अलैंचीले रोक्यो युवा पलायन

अलैंचीले रोक्यो युवा पलायन


–छविलाल बगाले
एक ताका रोजगारीको शिलशिलामा विदेश गएका युवा अनि तिनका परिवारको शहर बस्ने मोहका कारण लमजुङका दर्जन बढि गुरुङ अनि तामाङ बस्तीहरु सुनसान जस्तै बनेका थिए । गाउँका केही बृद्धहरुले त्यसै खेर गएका पाखा पखेरामा अलैंची लगाएर मनग्ये आम्दानी लिन थालेपछि विदेश गएका युवा र शहर पसेका तिनका परिवार पुनः गाउँ फर्किएका छन् । युवाबिहिन बनेको तिनै गाउँहरु अहिले युवाहरुले भरिएका छन् ।

घरको आर्थिक अवस्था ज्यादै न्युन भएर रोजगारीको सिलसिलामा मस्र्याङ्दी गाउँपालिका अन्तर्गतको छिनखोला गाउँका बलराम लामा ५ बर्षसम्म मलेसिया बसे । विदेशमा ५ बर्षसम्म पसिना बगाएर काम गरेका उनले घर फर्कने बेलामा रित्तो हात फर्कनुप¥यो । विदेशमा जति दुख गरेपनि पैसा कमाउन नसकेपछि आफ्नै गाउँमा फर्किएका बलरामले ७ बर्षको अवधीमा २० लाख कमाइसकेका छन् । उनले पाती उम्रने पाखा पखेरामा अलैंची लगाएर गाउँमै बसीबसी मनग्य आम्दानी लिन थालेका छन् ।

बलराम मात्रै होइन् । छिनखोलाकै अजय तामाङको पनि त्यही समस्या थियो । अजयले दुवइ र साउदीमा निकै हण्डर खाए तर सोचे अनुरुपको पैसा कमाउन सकेनन् । रोजगारीका लागि सात समुन्द्रपारि पुगेका उनी बिचैमा विदेशबाट फर्किएर गाउँमा अलैंची लगाउन शुरु गरे । अजयले अहिले बार्षिक ८ देखि १० लाख कमाउँछन् । उनले गाउँमा मात्रै नभई छिमेकी गाउँहरु लुदी, भुष्मे, खाँचे, खुदी, बन्सार, पसगाउँ, भोंजेमा बस्ने युवाहरुलाई पनि सँगसँगै लिएर अलैंची खेतीमा तल्लिन बनाएका छन् ।

अलैंची ब्यवसायी महासंघ लमजुङको अध्यक्ष समेत बनेका अजयले अलैंचीको नर्सरी स्थापना गरेर जिल्ला भित्र र बाहिरका किसानहरुलाई बेर्ना बिक्रि बितरण गर्दै आइरहेका छन् ।

लमजुङका विभिन्न गाविसमा उत्पादन भएको अलैंचीले मुलुककै उत्कृष्टता समेत पाएको छ । कालो सनको उपमा पाएको यो अलैंचीले जिल्लाका गरिब युवाहरुको आयआर्जनमा निकै टेवा पु¥याएको छ ।

जिल्लाको ताराचोकका अन्नबहादुर अधिकारीले विदेशमा बगाएको पसिनाले आफ्नो जीवनमा कुनै परिवर्तन नआएको र गाउँमा फर्किएपछि अलैंचीले कायापलट गरिदिएको बताए । आँफु विदेश रहँदा गाउँलेहरुले अलैंची खेतीबाट राम्रो आम्दानी गरेको सुनेपछि घर फर्किएको उनि बताउँछन् ।

खेतबारीमा कोदो मकैं मात्रै फल्ने हुनाले जिविकोपार्जनमा समस्या आएपछि बिस्थापित भएका यहाँका सामान्य घर परिवारले पनि थोरैमा ५–६ लाख रुपैंयाँ कमाउन थालेपछि बसाई सरेर गएकाहरु पुनः गाउँमा फर्कन थालेका छन् । आँफु परिवार पाल्न धौं धौं परेर गाउँबाट शहर पसेपनि केही गर्न नसकेको बताउँछन् छिनखोलाका अलैंची कृषक सुलबहादुर तामाङ । गाउँमा अलैंची खेतीको शुरुवात भएपछि पुनः गाउँ र्फिर्कएर बारीमा अलैंची लगाएको तामाङको भनाई छ । उनले अहिले अलैंची बेचेर बार्षिक ५ लाख रुपैंयाँ कमाएका छन् ।

कुनैबेला सुनसान जस्तै देखिने गुरुङ अनि तामाङ बस्तीहरु युवाहरुले भरिएका छन् । उनिहरु आँफुलाई फुर्सद हुने बित्तिकै अलेंचीको स्याहार सुसारमा खटिने गर्दछन् । जंगलका अलैंची बगानदेखि गाउँका अलैंची सुकाउने भट्टीसम्म कृषकको भीड लाग्ने गर्दछ । छिनखोलामा ५२ घर छन् । अहिले सवै घरमा मानिसको बसोवास छ । विकट ठाउँ भएकाले शिक्षा, स्वास्थ्य लगायत विकासको अभावमा बसाइँसराई हुँदा गाउँ रित्तिएको थियो ।

जिल्लामा साविकका ३६ गाविसमा गरिएको अलैंची खेतीबाट अघिल्लो बर्ष मात्रै ८ सय २१ क्विन्टल अलैंची उत्पादन भएको थियो भने अलैंची बिक्रीबाट किसानले १३ करोड आम्दानी गरेका थिए ।