छुट्टाछुट्टै दुर्घटनामा परी १२ जनाको मृत्यु

छुट्टाछुट्टै दुर्घटनामा परी १२ जनाको मृत्यु


विभिन्न जिल्लामा भएका छुट्टाछुट्टै दुर्घटनामा आइतबार र शनिबार १२ जनाको मृत्यु भएको छ । नवलपरासीमा ६, रामेछापमा ३, स्याङ्जा, महोत्तरी र रुपन्देहीमा १–१ जनाको मृत्यु भएको खवर नयाँ पत्रिका दैनिकले लेखेको छ ।

नवलपरासी पूर्वमा बस दुर्घटनामा ६ को मृत्यु

नवलपरासी पूर्व मध्यबिन्दु नगरपालिका–११ बाहुनीकुनास्थित पूर्वपश्चिम राजमार्गमा आइतबार भएको दुर्घटनामा ६ जनाको मृत्यु भयो । ४३ घाइते भएका छन् । उनीहरूमध्ये ६ को अवस्था गम्भीर छ ।

बिहान ५ बजे अरुणखोलामा लु १ख ८४५४ बस दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालयका अनुसार दुर्घटनामा मोरङ सुन्दरहरैँचाका ११ वर्षीय सोहन कार्की, भोजपुर हतुवागढी–६ का २७ वर्षीय रामजित राई, जिल्ला जनस्वास्थ्य कार्यालय, नवलपरासी पश्चिममा कार्यरत सुनसरीका ३२ वर्षीय अब्दुल अन्सारी, भारत बिहारका विद्यानन्द यादव, गोरखपुरका ५५ वर्षीय दीपक पासवान र हस्तीचौरका ३५ वर्षीय तिलक विष्टको मृत्यु भएको हो । विष्टको उपचारका क्रममा र अन्यको घटनास्थलमै मृत्यु भएको नवलपरासी पूर्वका एसपी रमेश थापाले बताए ।

रामेछापमा तीनको मृत्यु

शनिबार रामेछाप नगरपालिका–२ देउरालीको खरानेटार भीरमा शनिबार साँझ बोलेरो जिप दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ । घाइते नौ यात्रुमध्ये पाँचको अवस्था गम्भीर छ ।

मन्थली नगरपालिका–४ सालुको कुकुरकाटे भञ्ज्याङबाट रामेछाप नगरपालिका–१ गोठगाउँतर्फ जाँदै गरेको ना १ज ४८१२ नं। को बोलेरो भीरबाट खसेको हो । दुर्घटनामा रामेछाप नगरपालिका–१ की ६० वर्षीया ललिमाया कार्की, उनका छोरा ४० वर्षीय दुर्गाबहादुर कार्की र चालक ४० वर्षीय हेमबहादुर खत्रीको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय, रामेछापका अनुसार रामेछाप नगरपालिका–१ का नारायण सापकोटा, शान्ता सापकोटा, निर्जला सापकोटा, निरुता सापकोटा, सार्थक सापकोटा, उषा कार्की, युनिषा कार्की र गोरे बिक घाइते भएका छन् । उनीहरूको काठमाडौंमा उपचार भइरहेको छ ।

स्याङ्जामा एकको मृत्यु, २० घाइते

आइतबार नै स्याङ्जामा भएको दुर्घटनामा एकजनाको मृत्यु भएको छ भने २० घाइते भएका छन् । लु१ज ३३८० नम्बरको बलेरो जिप गल्याङ नगरपालिका–७, धरादीमा दुर्घटना भएको हो । दुर्घटनामा गल्याङ–७ का ३२ वर्षीय रामप्रसाद भण्डारीको मृत्यु भएको छ । त्यस्तै, पृथ्वी राजमार्गमा पर्ने तनहुँको आबुखैरेनी–२ नारीघाटमा आइतबार बस पल्टिँदा २३ यात्रु घाइते भएका छन् ।

शनिबार नै महोत्तरी बर्दिबास नगरपालिका–१ स्थित पूर्व–पश्चिम राजमार्गमा ना।१ ज २९०२ नम्बरको टाटासुमो गाडीले ठक्कर दिँदा धनुषा मिथिला नगरपालिका–८ का ५० वर्षीय भैरवबहादुर बम्जनको घटनास्थलमै मृत्यु भएको छ ।

त्यस्तै, रुपन्देही ओमसतिया गाउँपालिका–५ पट्खौलीस्थित सडकमा लु १९ प २९९६ नम्बरको स्कुटर अनियन्त्रित भई लु १८ प ८४९७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ । दुर्घटनामा स्कुटरमा सवार रुपन्देही सियारीका २५ वर्षीय शिवपूजन चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।