सिड्नीमा फूल ब्यवसायमा रमाउँदै नेपाली ठिटो

सिड्नीमा फूल ब्यवसायमा रमाउँदै नेपाली ठिटो


– राजन घिमिरे, अष्ट्रेलिया

सबैलाई नामअनुसारको काम, दाम र सन्तुष्टि कहाँ मिल्छ र ? यस्तो हुने भए कसैलाई पनि जीवनमा किन पीडा, कठिनाई बाधा–ब्यबधान वा अड्चन आउँथे र ?

हो, सन्तोष अधिकारीको जीवनमा चाहिँ नामअनुसारकै सफलता र सन्तुष्टि मिलेको छ । नाम पनि सन्तोष अनि आफ्नो पेशा वा कर्म, यात्रा र सफलताप्रति सन्तोष नै मानिरहेका छन् उनले ।

सन्तोष अधिकारी, जसले अष्ट्रेलिया आएको १० वर्षमै आफ्नो जीवनलाई नै कायापलट गरे । शुरूमा नै फरक सोच, उद्देश्य र भोगाईलाई आत्मसात गरेर अगाडि बढेका उनी आज यही विशेषताका साथ फरक पेशा र क्षेत्रमा छन्, जुन क्षेत्रमा उनी एक मात्र नेपाली हुन् ।

सन्तोषको फरक पेशा हो– फूल ब्यापार । ‘म हरेक दिन बिहान ४ बजे उठ्छु, भ्यान लिन्छु र सिड्नीको ठुलो फूल गोदाममा पुग्छु । त्यहाँबाट पसललाई चाहिने फूल लिएर आफ्नै पसल पुग्छु र सहकर्मीहरूसँगै ती फूलहरूलाई प्याकिङ बनाएर सिड्नीका विभिन्न पसलमा पुर्याउँछु । करिब १२ बजेसम्म अति नै ब्यस्त हुन्छु’, सन्तोषले आफ्नो दिनचर्या बारेमा भने ।

सिड्नीको पारामाटामा रहेको फ्लावर सिटीका सञ्चालक सन्तोष फूलको ब्यापारमा ब्यस्त मात्र नभई मस्त पनि छन् । उनको भोगाईमा आफ्नो जीवन पनि फूल जस्तै रंगीन र बासनादार छ ।

काभ्रे जिल्लाको दाप्चामा जन्मिएका सन्तोष अधिकारीले कलेजको जीवन भने काठमाडौंबाट सकाए । सन् २००३ मा पाटन कलेजबाट सोसोलोजीमा एमए सकाएका उनले ह्वाइट हाउस कलेजमा प्राध्यापन पनि गरे । प्राध्यापनको मात्र नभई नेपालको विज्ञापन क्षेत्रको पनि राम्रै अनुभव छ उनीसँग । इको, क्रियन र मार्स एडभरटाइजिङको बजार ब्यबस्थापन र मार्केटिङको राम्रै अनुभव संगाले उनले ।

‘सन् २००८ मा सिड्नी आउँदा सिटी बैंक र हालको भोडा फोनमा विभिन्न पदमा काम गरेँ । त्यसपछि सन् २०१० देखि म फ्लावर सिटीसँग आबद्ध भएँ । तीन वर्ष कर्मचारी भएर काम गरेपछि सन् २०१३ मा स्वयम्ले यो किनेको हुँ’, उनी विगततिर फर्किए ।

आफ्नो यो यात्रा र सफलताको पछाडि प्रत्यक्ष रूपमा उनी आफ्नी धर्मपत्नीलाई दिन्छन् । दुई सन्तानका पिता सन्तोषले अगाडि भने– ‘मेरी धर्मपत्नी नितु न्यौपाने अधिकारीकै कारण म यहाँ छु अहिले । उनले ब्यापार र काममा साथ नदिएको भए यहाँसम्म आउन गाह्रो थियो । यो ब्यवसायलाई हामीले मिलेर अगाडि बढाएका छौँ ।’

सन्तोषको फ्लावर सिटीले अहिले सिड्नीको ४० भन्दा बढी सुपर मार्केटहरूमा फूल सप्लाई गर्छ । काभ्रे जिल्लाको सामान्य ठिटोको यो फड्को साँच्चै अरूलाई पनि प्रेरणा बन्न सक्छ ।

अष्ट्रेलियामा फूलको ब्यापार एक वर्षमा यति धेरै हुन्छ भन्ने सुन्दा झट्ट विश्वास गर्न गाह्रो हुन्छ, तर वास्तविकता यही हो । फूलको महत्व बुझ्ने र फूल निकै प्रयोग गर्ने अष्ट्रेलियावासीहरूले वर्षमा एक अर्बको हाराहारी अष्ट्रेलियन डलर त फूलमा नै खर्च गर्ने आँकडाले देखाएको छ । सन्तोषले आफ्नो पसलबाट एउटा फूललाई ५ डलरदेखि पन्ध्र सयसम्म पर्ने फूल बेच्ने गर्दछन् भने उनको पसलमा अमेरिका, यूरोप, हङकङ, ताइवान र कोलम्बिया लगायतका मूलुकहरूबाट फूलहरू पाइने गरिन्छ ।

त्यसो त नेपाल पनि फूलको धनि देश हो । नेपालको फूललाई अष्ट्रेलियामा ल्याएर बजार बिस्तार गर्न सन्तोष लालायित छन् । ‘नेपाल सरकारको नीति–नियम स्पष्ट भएमा र कोही इच्छुक हुनुहुन्छ भने म सहकार्य गर्न तयार छु । अरूको देशको फूल बेचेर रमाउनुभन्दा आफ्नै देशको फूलको कारोबार गर्दा गजबको सन्तुष्टि मिल्दथ्यो । यसतर्फ कसैको ध्यान गएको छैन । चाँडै ध्यान जाओस्, मेरो आग्रह छ’, सन्तोष एकछिन भाबवक बने ।

अरूहरूलाई विभिन्न फूलहरू उपलब्ध गराएर आफू पनि रंगीचंगी र मनमोहक बनेर हिँड्दा जीवनमा बेग्लै आनन्द आउने कुरा सन्तोषले बताए । बिहानै आँखा खोल्दा फूल नै देखेर होला सबैलाई आफू फूलजस्तै सुन्दर देख्ने कुरा उनले भने– ‘फूलको आँखामा फूलै संसार ….। यो गीतसँगै कुराकानीलाई बिट मारे सन्तोषले…।