साउदी अरबले पत्रकार जमालको हत्यारालाई कठघरामा उभ्याउने !

साउदी अरबले पत्रकार जमालको हत्यारालाई कठघरामा उभ्याउने !


पत्रकार जमाल खशोग्गीको हत्यारा जो भएपनि उसलाई कडा कानूनी सजाय हुने साउदी अरबले जनाएको छ । मङ्गलबार बसेको साउदी मन्त्रीपरिषद् बैठकपछि जारी गरिएको विज्ञप्तिमा यस्तो दाबी गरिएको हो ।

पत्रकार खशोग्गीको हत्यामा संलग्न जो कोही भएपनि उसलाई कानूनी दायरामा ल्याइने उक्त विज्ञप्तिमा उल्लेख रहेको राज्यसञ्चालित एसपिए न्यूज एजेन्सीले जनाएको छ ।

बैठकपछि सरकारले जारी गरेको वक्तव्यमा भनिएको छ, ‘साउदी अरबले सत्यतथ्य पत्ता लगाउन सम्भावित उपायहरूलाई अवलम्बन गरेको छ र घटनामा प्रत्यक्ष वा परोक्ष रूपमा संलग्न सबैलाई कानूनबमोजिम सजाय दिइने छ ।’

खशोग्गीको इस्तानबुलस्थित साउदी अरबेली महाबाणिज्य दूतावासमा गत अक्टोबर २ मा हत्या गरिएको थियो । उक्त हत्या कसले के उद्देश्यले गरेको थियो भन्ने अझै अनुसन्धानको प्रक्रियामा रहेको छ ।

उता टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले आफ्नो सत्ताधारी पार्टीका सांसदहरूलाई सम्बोधन गर्दै पत्रकार जमाल खशोग्जीको ज्यान लिने योजना हत्या भएको दिनभन्दा निकै दिन अगाडि नै भएको आशङ्का व्यक्त गरेका छन् ।

अक्टोबर २ का दिन इस्तानबुलस्थित साउदी वाणिज्यदूतावासभित्र खशोग्जीको नियोजित र ‘क्रुर‘ हत्या भएको भन्ने देखाउने टर्कीसँग बलियो प्रमाण रहेको उनको दाबी छ ।

खशोग्जीको मृत्यु दुर्घटनावश भएको हुनसक्ने भन्ने सम्भावनालाई खण्डन गर्दै उक्त घटनाका संदिग्धहरूविरुद्ध इस्तानबुलमा मुद्दा चलाउन पनि उनले माग गरेका छन् ।

खशोग्जीको शव कहाँ छ र उनको ज्यान लिने गरी भएको कार्वाहीको आदेश कसले दिएको थियो भन्ने प्रश्नहरूको जवाफ साउदी अरबबाट आउनुपर्ने जिकिर उनले गरेका छन् ।