छिमेकीको हत्या गरी फरार अभियुक्त २९ वर्षपछि पक्राउ

छिमेकीको हत्या गरी फरार अभियुक्त २९ वर्षपछि पक्राउ


जग्गासम्बन्धी विवादमा छिमेकीको हत्या गरेर फरार भएका एक अभियुक्त २९ वर्षपछि पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा खोटाङको हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडाका ६० वर्षीय चन्द्रबहादुर कार्की रहेका छन् । जग्गा विवादका क्रममा ०४६ मा स्थानीय ढकबहादुर कार्कीको हत्या गरेर फरार कार्कीलाई सुनसरीको रामधुनी नगरपालिका–७ पञ्चायनबाट पक्राउ गरिएको हो ।

घटनापछि भारतमा बस्दै आएका चन्द्रबहादुर दशैँ मनाउन घर आएका बेला जिल्लाबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक राजकुमार केसीले बताए ।

पक्राउ परेका कार्कीलाई अदालत खुलेलगत्तै फैसला कार्यान्वयनका लागि पेस गर्नेगरी जिल्ला प्रहरी कार्यालयमा राखिएको छ । कर्तव्य ज्यान मुद्दामा ०५७ जेठ १७ गते जिल्ला अदालत खोटाङबाट २० वर्ष कैद सजाय हुने फैसला सुनाइएका कार्की भारतको नागाल्यान्ड, सिलोङ हुँदै मिजोरममा गाई फार्म चलाएर बस्दै आएका थिए ।

उक्त घटनामा चन्द्रबहादुरका साथै सोही ठाउँका केशव कार्की, नरबहादुर भुजेललगायत चारजनामाथि स्थानीय ढकबहादुरको हत्या गरेको अभियोगमा मुद्दा दर्ता भएको थियो ।

ढकबहादुरको हत्यामा संलग्न नरबहादुर र केशवले अदालतको फैसलाअनुसार कैद भुक्तान गरिसकेका छन् । पक्राउ परेर हिरासतमा रहेका चन्द्रबहादुर र अर्का एकजना अभियुक्त भने हालसम्म फरार थिए । फरार एक अभियुक्त अझै पक्राउ पर्न बाँकी रहेको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।