सबै परिवर्तनहरू उपलब्धि होइनन् : पूर्व श्री ५ ज्ञानेन्द्र

सबै परिवर्तनहरू उपलब्धि होइनन् : पूर्व श्री ५ ज्ञानेन्द्र


पूर्व श्री ५ महाराजाधिराध ज्ञानेन्द्रले देश बनाइने सपना देखेका हामी नेपाली देश कसरी बचाउने भन्ने चिन्ताजनक अवस्थामा आइपुगेका छौँ भन्दै चिन्ता व्यक्त गर्नुभएको छ । करिव पाँच सातादेखि स्वदेशवाहिर रहनुभएका पूर्व श्री ५ ले आज स्वदेश फर्किएलगत्तै विजयादशमीको उपलक्ष्यमा शुभकामना सन्देश दिँदै राजनीतिक परिवर्तनको नाममा समेटिएका असामयिक तथा असान्दर्भिक कार्यसूचीहरूका कारण मुलुक चिन्ताजनक अवस्थामा आइपुगेको हरेक नेपालीले महसुस गर्नुपरेको सङ्केत गर्नुभएको हो ।

यतिबेला नेपालीबीचको सामाजिक सदभाव मेटिँदै जानुका साथै तराई, पहाड र हिमालमाझको एक्यभाव तोड्ने भगिरथ प्रयत्नसमेत भइरहेकोले समीक्षा र आत्ममूल्याङ्कनको घडी आएको पूर्व श्री ५ ले आफ्नो सन्देशमा प्रकट गर्नुभएको छ ।

यस्तो छ पूर्व श्री ५ को शुभकामना सन्देशको पूर्णपाठ-

प्यारा नेपाली दिदीबहिनी तथा दाजुभाइ,

विजयादशमीको पावन अवसरमा हामी देशभित्र र देशबाहिर रहे–बसेका सम्पूर्ण नेपालीहरूमा शान्ति, सुख र समृद्धिको लागि शुभकामना व्यक्त गर्दछौँ ।

नेपाल राष्ट्र भन्नु नै यज्ञीय, मन्त्रीय, तन्त्रीय, वैदिक, अनुष्ठान, साधना र परम्पराले व्यष्टित रहेको छ । कोट, मौलो, खडग, छत्र, शिला, कलश, शक्तिपीठका प्रतीकका रूपमा रही नेपाली समाजमा देवी महात्म्यम् आराध्य छिन् । तर, पछिल्लो समय हाम्रा मौलिक धर्म, संस्कृति र चाडपर्वहरू सङ्कटमा पर्दै जानु सबै नेपालीका लागि विषद् बनेको छ ।

देश शान्त, सुखी र समृद्ध बन्ने आशामा हामीले गरेको सहमति अविभाज्य मुलुक र सदभावपूर्ण राष्ट्रिय एकताका निम्ति थियो भन्ने तथ्य पुनः स्मरण गराउँदछु । देशमा शान्ति सुव्यवस्था बन्ने, एउटा नेपाली अर्को नेपालीबाट मर्नु–मारिनु नपर्ने, आपराधिक क्रियाकलापमा न्युनीकरण हुने, कोपिला बालबालिकाहरू समेत सुरक्षित र संरक्षित रहन नसक्ने, विभिन्न आकार–प्रकारका सरकारहरूबाट जनतामाथि आर्थिक भार कम हुने, जनताको जीवन सुखमय बन्ने, राष्ट्रिय एकता र सार्वभौमिकता थप मजवुत हुने तथा असहिष्णु व्यवहार निरुत्साहित हुँदै जाने विश्वास हामीले लिएका थियौँ ।

देश बनाइने सपना देखेका हामी नेपाली राजनीतिक परिवर्तनको नाममा समेटिएका असामयिक तथा असान्दर्भिक कार्यसूचीहरूका कारण देश कसरी बचाउने भन्ने चिन्ताजनक अवस्थामा आइपुगेका छौँ । हरेक उपलब्धिहरू परिवर्तन हुन् तर हरेक परिवर्तनहरू उपलब्धिमूलक बन्न सक्दारहेनछन् भन्ने पुष्टि विद्यमान अवस्थाले देखाइरहेको छ । आज नेपालीबीचको सामाजिक सदभाव मेटिँदैछ भने तराई, पहाड र हिमालमाझको एक्यभाव तोड्ने भगिरथ प्रयत्न समेत भइरहेको छ । अब समीक्षा र आत्ममूल्याङ्कनको घडी आएको छ । आफैंलाई साक्षी राखेर देशवासीका पक्षमा केही गर्ने प्रण गरौँ ।

श्री नवदुर्गा भवानीले सबै नेपालीमा सत्प्रेरणा प्रदान गरुन्, नेपालीबीचको आपसी प्रेम, सदभाव र सम्मानको पुनर्जागरण होस्, यही मेरो कामना छ ।
जय नेपाल