रित्तिदै गाउँ, भरिँदै शहर

रित्तिदै गाउँ, भरिँदै शहर


विजयादशमीको टीका लगाएसँगै यतिखेर विभिन्न सेवा, पेशा र व्यवसाय सम्हाल्ने व्यक्ति फर्कन थालेपछि शून्य रहेको बजरमा चहलपहल बढेको छ ।

दशैँको टीका जमरा विजयादशमीदेखि कोजाग्रत पूर्णिमासम्म लगाउने प्रचलन भए पनि पश्चिम नेपालका कास्की, स्याङ्जा, तनहुँ लगायत जिल्लामा अधिकांशले विजयादशमीका दिन मात्र टीका लगाउने गर्दछन् ।

विजयादशमीकै दिन टीका लगाउने प्रचलनका कारण यी जिल्लामा उक्त दिन मध्यरातसम्म नै मानिसको आवजजावत हुन्छ । घरका ज्येष्ठ सदस्य र मान्यजनबाट टीका लगाई आशिर्वाद लिन यसअघि रत्तिएका गाउँबस्तीमा दशैँका बेला भने चहलपहल बढेको थियो ।

दशैँको टीका लगाएसँगै रोजगारीका सिलसिलामा आफ्नो कार्यस्थल फर्कनेहरूको यतिखेर बजारमा लर्को लागेको छ भने दुई–चार दिनका लागि भरिएका गाउँ बस्ती पुनःरित्तिन थालेका छन् । यात्रुको चापका कारण सवारीसाधनलाई यात्रु ओसार्न भ्याइ–नभ्याइ भएको छ ।

फर्कने यात्रुका कारण पोखराबाट काठमाडौँ र अन्य शहरमा जानेको चाप निकै बढेको पृथ्वीराजमार्ग बस सञ्चालक समितिका अध्यक्ष ऐनकुमार साईले जानकारी दिनुभयो ।पोखराबाट काठमाडौँ र अन्य शहरमा जाने यात्रुवाहक बस खचाखच भरिएका छन् भने टिकट लिनका लागि काउन्टरमा सर्वसाधारणको लर्को देखिन्छ ।

समितिअन्तर्गतका एक हजार ३७८ वटा सवारी साधनमध्ये दशैँ शुरु भएयता एक÷दुई दिनबाहेक दैनिक लगभग ९० प्रतिशतले यात्रु ओसारपसार गर्ने गरेको अध्यक्ष साईले बताए । विजयादशमीको भोलिपल्टै कात्तिक ३ गते मात्रै ४०० भन्दा बढी बस पोखराबाट काठमाडौँ गएको पृथ्वीराजमार्ग बस सञ्चालक समितिका महासचिव योगेन्द्रबहादुर केसीले जानकारी दिए ।

त्यस्तै कात्तिक ४ गते समितिका ८०० भन्दाबढी सवारी साधनले यात्रुलाई सेवा दिएका थिए भने आज बिहानैदेखि काठमाडौँ जाने यात्रुको अत्यधिक चाप देखिएको छ । ‘सरकारी तथा अन्य निजी कार्यालय खुले पनि कोजाग्रत पूर्णिमासम्म शैक्षिक संस्थामा पठनपाठन नभएका कारण आधाजसो फर्कने क्रममा नै छन् ।’ उनले भने, ‘कोजाग्रत र आसपासका एक÷दुई दिन यात्रुको सङ्ख्या निकै बढ्ने छ, दशैँमा आउनेको जस्तो यात्रुको चाप फर्किंदा भने केही कम हुने गरेको हाम्रो अनुभव छ ।’

विगतमा भन्दा यस वर्षको दशैँमा आपराधिक गतिविधि कम भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता रवीन्द्रमान गुरुङले बताए । टीका लगाएर फर्कनेको शहरी क्षेत्रमा निकै चाप देखिएको बताउँदै उनले लामो दूरीका बसमा विगतमा जस्तो बढी भाडा लिने गरेको गुनासो नआएको उल्लेख गरे । केही ट्याक्सीले भाडा मनपरी लिएको भन्ने गुनासो आएसँगै उनीहरूलाई नियन्त्रणमा लिएर कारवाही गरिएको उनले जानकारी दिए । –वासुदेव पौडेल