पार्टी ‘पिभिडीए’ले आफूलाई मार्क्सवादी बताउने गर्छ र साम्यवादलाई आफ्नो अन्तिम लक्ष्य स्वीकार गर्छ । यसको पनि यो पटकको स्थानिय चुनावमा भोटर संख्या बढाएर ३ प्रतिशतभन्दा माथि पुर्याएको छ । हरियाली पार्टीले यो पटकको चुनावमा सबैभन्दा बढी मतदाता बढायो ।

बेल्जियमको स्थापनाकालमा बेल्जियममा मुख्यतया दुई पार्टी अस्तित्वमा थिए । लिवरल पार्टी र क्याथोलिक पार्टीको १९औँ सताब्दीसम्म दबदबा भए पनि त्यसको केही समयपछि लेबर पार्टीको जन्म भयो । अहिलेसम्म पनि बेल्जियमको वालोनितिर प्रजातान्त्रिक समाजवादी पार्टी सबैभन्दा ठुलो देखिन्छ भने भ्लामिस एरियामा भाषिक कन्जरभेटिभ पार्टी एन्भिआको बर्चस्व पहिलो नम्बरमा देखिन्छ ।

श्रोत
http://www.thebrusselsbrontegroup.org/the-brontes-in-brussels/history/leopold-victoria/,https://en.wikipedia.org/wiki/Political_parties_in_Belgium, https://en.wikipedia.org/wiki/History_of_Belgium/
Political History of Belgium (by Els Witte/ Jan CareyBeckt/Alain Meynen