चीनको चमत्कार : समुद्रमाथि ५५ किलोमिटर लामो पुल

चीनको चमत्कार : समुद्रमाथि ५५ किलोमिटर लामो पुल


चीनका राष्ट्रपति सी चिनफिङले विश्वको लामो ‘मेगा ब्रिज’को आज (मंगलबार) औपचारिक उद्घाटन गरेका छन् । सामुद्रिक पुलले हङकङ, मकाउ र चीन जोड्ने भएको छ । चीनका ती स्वशासित क्षेत्रहरूसँगको सम्बन्धलाई चीनले पछिल्लो समयमा कडा गरिरहेका बेला चीनले यो पुल निर्माण गरेको छ ।

समुद्रमाथि निर्मित यो पुल ५५ किलोमिटर लामो छ । चीनका राष्ट्रपति चिनफिङले मंगलबार सो पुल उद्घाटन गरेका हुन् । उद्घाटन समारोहमा मकाउ र हङकङका उच्चस्तरीय नेताहरूको पनि उपस्थिति रहेको बताइएको छ ।

एक वाक्यांशमा उद्घाटन सम्बोधन गरेका राष्ट्रपति चिनफिङले भने, ‘मैले हङकङ, जुहाई र मकाउ पुल औपरिक रूपमा खुल्ला गरेको छु । उहाँको यो घोषणासँगै उक्त पुल औपचारिक रूपमा खुला भएको छ ।

१७ अर्ब डलरको लगानीमा बनाइएको यस पुल सार्वजनिक रूपमा खुल्ला भएपछि हङकङ, चीन र मकाउबीचको व्यापारमा वृद्धि हुने तथा यात्रा सहज हुने अनुमान गरिएको छ ।

चीनका उपप्रधानमन्त्री हान जेङले यस पुलको निर्माण विकासको एक भाग भएको बताएका छन् । यस मेगा ब्रिजले हङकङ र मकाउ शहरसँग दक्षिणी चीनका नौवटा शहरलाई आर्थिकलगायतका सञ्जालसँग जोड्ने जेङले बताए ।

तर विश्लेषकहरू भन्छन्– यो पुल हङकङलाई चीनमा एकीकृत गर्ने थप एउटा बाटो हो र यसले हङकङको स्वतन्त्रताको अभियानलाई थप खुम्च्याउन सक्छ ।

चीनद्वारा निर्मित हङकङ र चीनको मुख्य भूमि जोड्ने यो दोस्रो परियोजना हो । यसअघि गत महिना चीनले हङकङलाई जोड्ने द्रुत गतिको रेल निर्माण गरी सञ्चालनमा आएको थियो ।