उपकारी गुणी व्यक्ति निहुरिन्छ निरन्तर…

उपकारी गुणी व्यक्ति निहुरिन्छ निरन्तर…


– गोपाल पराजुली

कवि शिरोमणि लेखनाथ पौड्यालका यी पङ्क्तिले मानिसभित्र शिष्टताको अंकुरण गराएको मात्र होइन, फलेको वृक्षभित्रको सदाचार शिष्टता मानिसको अनुकरणीय विषय बन्न सक्छ भन्ने तत्वबोधसमेत गराएको छ । मानिसको जीवनमा हरपल शिष्टताको आवश्यकता पर्छ । शिष्टताले नै सभ्यता र त्यसभित्रको सुन्दरतालाई प्रस्फुटन गरेको हुन्छ । शिष्टता व्यक्तिगत जीवनमा मात्र नभई घर–परिवार, छर–छिमेक, पूजा–आजा, मठ–मन्दिर, सभा–बैठक, पेसा–व्यवसाय, हिँडडुल, देश–विदेश यात्रालगायत हरपल जीवन र जगतसँग गाँसिएको हुन्छ । आफूभन्दा ठूलाप्रति आदर र आफूभन्दा सानाप्रतिको माया–ममता पूर्वीय दर्शनले सिकाएको मार्मिक र जीवनोपयोगी पक्ष पनि हो । त्यसैले अतिथि देवो भवः भनी आफ्ना घरमा आउने पाहुनालाई मात्र भनिएको होइन कि आफूले सम्मान गर्नुपर्ने ठाउँमा त्यो सम्मानको आदरभाव बोली, वचन, व्यवहार र उसको हाउभाउले शिष्टताको पालनमा सचेत हुनुपर्छ भन्ने जान्नु पनि जरुरी हुन्छ ।

फ्रान्सका राजाले आफ्नो फूलबारीका फूलहरू टिपेपछि त्यसलाई व्यवस्थित गर्न बनेको शब्द Etiquette भित्र Formal rules of correct or polite behavior in society or among members of particular profession भनी परिभाषित गरियो । पाहुना हुन जाने र पाहुनाको स्वागत गर्नेमा कुनै नियमहरू बनाइएको छैन । तथापि परराष्ट्र मन्त्रालयले बेलाबखत प्रोटोकल शिष्टतासम्बन्धी तालिम पनि दिने गर्छ । आदर, सत्कार, व्यक्तिले प्रदर्शन गर्ने नरमपना, आदरभाव, शालीनता इत्यादिलाई पनि शिष्टाचारभित्रै हेरिन्छ । भनिन्छ– No one has perfect manners (बानी–व्यवहारमा कोही पनि पारंगत हुन सक्दैन ।)

बानी–व्यवहार, आदतका खास नियमहरू हुँदैनन् । तर यदाकदा त्यस्तो व्यवहार परिवर्नशील पनि हुन्छन् । शिष्टताभित्र खासै दम्भ हुँदैन । आफूले मान्नुपर्ने, आदर गर्ने र बिर्सनै नसक्ने गरी कुनै सहायता गरेको वा अत्यन्त मित्रभाव रहनेको हकमा शिष्टताले अझ विशेष स्थान ओगट्न सक्छ । न्युजविक नामको पत्रिकामा करिब ४० वर्षअघि छापिएको यस्तै एउटा घटना छ जो म प्रायः सम्झिरहन्छु ।

