उर्जामन्त्री पुनको चीन भ्रमणः जलविद्युत आयोजना र प्रसारण लाइन अघि बढाउनेमा केन्द्रित

उर्जामन्त्री पुनको चीन भ्रमणः जलविद्युत आयोजना र प्रसारण लाइन अघि बढाउनेमा केन्द्रित


उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुनको चीन भ्रमण पुरा भएको छ । मन्त्री पुनको साताव्यापी भमण नेपालको उर्जा विकासका लागि महत्वपूर्ण सावित भएको छ ।

चीनले अघि सारेको ‘वान वेल्ट वान रोड’ को उर्जामन्त्रीस्तरीय बैठकमा भाग लिन चीनको सुजोओ पुगेका मन्त्री पुनसंग शुक्रवार चिनियाँ उपमन्त्री लियाङ्ग विलियाङ्गबीच भेटवार्ता भएको छ । भेटका क्रममा नेपालको जलविद्युत आयोजना निर्माण र आवश्यक प्रसारण लाइनको विकासका लागि छलफल भएको छ । लियाङ्ग चीनको विकास र सुधार हेर्ने विभागका उपमन्त्री हुन । उनी त्यसका साथै चीनको वित्तिय क्षेत्रको समन्वय गर्ने विभागका प्रमुख समेत हुन् ।

भेटवार्तामा आपसी हित र उर्जाको क्षेत्रमा दुई देशको बीचमा गर्न सकिने सहकार्यका बारेमा समेत छलफल भएको थियो ।

द्धिपक्षीय भेटवार्तामा मन्त्री पुनले नेपाल र चीनबीच निकै पुरानो सम्बन्ध रहेको चर्चा गर्दै आगामी दिनमा समेत दुवै देशको सम्बन्ध मजवुत बन्ने धारणा राखे । नेपालमा लामो समयपछि दुई तिहाईको सरकार बनेको भन्दै उनले त्यसमा चीनको सहयोग र सद्भावको आवश्यकता रहेको बताए ।

मन्त्री पुनले चिनियाँ उपमन्त्रीसंग प्रधानमन्त्री केपी शर्मा ओलीको गत जुनमा भएको भ्रमणको बेला इनर्जी कोअपरेशनमा भएको सम्झौता ऐतिहासिक भएको भन्दै आगामी दिनमा त्यसमार्फत सहकार्य गर्न सहज हुने धारणा राखे । ‘गत महिना बंगलादेशसंग समेत इनर्जी कोअपरेशनमा सम्झौता भइसकेको छ ।’ उनले भने, ‘त्यसले क्षेत्रीय बजार विस्तारमा सहयोग पुग्नेछ ।’ उनले बंगलादेशले नेपालमा उत्पादन भएको विजुली खरिद गर्न इच्छा व्यक्त गरेको जानकारी समेत दिए ।

मन्त्री पुनले गत सेप्टेम्बरमा नेपाल र चीनबीच बनेको उर्जा संयन्त्रको पहिलो बैठक बसिसकेको जानकारी दिंदै दोस्रो वैठकको मिति समेत छिट्टै तय गर्न आग्रह गर्नुभयो । संयन्त्रको पहिलो बैठक आफैमा ऐतिहासिक बनेको भन्दै त्यसमार्फत दुवै देशले उर्जा क्षेत्रमा सहकार्य गर्न सजिलो हुने मन्त्री पुनको धारणा थियो ।

वैठकमा नेपाल चीनबीच अघि बढेको अन्तरदेशिय प्रशारण लाइन र जलविद्युत परियोजनाहरुको बारेमा छलफल भएको थियो । मन्त्री पुनले ४ सय केभीको काठमाडौं–केरुङ अन्तरदेशिय प्रशारण लाइन, कोशी, कर्णाली र भेरी कोरीडोर, किमाथांका, फुक्कोट कर्णाली र तमोर जलविद्युत परियोजना नेपालको प्राथमिकतामा रहेको भन्दै उनले त्यसमा चीन सरकारको सहयोग आवश्यक रहेको धारणा राखे । उक्त परियोजना सरकारले चीनसमक्ष यसअघि नै प्रस्ताव गरिसकेको छ ।

छलफलमा सफ्ट लोन, कमर्सियल लोन र विआरआई फण्डमार्फत गर्न सकिने लगानीका सम्भावनाका बारेमा समेत छलफल भएको थियो । नेकपाका नेता समेत रहेका मन्त्री पुनले नेपालमा चिनियाँ लगानी दिन प्रतिदिन बढिरहेको जानकारी दिंदै आगामी दिनमा समेत लगानीको वातावरण बनाइदिन आग्रह गरे ।

भेटमा चिनियाँ मन्त्री लियानले नेपालसंग भएको इनर्जी कोअपरेशनको समझदारी कार्यान्वयन गर्ने चरणमा रहेको जानकारी दिए । उनले नेपालमा चिनियां कम्पनीहरुले उर्जा क्षेत्रमा लगानी गरिरहेको भन्दै आगामी दिनमा समेत लगानी थप विस्तार हुने प्रतिवद्धता व्यक्त गरे । ‘हामीलाई चीनमा थप उर्जा समेत आवश्यक छ, नेपालमा हाम्रा कम्पनीहरुले व्यवसायिक रुपले लगानी गरिरहेका छन, आगामी दिनमा थप चिनियां कम्पनीहरुले नेपालमा लगानी गर्नेछन् ।’ उपमन्त्री लियानले भने ।

मन्त्री लियानले भेटमा नेपाल चीनबीच बनेको उर्जा संयन्त्रको पहिलो बैठक ऐतिहासिक भएको भन्दै त्यसका लागि पहल गरेकोमा उर्जामन्त्री पुनलाई धन्यवाद व्यक्त गरे ।