परालले छोपेर कपडा तस्करी

परालले छोपेर कपडा तस्करी


सशस्त्र प्रहरी बल नेपाल, राजश्व भन्सार सुरक्षा नम्बर ३८ गुल्म रुपन्देहीले भन्सार छलेर नेपाल भित्र्याएको अवैध सामानसहित ढुवानीमा प्रयोग भएको ट्रकलाई समेत नियन्त्रणमा लिएको छ ।

पराल बोकेको ना२ख ६१७५ नम्बरको मालबाहक ट्रकमा भारतीय सीमानाका झुलेनीपुल क्षेत्रबाट चितवन लैजाँदै गर्दा उक्त सामान नियन्त्रणमा लिइएको नम्बर ३८ गुल्म रुपन्देहीका प्रमुख सशस्त्र प्रहरी नायब उपरीक्षक गोविन्दबहादुर खातीले बताएका छन् ।

भारतीय बजारबाट भन्सार छली अवैधरुपमा नेपालतर्फ ल्याउँदै गरेको १४४ पिस कुर्ता सुरुवाल, ९० पिस सारी, २९३ मिटर पर्दाको कपडा नवलपरासीको बर्दघाट नगरपालिका–४ त्रिवेणी चोकबाट ट्रकसहित नियन्त्रणमा लिएको हो ।

पछिल्लो समय नवलपरासी क्षेत्रबाट सुरक्षा निकायकै मिलोमतोमा तस्करी मौलाउँदै गरेको सूचना पाएपछि नम्बर ३८ गुल्मका प्रमुख सशस्त्र प्रहरी नायब उपरीक्षक खातीको नेतृत्वमा खटेको टोलीले ट्रकसहित अवैध कपडा नियन्त्रणमा लिएको हो ।

उक्त सामान ढुवानीमा प्रयोग गरेको ट्रकसहित भन्सार मूल्य १५ लाख ३४ हजार ३०० मूल्य बराबरको सामान तथा सवारीसाधन बरामद गरी बुधबार भैरहवा भन्सार कार्यालय बेलहिया रुपन्देहीमा बुझाइएको छ । भन्सार चोरी तस्करी नियन्त्रणका लागि विशेष अभियान चलाएको नम्बर ३८ गुल्म रुपन्देहीले पहिल्लो आर्थिक वर्ष २०७५÷०७६ को तीन महीना साउनदेखि असोजसम्म रु ९१ लाख ५८ हजार ८३६ मूल्य बराबरको अवैध सामान नियन्त्रण गरी भन्सार चलान गरेको जनाइएको छ ।