सिड्नीमा इन्टु मिन्टु लन्डनमाको भब्य प्रीमियर

सिड्नीमा इन्टु मिन्टु लन्डनमाको भब्य प्रीमियर


राजन घिमिरे, अष्ट्रेलिया

अन्ततः नेपालजस्तै चलचित्र ‘इन्टु मिन्टु लन्डनमा’ले प्रवासमा पनि आफ्नो क्रेजलाई देखाइकन छाड्यो । अष्ट्रेलियाबाट आफ्नो अन्तर्राष्ट्रिय प्रदर्शन शुरू गरेको यो चलचित्रले विशेष गरेर सिड्नीमा अपार दर्शकहरू पायो ।

सिड्नीको पारामाटामा रहेको इभेन्ट सिनेमामा चलचित्रसँगै यसका नायक धिरज मगर र नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहलाई भेट्न पाउने कारणले पनि चलचित्र हेर्न दर्शकहरू ओइरिएका थिए । ‘हामीले यहाँ एउटा मात्र हल लिएका थियौं तर दर्शकहरूको चाप बढेकाले एउटै हलमा एकै समयमा दुई शो गर्नु पर्यो । चलचित्रका लागि यो सफलता हो’, चलचित्र ‘इन्टु मिन्टु लन्डनमा’लाई अष्ट्रेलिया भित्र्याएको एजुकेशन एण्ड माइग्रेसन कर्नरका प्रमुख सुनिल उप्रेतीले जानकारी दिए ।

यो भन्दा अगाडि अष्ट्रेलियाको एडिलेटमा चलचित्रको प्रदर्शन सफलताका साथ सम्पन्न भैसकेको छ भने अब मेलबर्न, तासमानिया र क्यानबेरामा शो हुँदै छ । यतिबेला युवा पुस्तामाझ राम्रो सफलता हात पारेको यो चलचित्रको विषय बस्तु र कलाकारहरूको कामको सिड्नीमा रहेका दर्शकहरूले खुलेर प्रशंसा गरेका छन् ।

‘अष्ट्रेलियामा रहेका दर्शकहरूको माया र साथले साँँच्चिकै मन प्रफुल्ल भएको छु, धिरज र साम्राज्ञीले भने ।

सिड्नीमा एउटै हलमा तीन सय भन्दा बढी दर्शकहरूले उक्त चलचित्र हेरेका थिए । चलचित्रसँगै कलाकारहरूको क्रेजले पनि चलचित्र इन्टु मिन्टु लन्डनमालाई थप उचाईमा पुर्याएको कुरा सिनेप्रेमीहरू बताउँछन् । ‘अष्ट्रेलियामा रहेका दर्शकहरूलाई राम्रो चलचित्र पस्कन पाएकोमा हामी खुशी छौँ, आगामी दिनहरूमा पनि यस्तै राम्रा चलचित्रहरू प्रदर्शन गर्ने बाच गर्दछौँ,’ सुनिल उप्रेतीले भने ।