स्कुल जाँदै गर्दा अस्ट्रियामा नेपाली बालिका बेपत्ता

स्कुल जाँदै गर्दा अस्ट्रियामा नेपाली बालिका बेपत्ता


Sagar Subedi, Austria

यही अक्टोबर १ तारिकका दिन घरबाट स्कुल जान्छु भनेर हिँडेकी बालिका मन्जिता केसी आजका दिन बेपत्ता छन् । उक्त दिन दिउँसो बालिकाले पढ्ने स्कुलबाट शिक्षकले परिवारलाई फोन गरेर आज मन्जिता स्कुल किन नआएको भनेर सोधेपछि परिवारले बालिकाले बोक्ने मोबाइलमा सम्पर्क गर्दा सम्पर्क हुन सकेन । यसपछि परिवारले बालिका हराएको आशंकामा बेलुका मात्र प्रहरीलाई खबर गरेका थिए । बालिका हराएको विषयमा बालिकाकी आमासँग कुरा गर्दा सोच्नै नसकेको कुराले आफ्नो जीवनमा बज्रपात भएको र छोरी कहाँ छिन्, कस्तो अवस्थामा होलिन् भन्ने अनुमान नै गर्न नसकेको बताइन् ।

अस्ट्रियाको संघीय राज्य साल्सबुर्जमा आमाबुब र दिदीबहिनीहरुसँग बस्दै आएकी बालिका हराएयता आजका दिनसम्म उनको अवस्थाबारे न बालिकाका बाबुआमालाई अवगत छ न त अस्ट्रियाका सुरक्षा निकायलाई नै । यस विषयमा घटना र विचारले संघीय राज्य साल्सबुर्गकी प्रहरी प्रवक्ता भेरेना राइनरसँग टेलिफोनमा संपर्क गरी बालिकाको स्थितिको बारेमा जिज्ञासा राखेको थियो ।

प्रवक्ता राइनरको भनाइ थियो, ‘परिवारबाट हामीले बालिका हराएको विषयमा जानकारी पाएदेखि नै बालिकाको खोजीमा हाम्रो सम्पूर्ण प्रविधि प्रयोग गरी खोज्ने काम गरी नै राखेका छौँ र हामीले यहाँ मात्र नभएर युरो पोल तथा विशेष गरी जर्मन प्रहरीसँग पनि समन्वय गरी बालिकाको विभिन्न बायोमेट्रिक सुचनाहरु पनि पठाएका छौँ, आन्तरिक रुपमा हामीले अस्ट्रियाका हरेक प्रहरी कार्यालयमा उनको डिटेल्स पठाएका छौँ । हेर्नुपर्ने र खोज्नुपर्ने हरेक ठाउँको बारेमा अनुसन्धान गर्दैछौँ तर अन्तिम नतिजा अझै आइपुगेको छैन । हामी नतिजाको पर्खाइमा छौँ र आशा गरौँ हामीले मन्जितालाई सकुशल फेला पारी परिवारलाई जिम्मा लगाउने छौँ ।’

यसै विषयमा नेपाली राजदुतावास भियनामा बालिका हराएको विषय र राजदुतावासले गरेका कार्यका बारेमा यहाँका द्विीत्तिय सचिव बलिराम प्रसाद धामीसँग जिज्ञासा राख्दा धामी भन्छन्, ‘हामीलाई बालिकाको परिवारले घटना अवगत गाराउनुभएको थियो । लग्गत्तै हामीले उक्त घटनाको बारेमा यहाँको परराष्ट्र मन्त्रालयलाई कुटनीतिक प्रकृयाअनुरुप जानकारी गराएका छौँ र हामीले बीचबीचमा अपडेट पनि लिइ रहेका छौँ । तर बिडम्बना, आजका दिनसम्म पनि बालिकाको बारेमा कुनै जानकारी प्राप्त गर्न सकिएको छैन र अस्ट्रियन प्रहरीले पनि तदारुकता साथ खोजिरहेको तर कुनै तथ्यमा पुग्न नसकिएको भन्ने जानकारी आएको छ।’

बालिका हराएको विषयमा यहाँबाट प्रकाशित हुने विभिन्न अनलाइन पत्रिका, दैनिक पत्रपत्रिका, सार्वजनिक यातायातका टेलिभिजन सेट तथा भियनामा अवस्थित अन्डरग्राउण्ड स्टेसनका प्रोजेक्टरहरुमा पनि बालिकाको तस्बिर समेत जानकारी दिनको निम्ति सम्प्रेषण गरिएका छन् ।

Photo: LPD Salzburg
अस्ट्रियन संघीय प्रहरी