‘बङ्गलापिता’को पुस्तक नेपाली भाषामा

‘बङ्गलापिता’को पुस्तक नेपाली भाषामा


बङ्गलादेशका राष्ट्रपिता शेख मुजिबुर रहमानद्वारा लिखित ‘द अनफिनिस्ड मेम्वायर्स’ (ती अधुरा संस्मरणहरू) नामक पुस्तकलाई नेपाल प्रज्ञा–प्रतिष्ठानले नेपाली भाषामा अनुवाद गरी प्रकाशित गरेको छ । बङ्गलादेश राष्ट्रका रुपमा स्थापित हुनुभन्दा अगाडिका विषयवस्तु तथा सन् १९७१ का राजनीतिक घटनाक्रमका सेरोफेरोमा केन्द्रित उक्त पुस्तक हालै राजधानीमा बङ्गलादेश राजदूतावासद्वारा आयोजित एक समारोहबीच परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले विमोचन गरेका हुन् । कार्यक्रममा बोल्दै मन्त्री ज्ञवालीले बङ्गलापिता रहमानको पुस्तकले धेरै कुराको ज्ञान दिने बताए ।

रहमानले आफ्ना सङ्घर्षमय जीवनका पूर्वाधारका गाथाहरूलाई टिपोट गरी राखेको र त्यसलाई हाल बङ्गलादेशकी प्रधानमन्त्री तथा रहमानपुत्री शेख हसिना वाजेदको तत्परतामा पुस्तक प्रकाशित गरिएको उल्लेख गर्दै नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले अङ्ग्रेजी भाषाबाट नेपालीमा अनुवाद गरी प्रकाशित गरिएको जानकारी दिए । कुलपति उप्रेतीले अनुदित तथा प्रकाशित पुस्तकको अनुवादमार्फत् नेपाल–बङ्गलादेश सांस्कृतिक एवम् साहित्यिक आदानप्रदान गर्ने पहिलो प्रयास भएको र यस कार्यले निरन्तरता पाउँदै जाने बताए ।

नेपालका लागि बङ्गलादेशकी राजदूत मास्फी बिन्ते शाम्सले रहमानको उक्त पुस्तक सन् २०१२ मा पहिलोपटक बङ्गलाभाषामा प्रकाशित भएको उल्लेख गर्दै त्यसपछि अङ्ग्रेजी, वाइकिङ, उर्दूपछि नेपाली भाषामा अनूदित गरी प्रकाशित भएको र विश्वका लाखौँ पाठकले अत्यन्त रुचिपूर्वक ‘द अनफिनिस्ड मेम्वायर्स’ (ती अधुरा संस्मरणहरू) पढ्ने गरेको बताइन् । सन् १९४७ मा भारतबाट पाकिस्तान तथा सन् १९७१ मा पाकिस्तानबाट बङ्गलादेश अलग भएका थिए ।

कार्यक्रममा सार्कका महासचिव तथा परराष्ट्र मन्त्रालयका सचिव अर्जुनबहादुर थापा र भुवन ढुङ्गानाले पनि मन्तव्य दिएका थिए । पुस्तकको अनुवाद अर्जुनबहादुर थापा र महेश पौड्यालले गरेका हुन् । पुस्तकमा प्राक्कथन, शेख मुजिबुर रहमानको जीवनी, राजनीतिक पृष्ठभूमि, अधुरा संस्मरणहरू, टिपोटहरूका साथै जीवनका टिपोटहरू समाविष्ट छन् ।