इथियोपियाको मन्त्रिपरिषदमा आधा महिला

इथियोपियाको मन्त्रिपरिषदमा आधा महिला


इथोयोपियाका प्रधानमन्त्री अबिय अहमदले मन्त्रिपरिषदको आकार साना बनाउने घोषणा गरेका छन् । तर, उनले मन्त्रिपरिषदका आधा सदस्य महिला राखेका छन् ।

बीस सदस्यीय मन्त्रिपरिषदका मुख्य मन्त्रालयहरूमा महिलालाई जिम्मेवारी दिइएको अबियका प्रमुख अधिकृत फिटसम आरिगाले बताए । उनले नयाँ सिर्जना गरिएको शान्ति मन्त्रालयको साथै संघीय प्रहरी र गुप्तचर निकायका मुख्य जिम्मेवारी महिलालाई दिएको जानकारी बताए ।

‘शान्ति, व्यापार तथा उद्योग र रक्षा मन्त्रालयसमेतका महत्वपूर्ण मन्त्रालयहरू महिलालाई दिइएको छ,’ आरिगाले बताए ।

राष्ट्रिय रक्षा मन्त्रालयमा आइसा मोहम्मदलाई जिम्मेवारी दिइएको छ र यो मन्त्रालयको जिम्मेवारी प्राप्त गर्ने उनी पहिलो महिला हुन् । संसदमा पूर्वसभामुख रहेकी मुफेरियात कामिललाई शान्ति मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

यसअघिको मन्त्रिपरिषदमा २८ जना मन्त्री थिए, जसमा पाँचजना मात्र महिला थिए ।

गत अप्रिलमा कार्यभार सम्हालेयता प्रधानमन्त्री अबियको यो पछिल्लो नाटकीय परिवर्तन हो । दुई वर्षदेखि सरकारविरुद्ध प्रदर्शन भएपछि पूर्वप्रधानमन्त्रीले राजीनामा गरेलगत्तै अबिय नयाँ प्रधानमन्त्री चुनिएका थिए ।

प्रधानमन्त्री अबियले छिमेकी मुलुक इरिट्रियासँगको दुई दशकदेखि जारी द्वन्द्वलाई समाप्त गरेका थिए । उनले विपक्षीहरूलाई कारागारमुक्त गर्नुका साथै विगतमा प्रतिबन्धित धेरै समूहलाई स्वदेश फर्काउने नीति पनि ल्याएका थिए । प्रधानमन्त्री अबियले राज्य नियन्त्रित प्रमुख उद्योग व्यवसायलाई निजीकरण गर्ने योजना सार्वजनिक गरेका छन् ।

बयालीस वर्षीय अबिय प्रधानमन्त्री भएपछि पनि गाउँघरमा जातीय संघर्षले तीव्रता पाएको छ । दक्षिणी इथियोपियामा जारी हिंसाका कारण दश लाख मानिस विस्थापित भइसकेका छन् ।
न्त्रिपरिषदमा आधा महिला