इरानी राजा पहल्वीको निमन्त्रणामा अमेरिकी राष्ट्रपतिको इरान भ्रमण हुन्छ । अमेरिकी राष्ट्रपतिको साथमा परराष्ट्रमन्त्री पनि आएका हुन्छन् । रात्रिभोजमा राष्ट्रपति र राजाका लागि मात्र विशेष व्यवस्था गरिएको हुन्छ । त्यहाँ स्वयं इरानका प्रधानमन्त्रीले नै राष्ट्रपतिको लागि खाना सर्भ गरिरहेका हुन्छन् । अमेरिकी राष्ट्रपतिका लागि इरानी प्रधानमन्त्रीले देब्रेतिरबाट खाना टक्र्याउँदा ‘तिम्रा प्रधानमन्त्रीले त खाना कतातिरबाट राख्नुपर्छ भन्नेसमेत जानेका रहेनछन् । कसरी देश चलाउँछन् ?’ भनी गरिएको व्यंग्यमा राजा पहल्वी अत्यन्त संवेदनशील भए । केही दिनमा ती प्रधानमन्त्री पदमुक्त भए । त्यसबखत अमेरिकीहरूले आफूले प्रभुत्व जमाएको राष्ट्र इरानमा राजाले प्राप्त गरेको सहयोग र सुधार इतिहासको कालखण्डमा आफैँमा एउटा उल्लेखनीय विषय हुन सक्छ । तथापि शिष्टताभित्रको संवेदनशीलता, आवेग, व्यंग्य र त्यसको प्रचारबाट कसैका प्रति हुन सक्ने क्षति र उसको सामाजिक जीवनबारे बुझ्ने कोसिस सबैबाट हुन जरुरी हुन्छ । सामान्य व्यंग्यले प्रधानमन्त्रीको जागिर गएको तथ्यले शिष्टताको पक्षलाई सबैले मनन गर्नु वाञ्छनीय हुन्छ भन्ने देखाउँछ ।

जंगली युगमा पनि मानिसले सिकार खेलेर ल्याएको खानेकुराको व्यवस्थापनलाई शिष्टतासँग जोडेको थियो । आधुनिक समयमा होटेल रेस्टुरेन्टमा खान जाँदा बस्ने तौरतरिका र काँटाचम्चासँग गरिने व्यवहारले पनि उसको शिष्टता प्रदर्शन गरेको हुन्छ । एकजना विख्यात क्यानेडियन न्यायमूर्तिले भनेका छन्– न्याय–निसाफ गर्दा उसको प्रभाव, उसको अध्ययन, संगत, संस्कार, शिक्षाको तौरतरिका, सानैदेखिको आनीबानी, घरबाट पाएको शिक्षा, अध्ययनको परिवेश अनि त्यसमाथिको वातावरणीय प्रभावजस्ता अनेकन कुराले असर पारेको हुन्छ ।’

यसरी एकले अर्कालाई गर्ने व्यवहारमा पनि उसले सानैदेखि के सिकेको थियो, कस्तो शिक्षा पाएको थियो, कस्तो परिवेशमा हुर्केको थियो भन्ने कुराले पछि गएर ऊ जुनसुकै पद, ओहोदामा पुगे पनि त्यस्तो आदत वा संस्कारलाई तत्काल छोड्न सक्दैन । हामीहरूलाई पनि सानैमा गुरुले चिठ्ठी लेख्न सिकाउँदा जसलाई चिठ्ठी लेख्ने हो उसलाई सम्बोधन गरेपश्चात् साष्टांग दण्डवत, प्रणाम, नमस्कार, शुभाशिष आदि शब्दले अभिवादन गरेपछि पत्रमा पंक्तिहरू सुरु गर्न सिकाइएको थियो । मान्यजनबाट टीका लगाउँदा झुक्ने र आदरभाव प्रकट गर्ने हाम्रो संस्कारबाट कोही पनि अपरिचित छैन होला । त्यस्तो संस्कारलाई नभुल्दा हुने व्यवहारलाई अन्यथा सोच्नु कत्तिको जायज हुन सक्ला ? विचारणीय छ ।

लडाइँ गर्दाको नियमहरूलाई तोडेर जितको मात्रै संस्कारबाट हुर्केकाहरूलाई शिष्टताको कुनै ज्ञान हुँदैन । उनीहरूको बुझाइमा घुँडा टेक्नु भनेको हार्नु मात्रै हो ।

