दुर्घटना रोक्न १२ स्थानमा ट्राफिक जाँच

दुर्घटना रोक्न १२ स्थानमा ट्राफिक जाँच


दशैँको समयमा ट्राफिक नियम उल्लङ्घन गरेका सवारीसाधनलाई कारवाही गर्न बैतडी प्रहरीले जिल्लाको १२ बढी स्थानमा जाँचस्थल स्थापना गरेको छ ।

चाडपर्वका बेला हुने यात्रुलाई हुने समस्या समाधानका लागि एक दर्जन बढी जाँचस्थल स्थापना गरेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

चाडपर्वको अवसरमा धेरै यात्रु राखेर ओहोरदोहोर गराउने र तीव्रगतिमा चलाउने प्रवृत्तिले दुर्घटना भएको भन्दै नियन्त्रणका लागि सवारी जाँच तथा कारवाहीको लागि मुख्यमुख्य सडकखण्डमा ट्राफिक जाँचस्थल राखिएको प्रहरीको भनाई छ ।

जिल्ला सदरमुकाम गोठलापानी, शाहीलेक, सीमानाका झुलाघाट, महाकाली राजमार्ग, दशरथचन्द राजमार्ग जयपृथ्वीराजमार्ग, पाटन–पञ्चेश्वर सडकखण्डलगायतका स्थानमा सवारी जाँच तथा ट्राफिक नियम पालन गराउने कार्यसम्बन्धी जानकारी प्रहरीले दिइरहेको छ । जाँचस्थलमा बसेका प्रहरीले सवारीसाधनमा क्षमताभन्दा बढी यात्रु नराख्न र नचढ्न आग्रह गरेका छन् ।

छतमा बस्न नदिने, तोकिएको शुल्कभन्दा बढी भाडा लिएमा फिर्ता गराउने, पशु चौपायालाई छत र डिकीमा राखेर ओहोरदोहोर गराउन रोक लगाएको छ । प्रहरीले यसअघिनै दशैँतिहारलाई लक्षित गर्दै विशेष सुरक्षा योजनासमेत लागू गरिसकेको छ । नेपाल–भारत सीमानाका झुलाघाटमा पनि चेकजाँचमा पनि कडाइ गरेको छ । यात्रुको सजिलोको लागि सदरमुकाम गोठलापानी र खोडपे बजारमा सहायता कक्षसमेत स्थापना गरिएको छ ।