दुई तिहाईको दम्भका कारण संविधान कार्यान्वयन जटिल बन्दै

दुई तिहाईको दम्भका कारण संविधान कार्यान्वयन जटिल बन्दै


नेपाली काङ्ग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण मतले शान्ति र सहअस्तित्वबाट मात्र सबै खाले परिवर्तन र त्यसको दिगोपन सम्भव रहेको बताएका छन् ।

गान्धी पिस फाउन्डेसनद्वारा भारतको जोधपुरमा सोमबार आयोजना गरिएको ‘दक्षिण एसियामा सांस्कृतिक विविधता, शान्ति र न्याय’ विषयक गोष्ठीलाई सम्बोधन गर्दै सहमहामन्त्री डा. महतले भने– ‘राजनीतिक परिवर्तन र त्यसबाट प्राप्त उपलब्धिको रक्षाका लागि महात्मा गान्धीको जस्तो शान्ति, सहअस्तित्व र सबैको सम्मान गर्ने संस्कार आवश्यक छ ।’

काङ्ग्रेस नेता डा. महतले महात्मा गान्धीको यही संस्कारका कारण नै भारतजस्तो उच्च जनघनत्व भएको विशाल देशमा स्वतन्त्रता र परिवर्तन सम्भव भएको धारणा राखे । अहिंसाको सिद्धान्त तथा सादा जीवन र उच्च विचारले नै आज महात्मा गान्धी विश्वकै एक शान्तिवादी व्यक्तित्वका रुपमा सुपरिचित हुनुभएको उनको तर्क थियो ।

नेपालमा पनि चाहे माओवादीहरुको हतियारको राजनीति होस् या पञ्चायती व्यवस्थाको दमन, जस्तोसुकै भएपनि शान्तिपूर्ण जनआन्दोलनबाट मात्र ठूलो परिवर्तन सम्भव भएको स्मरण गर्दै डा. महतले भने– नेपालमा धेरै ठूला परितर्वतनका लागि नेपाली काङ्ग्रेसले नै शान्तिपूर्ण महाअभियानको नेतृत्व गरेको छ र त्यसबाट मात्र परिवर्तन सम्भव भएको इतिहास छ ।

सहमहामन्त्री डा. महतले नेपाली काङ्ग्रेसको अगुवाइमा नेपालमा गणतन्त्र र संघीयताको लागि शान्तिपूर्ण आन्दोलन भएको मात्र नभई संघीयतासहितको गणतान्त्रिक र समावेशी संविधान जारी भएको तर अहिले कम्युनिष्ट पार्टीको दुई तिहाईको दम्भ पालेको सरकारका कारण ती उपलब्धिलाई संस्थागत गर्ने काम दिन प्रतिदिन जटिल बन्दै गएको धारणा पनि राखे ।

उनले भने– ठूलो परिवर्तनलाई संस्थागत गरी त्यसलाई दिगो बनाउन गान्धीको जस्तो सबैलाई सम्मान र सहअस्तित्वको सिद्धान्ततबाट मात्र सम्भव छ, तर आज नेपालका कम्युनिष्टहरुले अरुको अस्तित्व स्वीकार नगर्ने र सहकार्यको संस्कारलाई विर्सिने गरिरहेका छन्, जसका कारण संघीयता र संविधानको कार्यान्वयनको काम दिन प्रतिदिन जटिल बन्दै गएको छ ।

उक्त गोष्ठीमा नेपाल र भारतसहित दक्षिण एसियाली देशका गान्धीवादी विचारक र व्यक्तित्वहरुका साथै भारतका विभिन्न राजनीतिक दलका नेताहरुको पनि सहभागिता रहेको थियो ।