प्राविधिक क्षेत्रमा पर्याप्त जनशक्तिको अभाव

प्राविधिक क्षेत्रमा पर्याप्त जनशक्तिको अभाव


लोकसेवा आयोगको एक सयभन्दा बढी प्राविधिक पदमा दरखास्त नै पर्न सकेको छैन । गत वर्ष कुल विज्ञापनमध्ये १०१ विज्ञापनमा दरखास्त नपरेको लोकसेवा आयोगका अध्यक्ष उमेशप्रसाद मैनालीले जानकारी दिए । उनका अनुसार दरखास्त नपरेका विज्ञापनमध्ये ६५ आन्तरिक प्रतियोगिताअन्तर्गतको छ । एउटा खुला प्रतियोगिता र ३५ समावेशी प्रतियोगिताका विज्ञापन छन् ।

अधिकांश प्राविधिक तहका विज्ञापनमा दरखास्त नपरेको आयोगले जनाएको छ । त्यसमा पनि धेरै स्वास्थ्य सेवा क्षेत्रका विज्ञापनमा दरखास्त परेका छैनन् । ‘एक त जनशक्ति नभएर नै नपरेका हुन्, अर्काे स्वास्थ्य शिक्षा विषय नेपालमै पढाइ नहुँदा दरखास्त नआएका हुन सक्छन्,’ आयोगका सूचना अधिकारी देवीप्रसाद सुवेदीले भने । उनका अनुसार शिक्षाशास्त्र पढेकाबाट आएको दरखास्तले भने मान्यता नपाउँदा खाली हुन गएको हो । उक्त विषय भारतमा पढाइ हुन्छ । नेपालमा शिक्षा संकायतर्फ स्वास्थ्यको पढाइ हुने गरे पनि मन्त्रालयको स्वास्थ्य सेवा ऐनले मान्यता दिँदैन । दरखास्त नपरेकामध्ये ५८ विज्ञापन स्वास्थ्य क्षेत्रका छन् । अधिकांश माथिल्लो तहमा खाली छ ।

केही इन्जिनियर, टाइपिस्ट, अमिन, अपरेटर, पशु स्वास्थ्यलगायत पदका विज्ञापन खाली रहे । चिकित्सक क्षेत्रका नवौँ र एघारौँ तहका बढी छन् । आयोगको केन्द्रीय कार्यालयअन्तर्गतका ६८ विज्ञापन र धनकुटा, हेटाँैडा, पोखरा र जुम्ला कार्यालयका तीन–तीन विज्ञापनमा दरखास्त परेन ।

इलाम, बाग्लुङ, दाङ, सुर्खेत, दीपायल र भीमदत्तनगर कार्यालयका दुई–दुई तथा खोटाङ र काठमाडौं कार्यालयका चार–चार एवं जलेश्वरको एक विज्ञापन खाली रहेको सुवेदीले जानकारी दिए ।

एउटा मात्रै खुला प्रतियोगिता रहेको नवौँ तहको कन्सल्टेन्ट सर्जिकल ग्यास्ट्रो इन्टेरोलोजिस्ट पदमा दरखास्त परेन । समावेशीतर्फ अपांगतातर्फ तीन, महिलातर्फ ११, दलितर्फ ११, मधेसी र आदिवासी जनजाति तीन–तीन विज्ञापनमा दरखास्त परेन । अन्य भने आन्तरिक प्रतियोगिताका विज्ञापन छन् ।

आयोगका प्रवक्ता किरणराज शर्माले गत आर्थिक वर्ष कुल पाँच हजार ९ सय ७० पदका लागि एक हजार २ सय ४ र समावेशी प्रतियोगितातर्फ एक हजार ८ सय ७ विज्ञापन खुलाइएको जानकारी दिए । त्यसमा कुल पाँच लाख ६७ हजार ८ सय ५३ दरखास्त परेको थियो ।

अघिल्लो आवभन्दा गत वर्ष दरखास्तमा ३३ प्रतिशतले कमी आएको छ । सबैभन्दा बढी दरखास्त खरिदार पदमा एक लाख ४६ हजार ४७६ छ । सबैभन्दा बढी प्रदेश नं. २ बाट कुल दरखास्तको २५ प्रतिशत छ जसमा २१–२५ वर्ष उमेर समूहका ३८ प्रतिशतले दरखास्त दिएका थिए ।

दरखास्त परेकामध्येबाट कुल सात हजार ७१८ जनालाई स्थायी नियुक्तिका लागि सिफारिस गरिएको छ जसमा दुई हजार ४६५ (३२ प्रतिशत) महिला छन् । प्रदेश २ बाट सबैभन्दा बढी २० प्रतिशत स्थायीका लागि सिफारिस भएका छन् । समावेशीतर्फ तीन हजार २४४ सिफारिस भए । गत आठ वर्षमा ४१ हजार ६८ स्थायी नियुक्तिमा सिफारिस भएका छन् । सुरक्षा निकाय तथा संगठित संस्थातर्फ तीन लाख ६९ हजार ८५७ मध्ये लिखित परीक्षामा एक लाख ५९ हजार ४२६ सहभागी थिए । आयोगका प्रवक्ता शर्माका अनुसार आयोगले त्रिवर्षीय रणनीतिक योजना कार्यान्वयनमा ल्याएको छ ।