मापसे गरी दादागिरी देखाउने वडाध्यक्ष प्रहरी खोरमा

मापसे गरी दादागिरी देखाउने वडाध्यक्ष प्रहरी खोरमा


ओखलढुङ्गाको स्थानीय मानेभञ्ज्याङ गाउँपालिका–६ थाक्लेका वडाध्यक्ष हेमराज राईविरुद्ध प्रहरीले सार्वजनिक अपराधको मुद्दा दर्ता गरेको छ ।

मादकपदार्थ सेवन गरेर सर्वसाधारणलाई कुटेको आरोपमा राईविरुद्ध प्रहरीले मुद्दा चलाएको हो । वडाध्यक्ष राईले मापसे गरेर स्थानीय व्यवसायी र युवलाई कुटेको भन्ने उजुरी आएपछि पक्राउ गरेर एक साताको म्याद थप गरी मुद्दा चलाइएको जिल्ला प्रहरी प्रमुख अनन्तराम शर्माले बताए । शर्माका अनुसार वडाध्यक्ष राईले शनिबार मापसे गरेर अर्पण आयल हर्कपुरमा काम गर्ने मदन तिमिल्सिना र स्थानीय युवा ठाकुर अधिकारीमाथि आक्रमण गरेपछि राई प्रहरी खोरमा पुगेका हुन् ।

जिम्मेवार व्यक्ति नै झपडमा उत्रिएपछि कानूनी कारवाही गर्नु परेको प्रहरीले जनाएको छ । घटनापछि पीडितले उजुरी गरेसँगै जिल्ला सदरमुकामबाट खटिएको प्रहरीले वडाध्यक्ष राईलाई हर्कपुरबाटै पक्राउ गरेको थियो । राई स्थानीय निर्वाचनमा नेपाली काङ्ग्रेसबाट उम्मेदवार बनेर वडाध्यक्षमा निर्बाचित भएका थिए ।