तालिवानद्वारा कान्दाहार प्रहरी प्रमुखको हत्या

तालिवानद्वारा कान्दाहार प्रहरी प्रमुखको हत्या


अफगानिस्तानमा हत्या, हिंसा चलाइरहेका तालिवानले अफगानिस्तानको कान्दाहार प्रान्तका प्रान्तीय प्रहरी प्रमुखको हत्या गरेका छन् ।

उनीहरूले निकै शक्तिशाली र ठूलो हातहतियारले सुसज्जित प्रहरी प्रमुखको कार्यालयमा नै उनीहरूले आक्रमण गरेका थिए । त्यस आक्रमणमा परी कान्दाहारका प्रहरी प्रमुख जनरल अब्दुल राजिकको हत्या गरेका हुन् ।

त्यस आक्रमणमा परी अरू दुईजना प्रहरी अधिकृत पनि मारिएका छन् । उनीहरूको भने परिचय खुलाइएको छैन । बिहीबार बिहानै ठूलो संख्याका तालिवानले निकै शक्तिशाली हतियार प्रयोग गरेर कान्दाहारको प्रहरी मुख्यालयमै आक्रमण गरेका थिए । उनीहरूले जनरल राजिकसहित अफगानिस्तानका अमेरिकी सैनिक कमाण्डरलाई पनि तारो बनाएका थिए ।

तर, अमेरिकी सेनाका अफगान कमाण्डर जनरल स्कट मिलर भने सकुशल रहेका छन् । उनले नै प्रहरी प्रमुख राजिकको हत्या भएको पुष्टि गरेका छन् ।

उनले भने– आज अफगानिस्तानका नागरिकले एकजना सच्चा अफगान नागरिक गुमाएका छन्, हामी पनि सँगै निकै लामो समयदेखि काम ग¥यौँ, जनरल राजिक एक सशक्त प्रहरी कमाण्डर थिए ।

अफगानिस्तानका तालिवानसँग अमेरिकाले शान्तिवार्ताको प्रसंग चलाएको थियो । तैपनि यो पछिल्लो हत्याको शृंखलाले शान्तिवार्ताको प्रसंगलाई छायामा पारिदिने विश्लेषकहरू बताउँछन् ।

त्यसैगरी अफगानिस्तानमा हुन गइरहेको आमनिर्वाचनका लागि आवश्यक सुरक्षा व्यवस्थामा पनि यो आक्रमणले ठूलो चुनौती थपिएको जानकारी पनि दिइएको छ । कान्दाहारका प्रहरी प्रमुख राजिक तालिवानविरुद्धको कारबाहीका क्रममा एकजना सफल कमाण्डर मानिन्थे । उनको हत्याले कान्दाहारमा सुरक्षाको अवस्था निकै चुनौतीपूर्ण रहेको बताइएको छ ।

अफगानिस्तानको दक्षिणी प्रान्त कान्दाहार तालिवानको बढी नै प्रभाव रहेको क्षेत्र मानिन्छ । त्यसैले पनि यस क्षेत्रको प्रहरी मुख्यालयमै गरिएको आक्रमणले थप सुरक्षा चुनौती थपेको बताइएको हो । यस हत्याको जिम्मेवारी तालिवान संगठनले लिएको छ । प्रहरी प्रमुख राजिक तालिबानका विरुद्धमा निकै कठोर रहेकोले हत्या गरिएको उनीहरूले बताएका छन् ।