प्रणय बन्धनमा बाँधिँदै दीपिका र रणवीर

प्रणय बन्धनमा बाँधिँदै दीपिका र रणवीर


लामो समयदेखि ‘रिलेसन’मा रहेका बलिउडको ‘हट कपल’ दीपिका पादुकोण र रणवीर सिंह प्रणय बन्धनमा बाँधिने भएका छन् । विवाह गर्ने निश्कर्षमा पुगेका दीपिका र रणवीरले आगामी नोभेम्वरका १४ र १५ तारिख वैवाहिक कार्यक्रमका लागि छुट्याएका छन् ।

उनीहरूको विवाह सिन्धी परम्पराअनुसार इटालीमा हुनेछ । रणवीर सिन्धी समुदायसँग सम्बन्ध राख्ने भएकोले उनीहरूको विवाह सिन्धी परम्पराअनुसार नै हुन लागेको हो ।

दुई वर्षअघि नै रणवीरले दीपिकासमक्ष विवाहको प्रस्ताव राखेका थिए । त्यतिबेला दीपिका विभिन्न फिल्ममा व्यस्त रहेका कारण विवाहको लागि केही समय पर्खन भनेकी थिइन् । रणवीरले विवाहको प्रस्ताव राखेसँगै मिडियाले दीपिकालाई घेरेका थिए । त्यसपछि उनले उचित समयमा विवाह गर्ने जवाफ दिएर पन्छिएकी थिइन् भने रणवीरले चाहिँ आफू जीवनभर दीपिकालाई पर्खेर बस्ने बताएका थिए ।

रणवीर सिंहसँग सम्बन्ध गाँस्नुअघि दीपिका रणवीर कपुरसँग रेलिसनसिपमा थिइन् । दीपिका र रणवीर कपुरको प्रेमको चर्चाले त्यसबेला बलिउडलाई तताएको थियो । दीपिका रणवीर कपुरको प्रेममा पागलजस्तै बनेकी थिइन् । उनले आफ्नो प्रेमलाई अमर राख्न आफ्नो घाँटीमा रणवीरको ‘टाटु’ समेत खोपेकी थिइन् । तर, कपुर परिवारको असहमतिका कारण उनीहरूको प्रेम सम्बन्ध बीचैमा टुटेको थियो ।

अहिले रणवीर सिंह र दीपिकाको परिवार विवाहको तयारीमा जुटेको छ । विवाहकोे चर्चासँगै दीपिका र रणवीरले विवाहमा कस्तो पहिरनको प्रयोग गर्नेछन् भन्नेबारे प्रशंसकहरूबीच निकै चासो र चर्चा शुरु भएको भारतीय मिडियाहरूले जनाएका छन् ।

फेसन डिजाइनर सभ्यसाचीद्वारा डिजाइन गरिएको लेहङ्गा दीपिकाले विवाहमा लगाउने चर्चा चले पनि अन्तिम टुङ्गो भने लागेको छैन । दीपिका बनारसी साडीको पारखी भएकोले उनले विवाहमा बनारसी साडी लगाउन सक्ने अनुमान गरिएको छ । त्यस्तै रणवीर सिन्धी परम्पराअनुसारको पहिरन पहिरिने पक्का जस्तै ठानिएको छ ।