आजभोलि फेसबुक, ट्विटरलगायतका सामाजिक सञ्जालहरूमा आफ्ना कुरा राखिन्छ, तर त्यहाँ केही कुरा लेख्दा परम्परागत शिष्टाचार र सम्बोधन गरिँदैन । मानिसले आफ्ना विभिन्न बानी–व्यवहार समयक्रममा फेर्दै जान सक्छ, तर सानैदेखि लागेको बानी परिवर्तन गर्न अलिक कठिन नै हुन्छ । यस्तो क्षमता कमै मानिसमा पाइन्छ । पिता, माता, गुरु, आफूहरूले मान्य व्यक्तिहरूसँग शिर निहुऱ्याएर बोल्नुपर्छ भनेर दिइएको शिक्षा जीवनका अनेक घटनाक्रममा अकाट्य, अमेट्य र अभेद्य भएर बस्छ भन्नेमा सबै विश्वस्त हुन जरी छ ।

अचेल कतिपय विश्वविद्यालयमा पढ्ने विद्यार्थीले आफू फेल भएँ भनेर टेबल–कुर्सी जलाउने गुरुहरूप्रति अशिष्ट र अभद्र व्यवहार गर्ने गरेको देखिन्छ । कतिपय स्थानमा त तिनै विद्यार्थी नै पछि गएर अध्यापक भएको देखिएको छ । आफूले गुरुप्रति गरिएको अशिष्टता आफ्नै विद्यार्थीले सिको गर्दा हुन गएको संस्कारलाई सच्याउन पनि लामो समय लाग्न सक्छ । शिष्ट संस्कार नजानेकाहरूका लागि गुरु–विद्यार्थीको त्यो हविगतजस्तो अब हुन दिनुहुँदैन ।

असल होस् वा कमसल बानी–व्यहोरा छिट्टै नै फेरिन सक्दैन । त्यसैले त भन्ने गरिन्छ– खराब संस्कार रहेछ भने पनि संस्कार फेरिन युगौँ लाग्न सक्छ । Edward B. Tylor ले एउटा मार्मिक वाक्य भनेका छन्– ‘Culture is that complex whole which includes knowledge, belief, art, law, morals, custom, and any other capabilities and habits acquired by man as a member of society.’ यो वाक्य यस अर्थमा मार्मिक छ कि हामीले जे सिकेका छौँ त्यो एकैदिन, एकैचोटि भएको होइन । ढुंगामा लेउ पनि एकै दिन लाग्दैन । विस्तारै त्यसको सुरुवात त्यसको अचलायमान प्रक्रियाबाट हुन्छ ।

घुँडा टेक्नुको विभिन्न अर्थ हुन्छ । एउटा अर्थ हुन सक्छ कुनै शत्रु राज्यसँगको लडाइँमा हार्नु, हराइनु वा एउटाको जित र अर्काको हार हुनु । लडाइँ गर्दाको नियमहरूलाई तोडेर जितको मात्रै संस्कारबाट हुर्केकाहरूलाई शिष्टताको कुनै ज्ञान हुँदैन । उनीहरूको बुझाइमा घुँडा टेक्नु भनेको हार्नु मात्रै हो । वर्गसंघर्षमा उपल्लो वर्गलाई जितेर वा घुँडा टेकाएर तल्लो वर्गले शासन गर्दछ भन्ने मान्यता छ । हाम्रो सनातन संस्कारमा आराध्यदेवी भगवतीको उपासना हुन्छ । अन्यायी पक्षधरलाई दैवीय शक्तिले जित हासिल गरेको पौराणिक मान्यतामा आधारित रहेर बडादशैँ पर्व मनाउने गरिन्छ । राष्ट्रपतिको कार्यालयमा टीका थाप्न जानेहरू न त अन्यायी थिए न त देव नै । त्यहाँ कसैको हार वा जितको कुनै गन्ध थिएन । केवल सभ्य र शिष्ट शैलीमा राष्ट्राध्यक्षप्रति गरिने नम्रतालाई नबुझेकोजस्तो लाग्छ । लोकतान्त्रिक गणतन्त्रमा संविधानको संरक्षक राष्ट्रपति भएकै कारण पनि उहाँको मर्यादा उच्च छ । त्यसो त राजनीतिज्ञ बीपी कोइरालाले राजालाई भेट्दा पनि यस्तै दूषित हल्ला चलाइएको इतिहास छ । दूध वा पानी खाए पनि सर्पभित्र विष नै हुन्छ भनेझैँ । टीका थाप्ने र टीका दिनेका बीचमा भएको शिष्टतालाई नकारात्मक लवजद्वारा प्रचार गरिनु कत्तिको जायज होला ।

