बस दुर्घटनामा सहचालकको मृत्यु, सुकुमायाले गरिन् आत्महत्या

बस दुर्घटनामा सहचालकको मृत्यु, सुकुमायाले गरिन् आत्महत्या


राजविराज । पूर्वपश्चिम राजमार्गअन्तर्गत सप्तरीको शम्भुनाथमा सोमबार बिहान भएको बस दुर्घटनामा सहचालकको मृत्यु हुनुका साथै आठ जना घाइते भएका छन् ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ४ ख ४४७० नम्बरको बस एकाएक अनियन्त्रित भई पूर्वपश्चिम राजमार्गअन्तर्गत सप्तरीको शम्भुनाथ नगरपालिका ७ देवधारमा दुर्घटना हुँदा बसका सहचालक काभ्रे घर भएका ४५ वर्षिय दिपक राईको मृत्यु भएको हो ।

रोडको उत्तरतर्फ अपाँच मिटर तल खसेर दुर्घटना भएको र दुर्घटनामा घाइते सहचालक राईको उपचारको क्रममा सिरहाको लहानस्थित सप्तऋषि अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

दुर्घटनामा परी घाइते भएका सुनसरी बराहक्षेत्र नगरपालिका ३ बस्ने ३१ वर्षीय सन्तोष लिम्बु, सोही ठाँउ बस्ने २७ वर्षिया विता श्रेष्ठ, बराहक्षेत्र नगरपालिका ७ बस्ने ५४ वर्षीया जानुका बास्तोला, खोटाङ्ग सतनेत गाउँपालिका १ बस्ने ३४ वर्षीया सीता राउत, सुनसरी बराहक्षेत्र नगरपालिका ६ बस्ने ३५ वर्षीय गोपाल दाहाल र उनका ३० वर्षीया श्रीमती लिला दाहाल, उनका ५ वर्षीया छोरी सिजु दाहाल र भोजपुर फतुवागढी गाउँपालिका २ बस्ने २४ वर्षीया तारा कार्कीको खर्चुहिया पोलि क्लिनिकमा उपचार भइरहेको छ ।

दुर्घटना भएको बस प्रहरीको नियन्त्रणमा रहेको र घटनाको अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता भावेश रिमालले बताएका छन् ।

यसैगरी, सोमवार मध्यान्न सप्तरीको रुपनी गाउँपालिका ८ बस्ने गिरधारी लाल साहकी २३ वर्षीया श्रीमती सुकुमाया राई आफ्नै घरको सिलिङ्ग फ्यानमा सलको पासो लागाएर झुण्डिइरहेको अवस्थामा फेला परेकी छिन । उनको आत्महत्याबारे प्रहरी घट्नास्थल पुगी अनुसन्धान गरिरहेको प्रवक्ता रिमालले जानकारी दिए ।