‘साइँली र माइली पोइल गएछन्…’

‘साइँली र माइली पोइल गएछन्…’



राजन घिमिरे, अष्ट्रेलिया

प्रवासी जीवनको ब्यस्तताका बाबजुद राज के गोश्वामीले गीत संगीत क्षेत्रलाई निरन्तरता दिइरहेका छन् । लामो समयदेखि अष्ट्रेलियाको सिड्नीमा बस्दै आएका उनी यहाँ आफू मात्र चम्केका छैनन् कि उनले विभिन्न कार्यक्रमहरूको आयोजना गरेर नेपाली गीत संगीत र चलचित्रको बजारलाई पनि बिस्तार गरिरहेका छन् । विशुद्द रूपमा आफ्नो प्यासनलाई निरन्तरता दिन लागिपरेका गोस्वामी फेरि एकपटक आइपुगेका छन्, साइँली र माइली पोइल गएछन् लिएर ।

‘सार्इंली र माइली पोइला गएछन्, गाउँघर नै सुन्य पारेर…।’ कुनै बेलाको यो अत्यन्त लोकप्रिय गीत आज पनि उत्तिकै कर्णप्रिय र चर्चामा छ । मुकुन्दकिशोर भट्टराईको शब्द तथा सङ्गीतको उक्त गीत त्यो बेला उदितनारायण झा तथा मधु क्षेत्रीले गाएका थिए । अहिले यो गीतको नयाँ संस्करण गायक राज के गोस्वामीको स्वरमा म्युजिक भिडियोमार्फत दर्शकमाझ आएको छ ।

गायक गोस्वामीले गीतकार तथा सङ्गीतकार भट्टराईसँग अनुमति लिएर यो पुरानो लोकप्रिय गीतलाई पुनः गाएका हुन् । गायक गोस्वामीको स्वरको उक्त गीतको म्युजिक भिडियो गत विहीबार सार्वजनिक भएको छ । किरण तुलाधरले यो गीतमा सङ्गीत संयोजन गरेका छन् ।निर्देशक शान थापाले म्युजिक भिडियोलाई अत्यन्त रोचक बनाउने प्रयास गरेका छन् ।

लोकप्रिय अभिनेता सन्दीप क्षेत्रीलाई मुख्य पात्रको रूपमा प्रस्तुति गरिएको उक्त गीतको म्युजिक भिडियोमा अभिनेत्री एलिशा राई तथा मोडल करिष्मा ढकालले सार्इंली र माइलीको भूमिका निर्वाह गरेका छन् । हास्य रससमेत मिश्रण गरिएको भिडियोमा आफ्नी सार्इंली र माइली श्रीमतीले छाडेर गएपछि सडकमा आएका श्रीमानको कथालाई रमाइलो शैलीमा चित्रण गरिएको छ ।

अभिनेता क्षेत्रीले पोइल गएका दुई श्रीमतीको श्रीमानको भूमिकालाई रोमाञ्चक ढङ्गले निर्वाह गरेका छन् । भिडियोमा राजीव समरले कोरियोग्राफी गरेका छन् ।अर्जुन तिवारी तथा बुद्ध थापाको समूहले छायाङ्कन गरेको म्युजिक भिडियोलाई सुप्रिय पराजुलीले सम्पादन गरेका हुन् ।