काजकिरिया कति दिन ?

काजकिरिया कति दिन ?


काnisedhमुलुकमा कतिपयले अहिले आफूलाई जन्म दिने बाबुआमाको देहान्तपछिको काजकिरिया कति दिन गर्ने भन्ने विषयमा बडो जोडतोडले बहस सुरु गरेका छन् । हिन्दू धर्म–संस्कृतिअनुरूप बाबुआमाको मृत्युपछि तिनका सन्तानले १३ दिन काजकिरिया गर्ने परम्परा रहिआएको छ । यो काजकिरियाकै आधारमा दाजुभाइहरूमा नजिक, टाढा, को, कति भन्ने प्रस्ट्याउनका लागि कतिले ‘हामी त १३ दिने’ पनि भन्ने गर्दछन् । तेह्रदिने भनेपछि छाक जुठै लाग्ने नजिकका रहेछन् भन्ने बुझिन्छ । हिन्दू धर्मावलम्बीमा पनि सबैमा १३ दिनको प्रचलन छैन । राई, लिम्बू, गुरुङ, मगरलगायत कतिपय जनजातीय समुदायमा बाबुआमाको मृत्युमा १३ दिन जुठो बार्ने चलन छैन । आ–आफ्नो परम्पराअनुरूप कसैले तीन दिन, पाँच दिन, कसैले तीन छाक बार्छन् । तर, यो पनि परम्पराअनुरूप फरक–फरक तरिकाले गरिन्छ । जस–जसले जुन तरिकाले गरे पनि पितृ बुझाउने कार्यचाहिँ सबैले गर्छन् । क्षेत्री, बाहुन र दलितको भने जन्मेदेखि मृत्युसम्म प्राय: सबै संस्कार एउटै हो । यी जातिमा छोरा प्रतिको अगाध चाहना पनि मृत्यु–संस्कारसँगै जोडिएको छ । जनजातिमा पनि मृत्यु–संस्कार आफ्नो प्रचलनअनुरूप प्राय: छोराले नै गर्छन् । तर, छोरी र ज्वाइँको भूमिका पनि त्यत्तिकै हुने गर्छ । कतिपय जातिमा ज्वाइँ नभई मृत्यु संस्कारको सुरुवात नै हँुदैन । यता लोकतन्त्रले जनजातिको सूचीमा पु¥याएका नेवार समुदायको मृत्यु–संस्कार पनि १३ दिनकै हुने गर्दछ । तर, गर्ने प्रक्रिया भने फरक छ । क्षेत्री, बाहुन र दलितले बाबुआमा जलाएपछि छोराहरूले घाटमै कपाल काट्छन्, नेवार समुदायमा १० दिनका दिन कपाल काट्ने चलन छ । यो पनि ठाउँअनुसार फरक छ, पहाडतिर प्राय: सोही दिन घाटमै कपाल खौरने चलन छ भने उपत्यका र तराईका कतिपय भागमा १० दिनमा मात्रै कपाल खौरिएर सेतो लुगा लगाउने चलन छ । कतिपय नेवार परिवारमा सबै छोराले कोरामा बस्नुपर्दैन । बाबुको मृत्युमा जेठो छोराले र आमाको मृत्युमा कान्छो छोरा कोरामा बस्ने गर्छन् । मधेसी र मारवाडी समुदायमा १३ दिन जुठोमा बस्ने चलन छ । जनजातिबाहेक सबैको मृत्यु–संस्कार प्राय: खोलाको छेउमा जलाएर गरिन्छ । जनजातिमा भने जमिनमुनि गाड्ने चलन छ । कतिले आफ्ना आमाबाबुको चिहानमाथि विभिन्न आकारका स–साना घर बनाएर तिनलाई विशेष बनाउने गरेको पनि देखिन्छ ।
मृत्यु–संस्कार भन्ने कुरा हामीकहाँ मात्रै होइन, विश्वमै आ–आफ्नो जातीय, धार्मिक र सांस्कृतिक परम्पराअनुरूप गरिने कुरा हो । परिवारको सदस्यको मृत्यु भएका दिन कतै मदिरासहितको भोजभतेर गरिन्छ, मृत्यु उत्सव बनाइन्छ भने कतै उक्त दिन घरमा चुलो बाल्न पनि मिल्दैन । धर्म, समुदायअनुरूपको प्रचलनमा कसैले हस्तक्षेप गर्न मिल्दैन भन्ने मान्यता राखिन्छ किनभने यो आ–आफ्नो संस्कारसँग जोडिएको कुरा हो । यसप्रकारको संस्कार कसले कति मान्ने कति नमान्ने भन्ने कुरा मानिसको स्वविवेकको कुरा हो, गर्नैपर्छ भन्ने कुनै करकाप गरेको पनि पाइँदैन । हिन्दू धर्म–संस्कार नुरूप बाहुन परिवारमा जन्मिएपछि बाबुआमाको काजकिरिया १३ दिन नै गर्नुपर्ने हो, तर नेता बीपी कोइरालाई उक्त संस्कार ठीक लागेन त्यसैले उहाँले बाबुआमाको किरिया गर्नुभएन । उहाँलाई बाबुआमाको क्रिया गरेन भनेर कसैले पानी काढेन, तेह्रदिनेहरूले कुलबाट टाढा गरेनन् । किनभने हिन्दूधर्म नै यस्तो धर्म हो जसको पालना नगरे पनि