भान्सेको तलब खाने मन्त्री ?!

भान्सेको तलब खाने मन्त्री ?!


प्रदेश सरकारका एक राज्यमन्त्रीले शहीद परिवारका सदस्यमाथि चरम शोषण गरेको जानकारी प्राप्त भएको छ । प्राप्त जानकारीअनुसार प्रदेश २ का सामाजिक विकास राज्यमन्त्री अविराम शर्मा त्यस्ता व्यक्ति हुन् जसले शहीद परिवारका एक सदस्यलाई ‘जागिर’ दिएर एउटैको पारिश्रमिकमा दुईजनाबाट सेवा लिइरहेका छन् ।

मधेश आन्दोलनका क्रममा शहीद भएका जलेश्वर बखडीका अमित कापरका दाजु सुजित कापरलाई राज्यमन्त्री शर्माले सरकारी कोटामा भान्से नियुक्त गरेका थिए । मासिक रु. १८,०००।– पारिश्रमिक पाउने गरी सुजितलाई उनले पूरै तलब दिएनन् । पूरै तलब पाउन अर्का दाजुले पनि मकहाँ काम गर्नुपर्छ भन्ने सर्त राखेपछि शहीदका अर्का दाजु मञ्जित कापरलाई पनि घरायसी काममा लगाउन शहीद परिवार बाध्य भयो ।

एकजनाको तलबमा दुईजनाबाट सेवा लिने राज्यमन्त्री अविरामले सुजितको नाममा आएको दशैँभत्ता पनि निजलाई उपलब्ध गराएनन् । दशैँभत्ता अविरामका स्वकीय सचिव सुरेश ठाकुरले लिएको तर सो रकम उनले राज्यमन्त्रीलाई दिएको या ठाकुर आफैँले हजम गरेको स्पष्ट हुन सकेको छैन । सुजित र मञ्जितले दशैँमा पनि नौ–नौ हजार रुपैयाँ मात्र पारिश्रमिकबापत प्राप्त गरेका छन् ।

राजपाको टिकटमा महोत्तरीको क्षेत्र नम्बर ३ (क) बाट प्रदेश सभा सदस्यमा विजयी अविराम शर्मा असइ थम विक हत्याकाण्डका फरार अभियुक्त हुन् । तर, राज्य यतिबेला उनलाई पक्राउ गरेर कारबाही गर्नभन्दा पनि सुरक्षा दिन बाध्य भएको छ ।