सिड्नीमा मन जित्दै छक्का पन्जा-३

सिड्नीमा मन जित्दै छक्का पन्जा-३


राजन घिमिरे, अष्ट्रेलिया

नेपालजस्तै चलचित्र छक्कापन्जा-३ ले प्रवासमा रहेका नेपाली चलचित्रप्रेमी दर्शकमाझ पनि आफ्नो उपस्थिति दह्रो बनाएको छ । हास्यरसमा निर्माण भएको यो चलचित्रको हास्यसँगै सामाजिक ब्यंग्यलाई पनि दर्शकद्वारा मनपराइएको पाइएको छ । यो चलचित्रले ब्यवसायिक पक्षको आफ्नो यात्रालाई सफलताका साथ अगाडि बढाइरहेको छ ।

यसैबीच अष्ट्रेलियामा अहिलेसम्मकै सर्वाधिक रकममा बिक्री भएको चलचित्र छक्का पन्जा-३ ले आफ्नो त्यो साखलाई यथावत राख्दै प्रदर्शनको यात्रालाई पनि सफलताका साथ अगाडि बढाइरहेको छ । ओएशिस एजुकेशनको प्रस्तुतिमा कमेरो इभेन्टस र रगडेल ब्वायजले यो चलचित्रलाई अष्ट्रेलिया भित्र्याएको हो । आइतबारसम्म यो चलचित्रको सिड्नीमा मात्र ९ शो भैसकेको छ भने भोलि सोमबार पनि शो राखिएको छ । यही अनुसार माग बढ्दै जाने हो भने अन्य शोहरू पनि थपिने आयोजकहरूको भनाई छ ।

हिन्दुहरूको महान चाड दशैको अवसरमा अष्ट्रेलियामा रहेका आफ्ना परिवारलाई भेट्न आएका अभिभावकहरूको पनि यो चलचित्र हेर्न सिड्नीमा बाक्लै उपस्थिति देखियो । दीपाश्रीको निर्देशनमा नेपाली कलाकारिता क्षेत्रमा खारिएका कलाकारहरूको बेजोड अभिनय र उपस्थिति अन्ततः दर्शकहरूको मन जित्ने कडी साबित भएको छ ।