भारतको उडिसामा चक्रवातमा परी २१ को मृत्यु

भारतको उडिसामा चक्रवातमा परी २१ को मृत्यु


भारतको उडिसा राज्यमा आएको चक्रवात (आँधी) मा परी २१ जनाको मृत्यु भएको छ । अत्यधिक वर्षा र त्यसपछिको बाढीसँगै आएको चक्रवातमा परी उनीहरूको मृत्यु भएको त्यहाँका सरकारी अधिकारीहरूले शनिबार जनाएका छन् ।

उडिसा राज्यको गाजापाटी, नायागार्ह, कान्धामाल, कुत्ताक, केन्झार र अङगुल जिल्ला चक्रवातबाट प्रभावित भएको छ । गत बिहीबारदेखि शुरु भएको यस प्रकोपमा परी शनिबारसम्ममा २१ व्यक्तिको मृत्यु भएको छ ।

चक्रवातको कारण उडिसा राज्यका धेरै ठाउँमा नराम्ररी प्रभाव पारेको र त्यसमा पनि गाजापाटीमा सबैभन्दा धेरै प्रभावित भएको बताइएको छ । गाजापाटीमा १५ जनाको मृत्यु भएको एक सरकारी अधिकारीले जानकारी दिएका छन् ।

गाजापाटी जिल्लाको बाराघारा गाउँमा रहेको एउटा शिविरमा बसेका २२ जनामध्ये १५ जनाको मृत्यु भएको बताइएको छ । शिविरमै रहेकामध्ये अरू चारजना हराइरहेका छन् ।

त्यसैगरी नायागार्हमा दुईजनाको र कान्धामाल, कुत्ताक, केन्झार र अङगुल जिल्लामा एक–एकजनाको मृत्यु भएको समाचारमा जनाइएको छ ।

उडिसासँगै छिमेकी राज्य आन्ध्र प्रदेशमा पनि चक्रवातले असर गरेको अधिकारीहरूले जानकारी दिएका छन् ।