अमेरिकामा नेपाली भाषाको कक्षा ‘नाङसाल’ सञ्चालन

अमेरिकामा नेपाली भाषाको कक्षा ‘नाङसाल’ सञ्चालन


न्युयोर्क । तामाङ समाज अमेरिकाद्वारा संस्थाको कार्यालय न्यूयोर्कमा नेपाली बालबालिकाहरुको निम्ति नेपाली भाषाको कक्षा ‘नाङसाल’ संचालनमा ल्याइएको छ ।

अमेरिकामा जन्मिएका नेपाली समुदायका बालबालिकाले नेपाली भाषा बोल्न छाडेका कारण तामाङ समाज अमेरिकाले प्रवासमा रहेका नेपाली बालबालिकालाई नेपाली भाषा, रितिथिति, भेषभूषा, संस्कारसंस्कृति सिकाउने उद्देश्यका साथ नेपाली भाषाको कक्षा ‘नाङसाल’ संचालनमा ल्याएको हो ।

तामाङ समाज अमेरिकाले नेपाली समुदायको बालबालिकालाई नेपाली भाषा, रीतिथिति, संस्कार संस्कृति, भेषभुषा आदिको संरक्षण, सम्बर्द्धन र विकास गर्दै पछिल्लो पुस्तालाई सिकाएर हस्तारण गर्ने मुख्य लक्ष्यसहित ‘नाङसाल’ नेपाली भाषा कक्षा संचालनमा ल्याएको संस्थाको भनाई छ ।

हरेक आइतवार बिहान १० देखि १२ बजेसम्म दुई घण्टा कक्षा सञ्चालन गरिएको र छिट्टै तामाङ भाषा र अंग्रेजी भाषाको कक्षा संचालनको लागि गृहकार्य गरिरहेको पनि बताइको छ । विद्यार्थीहरूलाई संयोजन गर्ने र नेपाली भाषाको कक्षा संचालन गर्ने काम बालविभागका संयोजक रेणु वाइबा तामाङ र कोषाध्यक्ष फुरु लामा तामाङले गरेका छन् ।

नेपाली डायस्पोरामा एकता र आपसी सदभावको अभिवृद्धिका साथसाथै सवल, सभ्य र स्वास्थ्य समाजको परिकल्पनासहितको शिक्षाले संस्थाको लक्ष्य र उद्देश्यअनुरुपको काम गर्न थालेको तामाङ समाज अमेरिकाका अध्यक्ष सानुमाया तामाङले बताइएन् ।

तामाङ समाज अमेरिकाको कार्यलयमा नेपाली भाषाको कक्षा सञ्चालन भइरहेको हुँदा अमेरिकामा रहेका सबै अभिभावकहरूलाई आफ्नो बालबालिकालाई नेपाली भाषाको कक्षामा सहभागी गराईदिनु अनुरोध पनि गरिएको छ ।

यसैबीच तामाङ समाज अमेरिकाले आउँदै गरेको ‘२८५५ औं फा ल्हो’ सोनाम ल्होछार भब्यताका साथ मनाउने भएको छ । अध्यक्ष सानुमाया तामाङको अध्यक्षतामा तामाङ समाज अमेरिकाको कार्यालयमा बसेको कार्यसमितिको बैठकले आगामी २ फेब्रुवारी २०१९ शनिबार दिन Five Star Banquet 13-05 43rd Ave, Long Island City, NY मा ‘२८५५ औं फा ल्हो’ सोनाम ल्होछार भब्यताका साथ मनाउने निर्णय गरेको हो ।