मर्केल भन्छिन्– अब अरेबियालाई हतियार बिक्री बन्द

मर्केल भन्छिन्– अब अरेबियालाई हतियार बिक्री बन्द


जर्मन चान्सलर एन्जेला मर्केलले साउदी अरब सत्ताका आलोचक पत्रकार जमाल खशोग्गीको निर्मम हत्याको सन्दर्भमा जर्मनीले साउदी अरेबियालाई तत्कालका लागि सैनिक सामग्री बिक्री नगर्ने बताएकी छिन् ।

‘सीमित मात्रामा भइरहेको सैनिक सामग्री बिक्रीका सम्बन्धमा समेत जर्मनीको आलोचना भइरहेकै थियो, अहिलेको विषम अवस्थामा साउदी अरेबियालाई हतियार बिक्री हुँदैन,’ चान्सलर मर्केलले पार्टी मुख्यालयमा पत्रकारहरूलाई बताएन् ।

जर्मन विदेशमन्त्री हेइको मासले शनिबार नै साउदी अरेबियालाई सैनिक सामग्री बिक्री नगरिने स्पष्ट गरेका थिए ।

जर्मनीले सन् २०१८ का लागि साउदी अरेबियालाई करिब ४८ करोड अमेरिकी डलरबराबरको सैनिक सामग्री बिक्री गर्न गत महिना मात्र स्वीकृति दिएको थियो । विगतमा बर्लिनले साउदीलाई सैनिक सामग्रीका रूपमा मुख्यतः प्याट्रोल बोट (गस्ती डुंगा) निकासी गर्दै आएको थियो ।

मर्केलले खशोग्गीको हत्याको कडा शब्दमा निन्दा गर्नुका साथै उक्त घटनाको विस्तृत विवरण सार्वजनिक गर्नुपर्ने बताइन् । ‘हामीले यस घटनाका सबै कुरा थाहा पाएका छैनौँ र अपराधीलाई कारबाही गरिएकै छैन,’ उनले भनिन् ।

मर्केलले यस घटनाका सम्बन्धमा सामूहिक प्रतिक्रियाका बारेमा अन्तर्राष्ट्रिय साझेदारसँग परामर्श गरिरहेको पनि बताइन् ।

जर्मनीले लेबनान मामिलामा साउदी अरेबियाले हस्तक्षेप गरेको आरोप लगाएपछि जर्मनी र साउदी अरेबियाबीचको सम्बन्धमा चिसोपन आएको थियो । दुवै मुलुकले आ–आफ्ना राजदूतहरू फिर्ता बोलाए पनि १० महिनापछि गत सेप्टेम्बरमा मात्र पुनस्र्थापित गरिएका थिए ।

खशोग्गीको हत्यापश्चात् युरोपेली साझेदारहरू बेलायत, फ्रान्स र जर्मनीसँग साउदी अरेबियाको नयाँ तर गम्भीर दरार उत्पन्न भएको छ । उनीहरूले इस्तानबुल महावाणिज्यदूतावासभित्र खशोग्गीको कसरी मृत्यु भएको हो भन्ने प्रस्ट पार्न दबाब दिइरहेका छन् ।

झन्डै १५ दिनसम्म हत्याको आरोपको खण्डन गरिरहेको साउदीले गत शनिबार मात्र खशोग्गीको अक्टोबर २ मा हत्या भएको स्वीकार गरेको थियो । तर, इस्तानबुल महावाणिज्यदूतावासमा झगडा हुँदा खशोग्गीको मृत्यु भएको साउदी अरेबियाले अविश्वसनीय भनाइ सार्वजनिक गरेको छ । विश्व समुदायले उक्त भनाइलाई अस्वीकार गर्दै खशोग्गीको शव सार्वजनिक गर्न आग्रह गर्दै आएका छन् ।