नेपालमा पर्यटकको बसाई र प्रतिपर्यटक खर्च घट्दै

नेपालमा पर्यटकको बसाई र प्रतिपर्यटक खर्च घट्दै


–छविलाल बगाले
पर्यटन वर्ष सन् २०२० मनाउन सरकारी नीति बाधक देखिएको छ । सरकारले सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको छ । तर, पूर्वाधार निर्माणमा खासै ध्यान दिन सकेको छैन भने अर्को तर्फ नीति प्रभावकारी बनेको छैन ।

सरकारले सन् २०२० लाई ‘नेपाल भ्रमण वर्ष’ का रुपमा मनाउने तयारी तीव्र पारेको दाबी गरेको छ । २० लाखसम्म पर्यटक भित्र्याउने लक्ष्यमा व्यवधान देखिएको छ । सरकारी नीति समेत प्रभावकारी छैनन् र पूर्वाधारको विकासमा पनि खासै ध्यान दिइएको देखिदैन । सन् २०२० मा धेरैभन्दा धेरै पर्यटक नेपाल भित्र्याउने विभिन्न आधार भएको नेपाल पर्यटन बोर्डका कार्यकारी अधिकृत दिपकराज जोशीको दावी छ ।

के के छन् त २० लाख पर्यटक भित्र्याउने सरकारी आधार ?
–भैरहवा विमानस्थल २०१९ को सेप्टेम्बरसम्म सम्पन्न गरिसक्ने
–त्रिभुवन विमानस्थलको स्तरोन्नती २०१९ को जुनसम्म गरिसक्ने
–एकसय वटा नयाँ गन्तव्यको खोजी गर्ने
–सरकारी र निजी क्षेत्रका संघसंस्था परिचालन गर्ने
–सबै सिजनमा पर्यटक भित्र्याउने गरी नयाँ रणनिति बनाउने

अहिले कै गतिलाई हेर्ने हो भने सरकारी आधार पूरा हुने देखिदैन । पर्यटन वर्ष मनाउन डेढ वर्ष मात्र बाँकी छ । यसअघिका बर्षहरुमा पनि विना तयारी गरिएको भ्रमण बर्षले खासै पर्यटकको आगमनमा बृद्धि र बसाई लम्बिएको पाईदैन् ।

सरकारले भ्रमण बर्ष मनाउनुपूर्व गर्नुपर्ने काम
–नेपालको पर्यटकीय ब्रान्डिङ
–अन्तर्राष्ट्रिय बजारमा नेपालको पर्यटन बजारीकरण
–गन्तव्यको विविधिकरण
–पर्यटन उद्योगको क्षमता विस्तार
–विद्यमान पर्यटन तथा होटल व्यवस्थापनको जनशक्ति विकास

पछिल्लो केही बर्षयता नेपालमा सस्ता पर्यटकको आगमनमा बृद्धि र बसाइ अवधि छोटो हुँदै गएको नेपाल पर्यटन बोर्डको दावी छ । पर्यटकको समय कम र पैसा बढि भएकोले नेपालको पर्यटन व्यवसाय संकटमा पर्ने आंकलन समेत गरिएको छ ।
त्यसो त नेपालमा प्रति पर्यटक प्रतिदिन खर्च ५४ अमेरिकी डलरभन्दा कम छ । १२ दशमलव ६ दिनमा झरेको पर्यटकको बसाई र प्रतिपर्यटक खर्च घट्दै जानुले नेपालले बेलैमा पर्यटन क्षेत्रमा नयाँ सोचको विकास गर्नु जरुरी छ ।