अमिताभसँग माफी माग्दै आमिरले भने– बडो आनन्द आयो सर !

अमिताभसँग माफी माग्दै आमिरले भने– बडो आनन्द आयो सर !


यसराज फिल्मको बहुप्रतीक्षित फिल्म ‘ठग्स अफ हिन्दोस्ता’ प्रदर्शन हुनुअघि यस फिल्मका मुख्य कलाकार अमिताभ बच्चन र आमिर खान टीभीको पर्दामा एकसाथ देखिएका छन् । उनीहरू रियालिटी टीभी गेम शो ‘कौन बनेगा करोडपति’मा सँगै देखिएका हुन् । उनीहरूको यो भेटघाट र कुराकानीको खेल आगामी कौन बनेगा करोडपतिको शृंखलामा देखाइनेछ ।

‘ठग्स अफ हिन्दोस्ता’ फिल्मको प्रचार गर्ने क्रममा हालै कौन बनेगा करोडपतिमा अमिताभसँगै आमिर खानले पनि सुटिङ गरेका थिए । उक्त सुटिङ गत साता गरिएको थियो । यो सुटिङका क्रममा अमिताभ र आमिरले आगामी महिना प्रदर्शन हुने ‘ठग्स अफ हिन्दोस्ता’को व्यापक रूपमा प्रचारप्रसार गरेका थिए ।

कौन बनेगा करोडपतिमा सुटिङ गरेपछि प्रसन्न मुद्रामा देखिएका आमिरले त्यसपछि अमिताभसँग माफी माग्दै सामाजिक सञ्जालमा उक्त सुटिङको फोटो राखेका छन् । जसमा अभिताभ र आमिर एकसाथ देखिएका छन् । फोटो राख्दै आमिरले लेखेका छन्, ‘मैले आज निकै सुन्दर दिन बिताएँ, बच्चनजीसँग केबीसीमा सुटिङ गर्न पाउँदा निकै आनन्द आयो, आफूलाई रोक्न नसकेर यो फोटो राखेको छु, सर माफ गर्नुहोला ।’

आमिरले फेसबुकमा राखेको फोटोमा अमिताभले नीलो रंगको कोट र आमिरले रातो रंगको चेक कोट लगाएका छन् । विजयकृष्ण आचार्यद्वारा निर्देशित ‘ठग्स अफ हिन्दोस्ता’मा अमिताभले पहिलोपटक आमिर खानसँग काम गरेका छन् । यो फिल्म सनसनीपूर्ण एक्सनले भरिपूर्ण छ । यसमा अमिताभ र आमिरसँगै कैटरिना कैफ र फातिमा सना शेखले अभिनय गरेका छन् ।

महानायक अमिताभ बच्चन र मिस्टर परफेक्सनिस्ट आमिर खानको उच्चस्तरीय केमेस्ट्रीले भरिपूर्ण फिल्म ‘ठग्स अफ हिन्दोस्ता’को ट्रेलर र एउटा गीत ‘वास्मल्ले’ हालै प्रदर्शन गरिएको थियो । जसलाई लाखौँ दर्शकहरूले मन पराएका छन् ।