गोरखा दरबारको दशैँघरमा फूलपाती भित्र्याइयो

गोरखा दरबारको दशैँघरमा फूलपाती भित्र्याइयो


गोरखा दरबारको दशैँघरमा आज फूलपाती भित्र्याइएको छ । अपराह्न ४ बजे गोरखा दरबारदेखि निस्किएको लावालस्करले ४ बजेर ४४ मिनेटमा फूलपाती चौताराबाट लगेको फूलपाती परम्परानुसार गोरखा दरबारमा भित्र्याएकोे हो ।

गए राति गोरखाकै जङ्गलबाट ल्याइएको दारिम, बेलको पात, उखुको बोट, केराको पात, अदुवाको बोट र मौसमी फूललाई दरबार भित्र्याइएको गोरखा दरबार हेरचाह अड्डाका सूचना अधिकारी रामेश्वर कट्टेलले जानकारी दिए ।

गोरखा दरबारका सुसारेले जङ्गलबाट जम्मा गरेर ल्याएको फूलपाती लिन दशैँघरदेखि हर्ष बढाइँका साथ दरबार हेरचाह अड्डाका कर्मचारी, नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायतको लावालस्कर सतिपिपल डाँडामा पुगेको थियो ।

आजै सोही स्थानबाट बिहानको शुभसाइतमा राजधानीको हनुमानढोकामा समेत फूलपाती पठाइएको थियो । फूलपाती भित्र्याउनुपूर्व गोरखा दरबारदेखि मङ्गलिनीहरूले मङ्गल गीत र मालश्री राग गाउँदै बन्दूकेहरु र भार बोक्ने भारवाहक फूलपाती पर्सने सिँढीसम्म आइपुगेका थिए । गोरखा दरबारको सिँढीमा विशेष पूजा गरेर गोरखा दरबारमा फूलपाती भित्र्याउने प्रचलन रहँदै आएको हेरचाह अड्डाका सूचना अधिकारी कट्टलेले बताए ।

हरेक वर्ष भने दरबारबाट पश्चिम क्षेत्रमा देखिने डाँडामा आधा घाम तल र आधा घाम माथि देखिने समयमा दरबारको दशैँघरमा फूलपाती भित्र्याउने प्रचलन रहँदै आएको छ ।

तस्बिर रासस