जोरगाँस पार्दा मूर्ख्याइँको सन्दर्भ…

जोरगाँस पार्दा मूर्ख्याइँको सन्दर्भ…


– तिलक पौडेल

प्रारम्भमा कालीदासले आफू हाँगाको टुप्पातिर बसेर फेदतिर बञ्चरो चलाउँथे रे- शायद मूर्ख्याइँको पराकाष्टा ! किंवदन्तिअनुसार भोजराजाको दरबारमा मूर्खको विषयमा एक बिहान विद्वत चर्चा भएथ्यो रे । त्यसको कारण राजाकी मनपरेकी रानी आफ्नी सहेलीका साथ बगैंचामा कुराकानी गरिरहेको समयमा राजा टुपुल्किएछन् । राजालाई देखेपछि रानीले ‘धत् मूर्ख’ भनिछन् रे । तब राजा ‘खोटो मोहोर’ जस्तै फरक्क फर्केछन् । तर जता गएर जे-जसो गरे पनि रानीको ‘धत् मूर्ख !’ भन्ने शब्दले ‘शङ्खनाद’को काम गरिरहेछ । रन्थनिएको मनलाई ‘भोलि बिहानको शास्त्रार्थमा ‘मूर्ख’ विषय राख्ने’ सोचले थुम्थुम्याएछन् । त्यसैको परिणाम भोलिपल्ट यस्तो भएथ्यो रे !

खासगरेग कुनैपनि सभा समारोहमा ठूलाबडाको सवारी सबैभन्दा पछि हुने गर्दछ । हुन त जनप्रतिनिधिविहीन हाम्रो संरचना सञ्चालनताका जिल्ला सभापतिको जिम्मेवारी पाएका स्थानीय विकास अधिकारीको अध्यक्षतामा र प्रमुख जिल्ला अधिकारीको प्रमुख आतिथ्यमा आयोजना हुने कार्यक्रमहरुमा सिडिओ, एल्डिओ उपस्थित भैसके पनि सम्बन्धित जिल्लाका राजनेता – जसलाई सामान्यत: हालसम्म पनि समयको बोध हुनसकेको पाईंदैन, को प्रतिक्षामा कार्यक्रम शुरु नै हुने गर्दैनथ्यो । तर भोज राजाकहाँ भने त्यस्तो रहेनछ । स्रोताको रुपमा जनताजनार्दन पहिल्यै आएर प्राङ्गणमा बस्दथे भने भारदार, चौतारीयाहरु मञ्चमा आफ्नो लागि निर्धारित आसनमा राहाको सवारी पहिल्यै आएर बस्ने गर्दथे । तर त्यो बिहानको दृष्य भने सनातनी भन्दा फरक रह्यो । ‘भोजराजा’ पहिल्यै आएर मञ्चको अग्रभागस्थित नृपाशनमा आसनग्रहण गरिसकेछन् । राजा आइसकेको देखेर मञ्चाशीन हुने व्यक्तिहरु हतार-हतार मञ्चमा प्रवेश गर्न थाले । शुरुमै राजा सिंहाशनमा विराजमान भैसकेकाले आएका सबैले ‘दर्शन महाराज’ भनी अभिवादन गर्ने नै भए । तर राजाले कसैको अनुहारमा नहेरी ‘धत् मूर्ख’ भन्दारहेछन् । विचरो भारदारलाई राजाले आज मलाई किन ‘धत् मूर्ख’ भनिबक्स्यो ? भनेर चिन्ताले सताउँदो रहेछ । र पनि, राजासँग प्रतिवाद गर्ने कुरा पनि भएन, निराश हुँदै आफ्नो आशनमा गएर बस्दो रहेछ । पुनः अर्को भारदार आई राजाभिवादन टक्र्याउँदा उसैगरी ‘धत् मूर्ख’ भनेको सुनेपछि पहिलाकोलाई राहत महसुस हुँदोरहेछ भने नवागन्तुकलाई चिन्तित तुल्याउँदो रहेछ ।

एवं रीतले ‘सरुवा रोग’ जस्तै ‘धत् मूर्ख’को पगरी नयाँ आउनेको शिरमा गुतिएपछि पहिलाकोलाई निको भएजस्तो लाग्ने क्रम मञ्चमा पदार्पण गर्ने सबै चौतारीयासमेतमा चलिरहेछ । सबैलाई ‘मूर्ख’को संज्ञा दिंदा केही प्रतिक्रिया नै नजनाई स्वीकारेको पाउँदा राजालाई हिज्जसोको आफू जस्तै ठानिरहेका थिए भने सो व्यहोराको ‘रहस्य’ थाहा नलाग्दा स्वयं आफैं चिन्तित हुन पुगेका थिए । आउने क्रमको अन्त्यताका विद्वान बनिसकेका कालिदास मञ्चमा पुगेर सदा झैं र सबैले झैं ‘महाराज सुप्रभातम्’ भनी राजालाई अभिवादन गरेछन् । राजाले सबैलाई जस्तै ‘धत् मूर्ख’ भनेछन् । आफूलाई ‘धत् मूर्ख’ भनेको सुनेपछि कालिदासले राजाको चिन्ता दुर हुने गरी आफ्नो आशनतिर नगई माईक समाएर यसो भनेछन् रे–