जहाँसम्म राजा–प्रजा एकै भएको लोकतन्त्र गणतन्त्रमा किन भेद भन्ने सवाल छ– त्यहाँ विभेदका लक्षणहरूले भन्दा शिष्टताका गुणहरूले प्राथमिकता पाएको हुनुपर्छ । कसैको नियतमा खोट छैन भने अरूले त्यसमा चर्चा गर्दा सामान्य समझ र मगजको अभाव भएको भन्ने देखिन्छ । फेरि टिप्पणीकर्ताहरूकै जस्तो अवस्था त्यो होइन । विगतका वर्षहरूमा टीका लगाउने र टीका थाप्नेका बीचमा कस्तो व्यवहार थियो भन्ने तुलना पनि गरिएको छैन । के आजभोलि बजारमा ल्याइने फोटोहरूमा गरिने फोटो स्न्यापको प्रभावलाई बुझ्न सकिँदैन र ? बुद्धको अष्टांग मार्गजस्तै ठीक विचार, ठीक नियत, ठीक वचन, ठीक कार्य, ठीक जीविका, ठीक प्रभाह, ठीक सोच, ठीक एकाग्रता नभएको हुन सक्छ । अभिवादन गर्दा दुवै हात जोडेर अलिकति झुकेर नमस्कार गर्नुपर्ने हाम्रो सदियौँदेखिको संस्कार र परम्परालाई तोड्ने कार्य त्यहाँ हुन सकेन होला । त्यसमा अन्यथा लिन जरुरी छैन ।

हामीले राजतन्त्र देख्यौँ । थुप्रै परिवर्तन पनि भए । अब लोकतान्त्रिक गणतन्त्रको स्थापना भएको छ । लोकतान्त्रिक गणतन्त्रमा टीका लगाउँदा अवलम्बन गर्नुपर्ने नियमहरू हामीले बसाएका छैनौँ । ती नियम बसाउन खोजे सामाजिक सुधार ऐनमा देखिएको कानुनी व्यवस्थाजस्तो कानुन एकातिर व्यवहार अर्कोतिर हुन पनि सक्छ । जरुरी परे शिष्टताका नियमलाई अरू व्यवस्थित गर्न सकिन्छ । प्रोटोकल तालिमद्वारा त्यसलाई झनै व्यवस्थित गर्न सकिन्छ ।

अतिथि हुने र आतिथ्यता प्रकट गर्नेका बीचको केही कमी–कमजोरी हुन सक्छ । यो एउटा घटनाले अबका दिनहरूमा व्यवस्थापकीय कमजोरीलाई फेरि दोहोरिन नदिनका लागि उचित शिक्षाको अवसर पनि मिलेको छ ।

यहाँ बुझ्नुपर्ने तथ्य के हो भने संस्कारसँग शासनको तादात्म्यता हुन्छ नै भन्ने कुनै ग्यारेन्टी हुँदैन । बरु संस्कारले शासनशैलीमा प्रभाव पारेकै हुन्छ भन्ने अर्थ गर्न सकिन्छ । फेरि हाम्रो परिवर्तन राजनीतिक र आर्थिक विकाससँग सम्बन्धित होला । संस्कारगत सुधारको लागि त अरू धेरै नै समय कुर्नुपर्ने पनि हुन सक्छ । आनीबानी र संस्कारलाई परिवर्तन गर्न ठूलै जमर्को चाहिन्छ । महात्मा गान्धीको चिनी खाने बानीलाई आफूमा परिवर्तन नगरी बालकलाई अर्ती नदिएको उदाहरण पनि छ भन्ने बुझ्नुपर्छ ।

