जमाल खाशोग्गीको मृत्यु भएको साउदी अरेबियाद्वारा पुष्टि

जमाल खाशोग्गीको मृत्यु भएको साउदी अरेबियाद्वारा पुष्टि


साउदी अरेबियाले १८ दिनदेखि बेपत्ता पत्रकार जमाल खाशोग्गीको अन्ततः मृत्यु भएको पुष्टि गरेको छ । बेपत्ता पत्रकार खाशोग्गीको सम्बन्धमा साउदीका राजा सलमानले टर्कीका राष्ट्रपति रिसेप तैयप एर्डोगानसँग टेलिफोनमा कुराकानी गरेको केहीबेरमै साउदी टेलिभिजनले उनको मृत्यु भएको समाचार प्रसारित गरेपछि यसको पुष्टि भएको हो ।

पत्रकार खाशोग्गीको टर्कीको स्थानबुलस्थित कन्सुलर कार्यालयमा भएको झडपको क्रममा मृत्यु भएको साउदी अरेबियाको राष्ट्रिय टेलिभिजनले जनाएको हो ।

२ अक्टोबरदेखि बेपत्ता पत्रकार खाशोग्गी अमेरिकी पत्रिका द वासिंगटनसँग आबद्ध थिए । उनको हत्यामा संलग्न रहेको पुष्टि भएपछि साउदी अरेबियाको गुप्तचर निकायका उपप्रमुख अहमद अल असिरी र क्राउन प्रिन्स मोहम्मद बिन सलमानका वरिष्ठ सल्लाहकार साउद अल क्वातनीलाई पनि बर्खास्त गरिएको साउदी टीभीले प्रसारण गरेको समाचारमा उल्लेख छ ।

यसअघि उनको बारेमा केही जानकारी नभएको बताउँदै आएको साउदीले उनको मृत्यु भएको पुष्टि गर्नु र घटनामा दोषी देखिएकालाई बर्खास्त गरिएको समाचारलाई अमेरिकाले स्वागत गर्नुका साथै यसपछि खाशोग्गी घटनाका सम्बन्धमा हुने सबै अनुसन्धानलाई पनि निगरानी गर्ने जनाएको छ ।