राष्ट्रिय महिला तथा पुरुष नोभिस बक्सिङ मंसिरमा

राष्ट्रिय महिला तथा पुरुष नोभिस बक्सिङ मंसिरमा


प्रथम राष्ट्रिय महिला तथा पुरुष नोभिस बक्सिङ प्रतियोगिता मंसिर ५ देखि ८ गतेसम्म काठमाडौंमा हुने भएको छ । आयोजक नेपाल बक्सिङ संघका अध्यक्ष राम अवालेले पत्रकार सम्मेलनमार्फत उक्त कुराको जानकारी गराएका हुन् ।

पहिलोपटक आयोजना हुन लागेको प्रतियोगिताले प्रतिभावन खेलाडीको उदय हुने अध्यक्ष अवालेले जनाए । नोभिस प्रतियोगितामा यसअघि औपचारिक बक्सिङ प्रतियोगिता नखेलेका महिला र पुरुष खेलाडीहरूले सहभागी हुन पाउनेछन् । प्रतियोगितालाई यू–१९ र यू–२२ वर्षमुनि गरी दुई उमेर समूहमा विभाजन गरिएको छ । यू–१९ वर्षमुनिको महिला र पुरुषतर्फ ५–५ वटा तौल समूह रहेका छन् ।

महिलातर्फ ४८ केजी, ५१ केजी, ५४ केजी, ५७ केजी र ६० केजी तौल समूह समावेश गरिएको छ । त्यस्तै, पुरुषतर्फ ४९, ५२, ५६, ६० र ६४ केजी तौल समूह रहेका छन् । यू–२२ वर्षमुनिको महिलातर्फ ६ वटा र पुरुषतर्फ ८ वटा तौल समूह रहेका छन् । महिलातर्फ ४८ केजी, ५१ केजी, ५४ केजी, ५७ केजी ६० केजी र ६४ केजी तौल समूह समावेश गरिएको छ ।

यू–२२ वर्षमुनिको पुरुषमा ४९, ५२, ५६, ६०, ६४, ६९, ७५ र ८१ केजी तौल समावेश गरिएको छ । नेपाल बक्सिङ संघका वरिष्ठ उपाध्यक्षसमेत रहेका प्रतियोगिता संयोजक राष्ट्रिय खेलकुद परिषद्का सदस्य अर्जुनबहादुर केसीले देशभरबाट लगभग १ सय ८० खेलाडीको सहभागिता रहने जानकारी गराए ।

महिला र पुरुष यू–१९ तथा महिला र पुरुष यू–२२ गरी ४ वटै उमेर समूहमा टिम च्याम्पियन ट्रफी प्रदान गरिनेछ । प्रतियोगिताको लागि अनुमानित बजेट २२ लाख ११ हजार रहेको केसीले बताए । सो अवसरमा बक्सिङका भीष्मपितामह सुरेशसिंह आले, राखेप पूर्वसदस्य नारायणप्रसाद पौडेल, मुवाथाईका अध्यक्ष नवराज भण्डारी, हप्किडोका अध्यक्ष कालीबहादुर घर्तीलगायतको उपस्थिति रहेको थियो ।