कुनै सजाय भोग्नुपर्दैन । यो स्वेच्छिक छ, हिन्दू धर्म–संस्कारमा स्वविवेकको भरपूर प्रयोग गर्न पाइन्छ । हिन्दूधर्म परम्पराअनुरूप बाहुनको छोराले लुगा फेरर खालीखुट्टा बाबुको लासलाई अन्तिम श्रद्धाञ्जलीस्वरूप दागबत्ती दिनुपर्नेमा एमाओवादी नेता प्रचण्डले कोटपाइन्ट र छालाको जुत्तामा सजिएर लालसलाम गर्नु भो । परम्पराविपरीत भयो भनेर केही आलोचना पाए पनि उहाँलाई त्यस्तो खासै फरक परेन । यस्ता केही नेताहरू छन् जसले आफ्ना बाबुआमाको काजकिरिया नगरेर भोलि आफ्नो किरिया पनि नगरे हुन्छ भन्ने सन्देश समाजलाई होइन तिनका सन्तानलाई दिएका छन् । समाज त त्यही गर्छ जो आफूलाई ठीक लाग्छ ।
मुलुक सङ्क्रमणकालमा छ, यो देशमा उठान गर्नुपर्ने र निक्र्योल निकाल्नैपर्ने मुद्दाहरू धेरै छन् । यस्तो बेलामा हिन्दूहरूको मृत्यु–संस्कार छोट्याउनुपर्ने कुरा आश्चर्यजनक रूपमा बहसमा ल्याउन खोजिएको छ । यो कसले ल्यायो ? यतिबेलै किन आयो ? खोजीको विषय भएको छ । आफूलाई जन्म दिने बाबुआमाप्रतिको श्रद्धा हो मृत्यु–संस्कार । यति मात्र नभई हिन्दूधर्ममा यसको आफ्नै महŒव छ । मरेपछिको संस्कार गर्दै जाँदा १० दिनपछि प्रेतबाट आत्मा बन्ने मान्यताबाट निर्देशित भएका कारण राम्ररी काजकिरिया नभएका या प्रेतबाट पितृमा परिणत हुन नपाएका आफन्तहरूले पुस्तौँसम्म सन्तानलाई दु:ख दिएका, सपनामा या कसैको आत्मामा आएर मैले खान पाइनँ, भड्किरहेको छु भनेका कारण वर्षौं पछि आफन्तले काजकिरिया गरेका घटना पनि बेलाबेलामा सार्वजनिक हुने गरेका छन् । यसप्रकारको वास्तविकता जे–जे भए पनि मृत्यु–संस्कार आफ्ना बाबुआमाप्रतिको श्रद्धासँज्ञगै एउटा विश्वास पनि हो । तर, अहिले हामी यस्तो कुरामा बहस गरिरहेका छौँ जहाँ आफ्ना बाबुआमा मरेको कल्पना गरिन्छ र १३ दिन दु:ख भयो भनेर तीन दिन मात्र दु:ख गरूँ भनेर योजना बनाइन्छ । दु:ख–सुख भन्ने कुरा महसुस गर्ने कुरा हो । बाबुआमाप्रति कुनै श्रद्धा नभएका मानिसले उनीहरू बाँच्दै पनि कुनै सुख महसुस नगरेका हुन सक्छन् । त्यसप्रकारका मानिसले तीन दिन मात्र किन, एक दिन पनि जुठो नबार्न सक्छन् । तर, यदि कसैले चाहन्छ भने त्यसमा हस्तक्षेप गर्ने अधिकार कसैलाई छैन । मृत्यु–संस्कार भन्ने कुरा सांस्कृतिक मात्र होइन, निकै संवेदनशील कुरा पनि हो । यो राज्यले नीति बनाएर लागू हुने या गरिने कुरा होइन । आ–आफ्नो परम्पराअनुरूप चल्ने कुरा हो । कतिपयले सरकारी कर्मचारीले १३ दिन छुट्टी बस्दा राज्यलाई घाटा भएको हास्यास्पद तर्क पनि दिएका छन् । कतिले चाहिँ छोराछोरीको व्यस्तताको कुरा उठाएका छन् । तिनै बाबुआमाले जन्माएर दु:ख गरी हुर्काएर पढालेखा बनाएर व्यस्त बन्न पुगेका छोराछोरीले आफ्ना बाबुआमाको काजकिरिया गर्न समय निकाल्न सक्दैनन् भने त्यस्ता छोराछोरीले जुठो नबारेकै राम्रो । अन्त्यमा, जे–जस्ता तर्क गरिए पनि नेपाललाई धर्मनिरपेक्ष बनाउन जसले भूमिका निर्वाह गरेका थिए तिनकै ‘ब्याक अप’मा सनातनी मूल्य–मान्यतालाई जरैदेखि नष्ट गर्न यो कुरा बाहिर ल्याइएको हो भनेर बुझ्न गाह्रो पर्दैन । अरू धेरै चलखेल त यो मुलुकमा पहिलेदेखि भएको थियो नै, मृत्यु–संस्कारमै हमला गर्न खोज्दा पनि चुपचाप बस्न सक्ने धैर्य पनि हामीलाई यही हिन्दूधर्मले नै दिएको हो । नत्र अन्य धर्म परम्परामा यसप्रकारको हमला हुन खोजेको भए अहिले कति धार्मिक प्रतिष्ठानहरूले फतवा जारी गरिसक्ने थिए अनुमान गर्न सकिन्छ ।