खादन्न गच्छामी, हसन्न जल्पे, गतन्न सोचामी कृतन्न मन्ने ।
द्वाभ्याम् तृतीयो, नभवामी राजन ! किंकारणो भोज भवामी मूर्खो ।।

भावार्थ– खाँदै हिंडेको छैन, हाँस्तै जल पिएको वा कुरा गरेको छैन, पश्चातापमा पिरोलिने गरी गएको कुरा सोचेको छैन, कसैको प्रशंसा उसैका सामु वा आफ्नो प्रशंसा आफैं गरेको छैन, दुईजना मात्र भएको ठाउँमा तेस्रो हुन गएको पनि छैन भने हे भोजराजा ! म के कारणले मूर्ख भएँ ?

हुन पनि हामीहरु हिँडिइने सबै ठाउँहरु स्वच्छ नहुन सक्ने हुँदा हिँड्दा लगाइएका कपडाहरु फेरेर सूचीनिची गरेर खाना खानु उपयुक्त मानिन्छ र हुन्छ पनि । यो मानेमा खाँदै हिंड्नु भनेको खानामा फोहोर किटाणु मिसाउनु सरह हो, जसबाट रोग निम्तिनुमा सन्देह छैन । तसर्थ खाँदै हिंड्नुलाई मूर्ख मानिंदो रहेछ ।

त्यस्तै हाँस्दै पानी पियो भने सर्को पर्न सक्छ । पानीको गल लागेर वा सर्को परेर मृत्युसम्म भएका खबरहरु सुनिएकै छ । फेरि ‘जल्पे’ भनेको कुरा गर्नु पनि हो भनिएको छ । यो अर्थमा नियाल्दा पनि कोही वक्ता आफैं हाँसेर बोल्यो भने उसले सुनाउन खोजिरहेको व्यहोरा मनमन भनिरहेको भएपनि प्रस्फुटित आवाजमा हाँसोको लय मिसिंदा स्रोताले कुराको चुरो बुझ्न सकिरहेका हुँदैनन् । त्यसकारण पानी पिउँदा होस् वा कुरा गर्दा हाँस्नु बुद्धिमानी रहेनछ अर्थात् मूर्ख भईंदो रहेछ ।

गएको समयको त्रुटीलाई सम्झी-सम्झी चिन्ताग्रस्त हुनु पनि मूर्खै हुनु हो । केही गल्तीबाट पाठ सिकेर बिरामलाई पुनः दोहोरिन नदिनु पो बुद्धिमानी हो त ! तर त्यसैको पश्चातापमा पिरोलिइरहनु वास्तवमा मूर्खै हुनु रहेछ ।

त्यसैगरी गएको समयको त्रुटीलाई सम्झी-सम्झी चिन्ताग्रस्त हुनु पनि मूर्खै हुनु हो । किनभने समय र पानीको बहावले कसैलाई र कहिल्यै पर्खंदैन भनिन्छ । हुनपनि क्षण बितेपछि बित्यो-बित्यो, फर्कनेवाला छैन । अनि केही गल्ती भैहालेछ भने त्यसबाट पाठ सिकेर बिरामलाई पुनः दोहोरिन नदिनु पो बुद्धिमानी हो त ! तर त्यसैको पश्चातापमा पिरोलिइरहनु वास्तवमा मूर्खै हुनु रहेछ ।

