बाह्र वर्षपछि साथी सम्झिएर भावुक बने कुलपति

बाह्र वर्षपछि साथी सम्झिएर भावुक बने कुलपति


राजधानीमा आयोजित एक कार्यक्रममा नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेती एकाएक भावुक बने । उनका आँखा रसाए । अनि गला अबरुद्ध पार्दै उनले आफ्ना समकालीन साहित्यकार साथी स्व. जनकप्रसाद हुमागाईंलाई सम्झिए, ‘जनकजी, सरल जीवनशैली भएका मिलनसार तर विचारमा प्रतिबद्ध लेखक हुनुहुन्थ्यो । आज उहाँसँग सहयात्रा गरेका क्षणहरूको सम्झनाले मलाई भावुक बनाएको छ । आँखा अगाडि उहाँको तस्बिर देख्दा मैले मन थाम्नै सकिनँ ।’

जनवादी साहित्यकार जनकप्रसाद हुमागाईंको स्मृतिमा सम्मानस्वरुप सांस्कृतिक संस्थानसँगको सहकार्यमा जनकप्रसाद हुमागाईं स्मृति कोषद्वारा उनको ८२ औँ जन्मजयन्तीका अवसरमा आयोजित ‘साङ्गीतिक कार्यक्रम’मा कुलपति उप्रेतीले जनताका असल साहित्यकार हुँमागाईंलाई असमयमै गुमाउनु पर्दा गहिरो दुःख लागिरहेको बताए । उनले भने, ‘तर, जनकजीको निधन भएको झन्डै बाह्र वर्षपछि यस्तो सुन्दर कार्यक्रम गरेर उहाँका अमर सिर्जना र योगदानको कदर गरेकामा मलाई असाध्यै खुसी लागेको छ । यस्तो कार्यले निरन्तरता पाउनु पाओस् ।’

कार्यक्रमका परिकल्पनाकार प्राज्ञ माधव प्रधानले हुमागाईंका सिर्जना र उहाँका योगदानहरूको स्मरण, संरक्षण र सम्बद्र्धन गर्ने उद्देश्यले यसप्रकारको कार्यक्रम आयोजना गरिएको बताए । डा. हेमनाथ पौडेल, प्राज्ञ सुष्मा राजभण्डारी र सांस्कृतिक संस्थानका महाप्रवन्धक राजेश थापाले हुमागाईंको साहित्यिक, सामाजिक एवम् सांस्कृतिक योगदानबारे चर्चा गरे । यसैगरी हुँमागाईंसँग सँगै काम गरेका लेखक भक्तबहादुर पण्डित नेपालीले हुमागाईंसँगको स्मृतिलाई ताजा बनाए । कोषका अध्यक्ष तथा हुमागाईंका छोरा पवन हुमागाईंले पिताको स्मृतिमा कोष बनाएर छात्रवृत्ति वितरण गर्नेजस्ता कार्यहरू गरिरहेको बताए ।

कार्यक्रममा जनगायक जेबी टुहुरे, रामकृष्ण दुवाल, आकाश थापा, साजन राई, कुष्मिता दर्लामी, आकाश थापा, लक्ष्मी गुरुङ र दीपक खतिवडाले हुँमागाईंद्वारा रचित सात गीत प्रस्तुत गरेका थिए । काभ्रेको बल्थलीमा जन्मिएका हुमागाईंको बाह्र वर्षअघि क्यान्सरबाट निधन भएको थियो । त्यसयता उनको स्मृतिमा कुनै गतिविधि भएका थिएनन् ।

कार्यक्रममा प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव प्रा. जगतप्रसाद उपाध्याय, प्राज्ञ मातृका पोखरेल, प्राज्ञ उदय श्रेष्ठ, वरिष्ठ गीतकार श्याम तमोट, कवि वासुदेव अधिकारी, प्रेमनाथ अधिकारी, कथाकार माया ठकुरीलगायतको उपस्थिति रहेको थियो ।