घरमा आगलागी हुँदा चार लाखको क्षति

घरमा आगलागी हुँदा चार लाखको क्षति


रुकुम (पश्चिम)को बाँफिकोट गाउँपालिका–१० फेरा झुलाको एक घरमा आगलागी भएको छ । स्थानीय शशिराम खत्रीको घरमा गएराति आगलागी हुँदा रु चार लाखबराबरको क्षति भएको छ ।

राति साढे १ बजेको समयमा आगलागी हुँदा अन्नपात, भाँडाकुँडा, लत्ताकपडा र नगद एक लाख गरी चार लाख रुपैयाँबराबरको क्षति भएको वडा सदस्य रामबहादुर जैसीले जानकारी दिए ।

आगलागीपीडित खत्रीका श्रीमान–श्रीमतीले भारतबाट कमाएर ल्याएको नगद जलेको बताइएको छ । खत्रीदम्पती दशैँ मनाउनका लागि केही दिनअघि मात्र नेपाल आएका थिए । खरले छाएको घरमा कसरी आगलागी भयो भन्नेबारेमा खुल्न नसकेको वडा सदस्य जैसीको भनाइ छ ।

खत्रीको परिवार घरमै सुतिरहेको अवस्थामा आगलागी भएको थियो । आगलागी भएको थाहा पाएपछि भागेर खत्री परिवार बाँच्न सफल भए पनि घरमा रहेका सम्पूर्ण सामान जलेर नष्ट भएका छन् । आगो स्थानीयवासीको सहयोगमा निभाइएको थियो ।

अहिले खत्रीको परिवार आफ्ना आमाबुबाको घरमा बसिरहेको स्थानीय प्रेमकुमार विश्वकर्माले जानकारी दिए ।