नेकपा सचिवालय बैठक आज पनि

नेकपा सचिवालय बैठक आज पनि


नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज सोमबार पनि बस्दै छ । हिजो आइतबार पनि सचिवालय बैठक बसेको थियो । पार्टी एकतालाई पूर्णता दिनेलगायतका विषयमा छलफल गर्न आज दिउँसो १ बजेका लागि बैठकको तयारी गरिएको हो ।

प्रधानमन्त्रीनिवास बालुवाटारमा बस्ने भनिएको उक्त सचिवालय बैठकमा सरकारको समीक्षा, प्रदेश कमिटीको पूर्णता, जिल्ला कमिटी गठनलगायतका विषयमा छलफल हुने बुझिएको छ । यसैगरी यही कात्तिक १२ र १३ गते बस्ने नेकपाको स्थायी कमिटी बैठकको कार्यसूचीबारे पनि बैठकमा छलफल हुने बुझिएको छ ।

हिजो बसेको सचिवालय बैठक काठमाडौं क्षेत्र नम्बर ७ बाट विजयी सांसद रामवीर मानन्धरले उक्त क्षेत्र वामदेवका लागि छोड्ने विषयमा ािर्टीमा दर्ता गराएको पत्रबारे छलफल भएको थियो । उक्त पत्रबारे सचिवालयले ‘कुनै निर्णय गर्नु नपर्ने’ निर्णय सुनाएको थियो ।

रामवीरले वामदेवका लागि सो क्षेत्र छोड्न आफू तयार भएको भन्दै पार्टीमा निवेदन दर्ता गराएपछि पार्टीभित्र र बाहिरबाटै वामदेवका बारेमा अनेक टीका–टिप्पणी सामाजिक सञ्जालका माध्यमबाट बाहिर आएपछि वामदेवको काठमाडौं ७ बाट उम्मेदवार बनेर सांसद बन्ने बाटो रोकिएको थियो ।