‘जलविद्युत विकासका लागि बाह्य लगानी भित्र्याउन आतुर’ : मन्त्री पुन

‘जलविद्युत विकासका लागि बाह्य लगानी भित्र्याउन आतुर’ : मन्त्री पुन


ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले नेपालको जलविद्युत क्षेत्रमा बाह्य लगानी भित्र्याउन आतुर रहेको प्रष्ट पारेका छन् । मन्त्री पुनले नेपालको जलविद्युत क्षेत्रमा एकसाथ लगानी गर्न तयार रहेको भन्दै ढुक्क भएर लगानी गर्न चिनियाँ कम्पनीलाई यस्तो आग्रह गरेका हुन् ।

चीनको बेइजिङमा मंगलबार आयोजना गरिएको ‘नेपालको जलविद्युतमा लगानीको अवसर’ विषयक कार्यक्रममा आफ्नो भनाइ राख्दै मन्त्री पुनले बाह्य लगानीको सुरक्षा नेपाल सरकारले गर्ने आश्वसन दिदैं लगानीको लागि कुनै शंका नगर्न अनुरोध समेत गरेका छन् ।

ऊर्जा विकासमा सहकार्य गर्ने लक्ष्यले नेपाल र चीनबीच ऐतिहासिक समझदारी (एमओयू) भएको सन्दर्भ जोड्दै मन्त्री पुनले भने, ‘समझदारी नेपालको ऊर्जा विकासमा सहकार्य गर्ने उपयुक्त अवसर हो । नेपाल र चीनका प्राविधिक समितिको पहिलो बैठक काठमाडौंमा बसेको र यसले सहकार्यको वातावरणलाई निकै सहज बनाएको छ ।’ उनले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणले नेपालको उर्जा विकासको ढोका खोलेको प्रष्ट पारे । उनले यसका लागि सरकार बाहय लगानीको स्वागत गर्न आतुर रहेको पनि जानकारी दिए ।

कार्यक्रममा मन्त्री पुनले नेपालको जलविद्युत क्षेत्रमा लगानी गर्न कुनै किसिमको बाधा अड्चन नरहेको भन्दै आपसी समझदारीमा काम गर्न सकिने बताए । ‘नेपालमा चिनियाँ लगानीको ५० मेगावाट क्षमताको माथिल्लो मर्स्याङ्दी–ए तोकिएकै समयमा सम्पन्न भएको छ । यसले नेपालको जलविद्युत विकासमा सहयोग पु¥याएको छ ।’ उनले भने, ‘आगामी दिनमा पनि सहयोग गर्न तयार छौं ।’ उनले यसअघि भएको संयुक्त बैठकले नेपालको जलविद्युतमा लगानी गर्न चाहने चिनियाँ व्यवसायीका लागि उचित मोडल र दृष्टिकोण पहिचान गर्ने आधार समेत बनेको बताए ।

मन्त्री पुनले अनुमतिपत्र लिएर, प्रतिस्पर्धामा वा सरकारसँग सम्झौता जुनसुकै पद्दतिबाट पनि जलविद्युत आयोजना निर्माण गर्न सक्ने बताउँदै वैदेशिक लगानी भित्र्याउन नेपालले त्यही अनुकूलको वातावरण र नीति तयार गरेको पनि बताए । मुलुकभित्र जलविद्युत उत्पादनको प्रचुर सम्भावना छ ।’ उनले भने, ‘तर अहिलेसम्म हामीले एक हजार मेगावाटमात्र उत्पादन गरेका छौं ।’ आगामी ३ वर्षमा ३ हजार, ५ वर्षमा १० हजार र १० वर्षमा १५ हजार मेगावाट विद्युत उत्पादनको लक्ष्य ‘सरकारले लिएको छ ।’ उनले भने, ‘यो अवधीमा हामीले ५ हजार मेगावाट विद्युत निर्यात गर्ने योजना बनाएका छौं ।’

कार्यक्रममा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, सह–सचिव दिनेशकुमार घिमिरे, एनआरएनएका अध्यक्ष भवन भट्ट, निजी क्षेत्रका प्रवद्र्घक ज्ञानेन्द्रलाल प्रधान लगायतले नेपालमा ढुक्क भएर लगानी गर्न चिनियाँ कम्पनीलाई अनुरोध गरेका छन् । कार्यक्रममा चिनियाँ लगानीकर्ताले पनि नेपालको उर्जा नीति तथा लगानी सुरक्षाका बारेमा चासो देखाएका थिए ।