अर्को व्यहोरा फेरि, कसैलाई हुँदानहुँदा फुर्का जोडेर प्रशंसा गरिदिनु क्षणिक आनन्दको प्रसङ्ग भएपनि अन्ततः उही ‘फलाना ठामको मूला’ भने झैँ नपाएको प्रशंसाले समाजमा अहित ठहरिएका कार्यहरु दोहोर्‍याउने त हुँदैन रु सोच्नुपर्ने हुन आउँछ । यदि कसैलाई अनुचित प्रशंसा गर्दा सामाजिक मर्यादा विपरीत हुनजान्छ भने त्यो मूर्ख्याइँ नै हो । भनिन्छ सच्चा मित्र भनेको त एकान्तमा आफूबाट भएका गल्तीहरु औंल्याइदिएर सँच्चिने सुझावसहितको अवसर दिने मित्र हो । यसमानेमा कसैलाई उल्क्याई दिनु मूर्ख हुनु हो । फेरि ‘कृतन्नमन्ने’ भनेको आफ्नो प्रशंसा आफैं गर्नु पनि हो भनिएको छ । यो अर्थमा पनि आफूले गर्दै नगरेको काम गरें भनी ‘फुइँ लडाउने’ बानीले कुनैदिन तथ्य प्रकाशमा आउँदा सबैसामु नतमस्तक हुँदै ‘रातोमुख’ लगाउन पर्नु जस्तो ‘लाजमर्दो’ अवस्था अरु हुँदैन, जुन आफैंमा मूर्खको परिचायक हो ।

त्यस्तै दुईजना मात्रको बीचमा गोप्य कुराहरु भैरहेका हुनसक्छन् । तसर्थ दुईजना मात्रै भएको ठाउँमा जानै पर्ने भयो भने ‘गोप्य प्रसङ्ग त चल्याछैन ?’, ‘हैन म त सरासर आउने धृष्टता गरें नि !’, ‘क्रमभङ्गको इजाजत पाऊँ है हजुर’ जस्ता पूर्वस्वीकृतिसूचक अभिव्यक्तिसँग मात्र प्रवेशिनुलाई उपयुक्त मानिन्छ । यो मानेमा भला ठूलै मान्छे किन नहोस्, दुईजना मात्र भएको ठाउँमा चियोचर्चो गर्छ, बिनासूचना साख्खालिन्छ वा स्वीकृतिबेगर जान्छ भने त्यसलाई मूर्ख मानिन्छ । त्यसकारण दुईजना भएको ठाउँमा तेस्रो बन्न जानु मूर्ख्याइँ हो ।

उपर्युल्लिखित कुनै व्यहोरा मबाट भएका छैनन् भने म के कारणले मूर्ख भएँ महाराज ? भनेर कालिदासले भनेपछि भोजराजालाई आफूले आज्जसो रानी र उनकी सहेलीमात्र भएर कुराकानी गरिरहेको ठाउँमा बिनाइजाजत गएकाले मेरी प्रियले ‘धत् मूर्ख’ भनेकी रहिछन् भन्ने चेतना भएथ्यो रे ! यो व्यहोरा वर्तमानका हामीहरुबीच पनि लागू गर्दा उपयुक्तै हुनेछ ।

मूर्ख्याईं ‘नियोकर्टेक्स ब्रेन’ भएका मानवहरुको मस्तैष्किक विकृत सिर्जना हो, यसलाई सपार्न विवेककै खाँचो देखिन्छ । आधुनिक समाजमा सभ्यताले बास पाउनै पर्दछ ।

प्रसङ्गवश गुणरत्नमालामा जगन्नाथ गुरागाञीले मूर्खलाई रिझाउन ज्यानै दिन्छु भने पनि सकिंदैन, बरु बालुवालाई खुव बल गरेर पेल्ने हो भने तेल आउन सक्ला, तिर्खाले आत्तिएको बेलामा चर्का घाममा बस्ने हो भने वरु प्यास मेटाउन सकिएला, संसारमा खोजी गर्ने हो भने बरु मुसाको सिङ मिल्न सक्ला तर मूर्खलाई ‘हो त नि !’ भन्ने बनाउन ज्यान गए सकिंदैन भन्ने व्यहोरा निम्नानुसार उल्लेख गर्नुभएको छ-

बालुवा बरु तेल खुब बलले, पेले कतै आउला ।
चर्का घाम चुसी-चुसी कनबरु, पियास मेटिएला ।।
मुसाको सिङ मिलला बरु कतै, संसार खोजी गरे ।
प्राणै देऊ परन्तु मूर्ख कहिल्यै, रिझ्दैन केही गरे ?।

त्यसैगरी गोहीको मुखमा परेको मान्छे बरु निस्कन सक्ला, सागरको पानी माथि-माथि दौडेर बरु सागर वारपार गर्न सकिएला, सर्पलाई जिस्काएर शिरमा राख्न पनि बरु सकिएला तर मूर्खको मनलाई सम्झाउन भने कसै सकिंदैन भन्ने भावनालाई कविवरले यसरी उल्लेख गर्नुभएको पाइन्छ-

गोहीको मुखमा पसिकन कोही, सक्ला बरु निस्कन ।
पानी माथि कुदेर सागर कोही, सक्ला बरु पार हुन ।।
जिस्काई कन सर्प राख्न शिरमा, सक्ला बरु कोई जन ।
सक्ने छैन परन्तु मूर्ख नरको, मनलाई सम्झाउन ।।

