रेलले किचेर ५० हजारको मृत्यु !

रेलले किचेर ५० हजारको मृत्यु !


भारतमा सन् २०१५ देखि २०१७ सम्मको तीन वर्षको अवधिमा बाटो काट्ने क्रममा रेलले किचेर करिब ५० हजारजनाको मृत्यु भएको छ । रेलमार्गबाट बाटो काट्ने क्रममा तीन वर्षमै यति ठूलो संख्यामा नागरिकका मृत्यु भएको बताइएको हो । भारतीय रेलसेवाले मंगलबार सो तथ्यांक सार्वजनिक गरेको हो ।

भारतको पञ्जाबमा हालै मात्र यसरी नै रेलको लिकमा परेर ६१ जनाको ज्यान गएको थियो । सो दुर्घटनापछि भारतीय रेलसेवा कार्यालयले यो जानकारी गराएको हो । रेलमार्गको नजिकैबाट भारतीय हिन्दूहरूको चाड नवरात्रका अवसरमा लागेको मेला हेर्ने क्रममा अकस्मात् रेल आएर किच्दा उनीहरूको मृत्यु भएको बताइएको थियो ।

यस तीन वर्षमा ४९ हजार ७९० जनाको ज्यान गएको उक्त कार्यालयले जानकारी दिएको हो । भारतीय रेलसेवा कार्यालयले यस्तो दुर्घटना घटाउन कैयौँ कार्यक्रमहरू सञ्चालन गरिरहेको बताएको भए पनि यसरी हुन मृत्यु भने नघटेको बताइएको छ । भारत विश्वमै सबैभन्दा ठूलो रेल सञ्जाल भएको देश हो । भारतमा दैनिक लाखौँ व्यक्तिले रेलमार्गबाट यात्रा गरिरहेका हुन्छन् ।