रोएर दशैँ गुजारेका चिया-मजदूर हड्तालको तयारीमा

रोएर दशैँ गुजारेका चिया-मजदूर हड्तालको तयारीमा


– चन्द्रकला भण्डारी, भद्रपुर

नेपाल चिया विकास निगमको टोकला चिया बगानमा कार्यरत मजदूरहरुले दशैँ खर्च नपाएको बताएका छन् । मेची नगरमा रहेको सो बगानमा २६१ जना स्थायी र २०० जना ज्यालादारी मजदूर कार्यरत छन् ।

श्रम ऐन २०७४ मा चिया मजदूरहरुले एक महिनाको पारिश्रमिक बराबरको रकम चाडपर्व खर्चबापत पाउने व्यवस्था भएपनि निगम व्यवस्थापनले नदिएको भन्दै मजदूरहरुले आज बगानमै पत्रकार सम्मेलन गरी आपत्ति जनाएका छन् ।

श्रम ऐनले चिया मजदूरका लागि न्यूनतम मासिक तलब रु १० हजार ७८१ र दैनिक ज्याला रु ३८५ निर्धारण गरिदिएको छ । मजदूरहरुले ऐनमा तोकिए बमोजिमको दशैँं खर्च माग्दा निगम व्यवस्थापनले कम्पनी घाटामा गएको भन्दै नदिएको नेपाल चिया मजदूर श्रमिक सङ्घका वरिष्ठ उपाध्यक्ष मिलन राईले बताए ।

विसं २०७४ मा जारी भएको श्रम ऐनमा चिया मजदूरको चाडपर्व खर्चबारे प्रस्ट व्यवस्था भएकाले निगम व्यवस्थापनले कानूनको उल्लङ्घन गर्नुका साथै मजदूरमाथि अन्याय गरेको नेपाल कृषि तथा चिया बगान श्रमिक सङ्घ टोकला बगानका अध्यक्ष डम्बरबहादुर खत्री बताउँछन् ।

दुई पटक पत्र लेखेर माग्यौं, कयौँपटक मौखिक रुपमा भेटेर अनुरोध ग¥यौँ’, सङ्घका अध्यक्ष खत्री भन्छन्, “तर व्यवस्थापनले दिन मानेन, मजदूर साथीले यसपटकको दशैँ रोएर बिताउनुप¥यो ।”

ऐनमा तोकिएको पारिश्रमिक र दशैँ खर्च पाउनु पर्ने माग गर्दै टोकला चिया बगानका मजदूरले कात्तिक ११ गतेदेखि अनिश्चितकालीन हड्ताल गर्ने आजै घोषणा गरेका छन् ।

आजै निगम व्यवस्थापन समक्ष माग पत्र पेश गरेका मजदूरहरुको नेतृत्वदायी तीन वटा सङ्गठनले जिल्ला प्रशासन कार्यालयमार्फत नेपाल सरकारलाई समेत माग पूरा गराइदिन ध्यानाकर्षण गर्ने भएको स्थानीय मजदूर अगुवा तिलक दर्जीले जानकारी दिए ।

मागपत्रमा अखिल नेपाल चिया मजदूर सङ्घ, नेपाल चिया बगान श्रमिक सङ्घ र नेपाल कृषि तथा चिया बगान श्रमिक सङ्घका अध्यक्ष क्रमशः द्वारिका लिम्बू, रेनुका फुयाँल र डम्बरबहादुर खत्रीको हस्ताक्षर रहेको छ ।

मजदूरहरुले दशैँ खर्च नपाएको सम्बन्धमा टोकला चिया बगानका सहायक मेनेजर अजित रायको ध्यानाकर्षण गराउँदा यस विषयमा आफूले केही पनि नबोल्ने बताउनुभयो । उहाँले ज्याला र दशैँ खर्चको विषयमा निगमको केन्द्रीय कार्यालयले मात्र भन्न सक्ने बताउनुभयो । नेपाल चिया विकास निगम २०५७ सालमा निजीकरण भए पश्चात त्रिवेणी ग्रुपले सञ्चालन गर्दैआएको छ ।

तस्बिर रासस