अतिथि हुने र आतिथ्यता प्रकट गर्नेका बीचको केही कमी–कमजोरी हुन सक्छ । यो एउटा घटनाले अबका दिनहरूमा व्यवस्थापकीय कमजोरीलाई फेरि दोहोरिन नदिनका लागि उचित शिक्षाको अवसर पनि मिलेको छ । यहाँ न सम्मान दिनेले न त सम्मान लिनेले नै भूल गरेका छन् । केवल समझदारी र बाहिरी सोचमा हुर्केका र सधैँ जितेकाले हारेकालाई गरेको जस्तो व्यवहार भयो भनी घटनालाई चर्काउनुको कुनै तुक छैन । पात्र र पात्रत्वबाट शिष्टताका अरू नियमहरू बन्न र बनाउन पुरातन सोचमा परिवर्तन गर्ने पर्याप्त आधारहरू तयार भएका छन् ।

अन्तमा त्यही फोटो प्रचारित र प्रसारित गरेर मेरा शुभचिन्तकहरूले मेरो स्वाभिमानलाई जोडेर गरेका चिन्तन मनन, टीकाटिप्पणीले म स्वयं स्तब्ध छु । त्यहाँ स्वाभिमानलाई गिराइएको छैन । कुनै चाकडी वा केही प्राप्त गर्नुपर्ने पनि छैन । बिना कुनै प्रतिफल गरिएको निस्वार्थ शिष्टाचारलाई अनेकन अर्थ गर्नुमा कुनै बहादुरी हुँदैन । आदत र बानी–व्यवहार मानिसमा भिन्नभिन्न प्रकारका हुन पनि सक्छ । कानुन र नियमको परिपालनामा कतै मबाट त्रुटि हुन गएको देखिए सबैका सामु क्षमा माग्न मैले कुनै हिचकिचाहट गर्नुपर्दैन । पाठकहरूमा त्यस्तो अन्यमनस्कको सोच हुन पनि जरुरी देखिँदैन । जीवनका हरेक घटना, परिघटना र परिवेश संयोगिक हुन सक्छ । संयोगको कुनै नियम हुँदैन । नियम नै नतोडेको मेरो समझलाई तुच्छ सोचबाट गाली गर्नु अन्याय हुन जान्छ । परिवर्तनका हरेक क्षणलाई साथ दिने मेरो स्वभाव, कार्य र धर्म हो ।

म सदाझैँ हरेक नेपालीको स्वाभिमानलाई उँचो पार्नुपर्छ भन्ने दृढतामा एकाकार हुँदै सकारात्मक सोचका साथ सुझाव पाउन अपेक्षित हुन्छु नै । बेइमानी, नकारात्मक सोच र परपीडकहरूलाई सुझाव पनि विष हुन सक्छ । त्यहाँको परिवेश, समय र सेनाले कायम गरेको प्राचीनतम मूल्य, मान्यता, मेरो शारीरिक अवस्था र स्वभावका अतिरिक्त आदर वा अन्तस्करण वा संस्कारका स्वभावहरूलाई असल नियतबाट बुझ्न सकिएमा नै भावी दिनहरूले सकारात्मक परिवर्नको गति लिन सक्नेछ । होइन भने यो संघीय गणतन्त्रात्मक व्यवस्थालाई उल्टो चस्माले हेर्नेहरू, अस्थिरतामा रम्ने–रमाउनेहरू र नीलो पोखरीमा ढुंगा हानेर दूषित पार्नेहरूको कुचेष्टाले साथ पाउनुहुँदैन । शिष्टताको अर्जुनदृष्टिलाई वक्रताको सोचले स्थान पाउनु उपयुक्त हुँदैन ।

यसअघिको पढ्नुहोस्-

न्यायालयलाई भत्काउने र बचाउनेहरू
https://ghatanarabichar.com/121773