यस्तो किन भयो होला त ? भन्ने विषयमा गुरागाञी महोदयका अनुसार आगाको औषधि जल हो, घामको औषधि छाता हो, शीतको औषधि लुगा हो भने हात्तीलाई माहुतेले अङ्कुशको सहाराले वशमा ल्याउँछ अर्थात् चञ्चले हात्तीको औषधि भनेको तिखो अङ्कुसो हो । त्यसैगरी भैंसी, गधा, गोरु वर्गका जनावरहरुलाई मनचिन्ते बनाउन लहुरोको सहायताले सकिने हुनाले यसलाई ती जनावरहरुको औषधिको रुपमा लिन सकिन्छ । गर्मीले आत्तिएको बेलामा जल अथवा वायुले आराम दिने हुँदा जल, वायुलाई गर्मीको औषधि भन्न सकिन्छ भने विष लागेकोमा मन्त्रले विष झार्ने भएकोले मन्त्रलाई विषको औषधि मान्न सकिन्छ । त्यस्तै अँध्यारोको औषधि भनेको बत्ती हो तर मूर्खको औषधि यो धर्तीमा पाइँदैन, किनभने सृष्टिकर्ताले सबै चिजको औषधिको रचना गर्नुभयो तर मूर्खको औषधि बनाउन बिर्सनु भएकोछ भन्ने आशय निम्नानुसार उल्लेख गर्नुभएको छ-

आगाको जल घामको छहारी औ, छाता लुगा शितको ।
तीखो अङ्कुस हात्तिको र लहुरो, भैंसी गधा गोरुको ।।
गर्मीको जल वायु मन्त्र विषको, बत्ती अँधियारको ।
सब्को औषधि दैवले रचिदियो, बिर्सेछ कि मूर्खको !!

यसरी त्यस्ता प्रकृतिका कर्म गर्ने हो भने मूर्ख भइन्छ र मूर्खहरुलाई सम्झाउनरबुझाउन सकिंदैन साथै सबैको रचना गर्ने सृष्टिकर्ताले मूर्खको औषधि रचना गर्न बिर्सेको जस्तो व्यहोरा उल्लिखित प्रसङ्गबाट स्पष्ट हुन आउँछ । हुन पनि ‘मूर्खदेखी दैव डरा’ भन्ने उखानै छ ।

एकपटक एकजना विद्वान् वाचक शिरोमणि भागवत वाचन गरी घर फर्कंदै गर्दा बीच बाटोमा हातमा छडी लिएको मूर्खसँग भेट भएछ रे ! परिचयको क्रममा एकजना महामूर्ख र अर्को पण्डित याने विद्वान भएको जानकारी भयो । अनि मूर्खले आफ्नो हातको छडी घुमाउँदै पण्डित महोदयलाई ‘लौ पण्डित भएको जान्ने मान्छे ! मैले यो छडीले कहाँ हान्छु ? भन’ भनेर सोधेछ । पण्डितजीले आफ्नो टोपी फुकालेर तालु देखाउँदै ‘हजुरले त्यो छडीले यहाँ हान्नुहुन्छ’ भनेछन् । मूर्ख मनुवाले छडीले भूईँमा हानेर पण्डितलाई भनेछ रे ‘तँ जान्ने गुरु भएकाले के जानिस् त ?!’ तव पण्डित गुरुवरले ‘तपाईं मभन्दा पनि जान्ने भएकोले मेरो पनि गुरु हुनुभयो’ भनी ‘भोलिको पुराण वाचन म गर्नेछु र तपाईं व्यासासनको छेउमा मेरो गुरु बनेर रहनुहुनेछु भनेछन् । जुँघेमुठे मूर्ख मख्ख परी भोलिपल्ट पण्डितजीको साथ लागेछ । वाचन कार्यको समापन पछि टिका लगाउने बेलामा यजमानले नयाँ तर व्यासासनमा बसेका व्यक्तिको परिचय मागेछन् । पण्डितले ‘मेरो गुरु’ भनेपछि सबैले उसको हातबाट पनि टीका ग्रहण गरी सम्झना स्वरुप एकुन्टा जुँघा लिने भनी सबै यजमानले जुँघा उखेल्दा बल्ल मूर्खले ‘तोरीफूल’ देखेथ्यो रे ! भनिन्छ । जेहोस् मूर्ख्याईं ‘नियोकर्टेक्स ब्रेन’ भएका मानवहरुको मस्तैष्किक विकृत सिर्जना हो, यसलाई सपार्न विवेककै खाँचो देखिन्छ । आधुनिक समाजमा सभ्यताले बास पाउनै पर्दछ ।

सके सपारौं, नसके नबिगारौं…