प्रधानमन्त्री भन्छन्- आगामी बजेटमा ज्येष्ठ नागरिकको भत्ता बढाउँछु

प्रधानमन्त्री भन्छन्- आगामी बजेटमा ज्येष्ठ नागरिकको भत्ता बढाउँछु


प्रधानमन्त्री केपी शर्मा ओलीको भनाइमा विश्वास गर्ने हो भने आगामी बजेटबाट ज्येष्ठ नागरिकको भत्ता बढ्ने भएको छ ।

प्रधानमन्त्री ओलीले आफ्नो नेतृत्वमा सरकार गठन हुँदा मुलुकको ढुकुटी रित्तो अवस्थामा रहेका कारण चालू वर्षमा ज्येष्ठ नागरिक भत्ता बढाउन नसकेको बताए ।

दशैँका अवसरमा नेकपा झापा जिल्ला कमिटीद्वारा आज बिर्तामोडमा आयोजित शुभकामना आदान–प्रदान कार्यक्रममा प्रधानमनत्री ओलीले भने, ‘भनेजस्तो भएन भनेर ज्येष्ठ नागरिकलाई नरमाइलो लागिरहेको होला, आउँदो बजेटमा हामी भत्ता बढाइहाल्छौँ ।’

देशलाई सुशासन र समृद्धिको बाटोमा अघि बढाउने आफ्नो मुख्य संकल्प भएको उल्लेख गर्दै उनले जनताको अपेक्षा र विश्वासलाई तलमाथि पर्न नदिने बताए । उनले भने, ‘मैले कर्तव्य बुझेको छु, नाकमा कालो लाग्न दिन्नँ ।’

कार्यक्रममा अर्थमन्त्री डा. युवराज खतिवडा, प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राई, प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्कीलगायतको उपस्थिति थियो ।