‘दशैँ रन फर गुड हेल्थ’ का ५१ जना विजयी

‘दशैँ रन फर गुड हेल्थ’ का ५१ जना विजयी


उज्ज्वल तारा स्कुल काँडाघारीले बडादशैँको अवसरमा शनिबार दोस्रोपटक ‘दशैँ रन फर गुड हेल्थ’ आयोजना गरेको छ । प्रतियोगिताको विभिन्न १७ वटा विधामा गरी ५१ जनाले पदक जितेका छन् ।

कागेश्वरी मनोहरा नगरपालिका, मेगा बैंक लि., हाम्रो मेलमिलाप सहकारी संस्था तथा फिटनेस च्वाइसको सहयोगमा आयोजित सो दौड प्रतियोगितामा १५ वर्षमाथिका विद्यार्थी, युवायुवती, अभिभावक, सुरक्षाकर्मीदेखि ४० वर्षमाथिका महिला र पुरुषसमेत गरी ६५० जनाले भाग लिएका थिए ।

१७ वटा विधामध्ये १५ देखि २० वर्ष उमेर समूहको पुरुषतर्फ प्रवीण बोहोरा, सागर श्रेष्ठ, सुमन न्यौपाने तथा ३ किलोमिटर महिलातर्फ श्रयस्का शिल्पकार, रेस्टिना सितिखु र प्रकृति सुवाल क्रमशः पहिला, दोस्रा र तेस्रा भएका थिए । दौडको साथै महिलाका र पुरुषहरूका लागि ५ किलोमिटर हिँड्ने प्रतियोगितासमेत समावेश गरिएको थियो ।

प्रतियोेगिताका विजयीलाई मेगा बैंक लिमिटेडका अध्यक्ष भोजबहादुर शाह, कागेश्वरी मनोहरा नगरपालिकाका उपप्रमुख बिन्दु पुडासैनी सिंखडा, ८ नम्बरका अध्यक्ष श्रीकृष्ण चापागाईं, ९ नम्बरका अध्यक्ष कुन्दन खड्का, विद्यालयकी सल्लाहकार शुष्मा पोखरेल, फिटनेस च्वाइसका अध्यक्ष उत्तम सिलवाल, कार्यक्रम संयोजक कर्णेल विष्णुबहादुर कार्की, विद्यालयका अध्यक्ष गायत्री कार्की, प्रिन्सिपल सम्झना पोखरेल शाह, हाम्रो मेलमिलाप सहकारी संस्थाका अध्यक्ष रामेश्वर दाहाल, नेपालको पहिलो व्यावसायिक गल्फ खेलाडी घनश्याम थापा तथा समाजसेवी सुनील कटुवाललगायतले ट्रफी, पदक र प्रमाणपत्र वितरण गरे ।

स्वास्थ्यबारे सचेतना, मनोरञ्जन तथा बडादशैँको शुभकामना आदानप्रदान गर्ने उद्देश्यसहित विद्यालय प्रांगणबाट शुरु भएकोे सो दौड प्रतियोेगिताको वरिष्ठ मुटुरोग विशेषज्ञ डा. भगवान कोइरालाले उद्घाटन गरेका थिए ।